श्रीमती हत्या आरोपमा लेखापाल पक्राउ प्रकरणः चारै प्रतिवादीलाई थुनामा पठाउने उच्च अदालतको आदेश

काठमाडौँ– दाङको तुलसीपुर उपमहानगरपालिका–१९ दोघर्रेकी २८ वर्षीया कमला खड्का वली हत्या प्रकरणमा उच्च अदालत तुलसीपुरले जिल्ला अदालत दाङको आदेश उल्ट्याउँदै चारै जना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारी र न्यायाधीश नरबहादुर खड्काको संयुक्त इजलासले बिहीबार आदेश जारी गर्दै यसअघि धरौटीमा छुटेका कर्णबहादुर वली, टीका केसी र पुतला वली समेतलाई थुनामा राख्न निर्देशन दिएको हो। यसअघि जिल्ला अदालत दाङले मृतकका श्रीमान् गोपाल वलीलाई मात्र थुनामा पठाउने तथा अन्य तीन जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

जिल्ला अदालतको आदेशविरुद्ध पीडित पक्षले पुनरावेदन गरेपछि उच्च अदालतले उपलब्ध प्रमाण, घटनास्थलको अवस्था, प्रत्यक्षदर्शीका बयान तथा अनुसन्धान प्रतिवेदनको विश्लेषण गर्दै जिल्ला अदालतको आदेशलाई ‘बेरितको’ ठहर गरेको छ। अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम चारै जनालाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो।

अदालतको आदेशमा शव परीक्षण प्रतिवेदनलाई महत्वपूर्ण आधार बनाइएको छ। प्रतिवेदनअनुसार कमला वलीको मृत्यु टाउकोमा लागेको गम्भीर चोटका कारण भएको देखिएको छ। घटनास्थल मुचुल्कामा चारपाटे दाउराका चार टुक्रा फेला परेको तथा मृतकको शरीरका विभिन्न भागमा गम्भीर चोटपटक देखिएको तथ्य पनि अदालतले उल्लेख गरेको छ।

मुद्दामा मृतकका नाबालक छोरा–छोरी र अन्य प्रत्यक्षदर्शीका बयानलाई समेत अदालतले महत्व दिएको छ। ती बयानहरूले घटनाको प्रकृति र प्रतिवादीहरूको सम्भावित संलग्नताबारे थप प्रश्न उठाएको आदेशमा उल्लेख छ।

मृतक पक्षका तर्फबाट अधिवक्ताहरू मोहनप्रसाद धिताल, प्रदीपकुमार गौतम र विजय पोखरेलले बहस गरेका थिए भने प्रतिवादीका तर्फबाट सहन्यायाधिवक्ता महेशप्रसाद खत्री र अधिवक्ता कुमारराज श्रेष्ठले बहस गरेका थिए।

उच्च अदालतको आदेशसँगै अब चारै प्रतिवादीले थुनामै बसेर मुद्दाको अन्तिम किनारा कुर्नुपर्ने भएको छ।

कमला वलीको हत्या गत चैत ११ गते साँझ तुलसीपुर–१९ स्थित आफ्नै घरमा भएको थियो। घटनापछि उनका श्रीमान् गोपाल वली पक्राउ परेका थिए। गोपाल वली नेपाल सरकारअन्तर्गत डिभिजन वन कार्यालय वीरगन्जमा लेखा अधिकृतका रूपमा कार्यरत थिए।

प्रहरी अनुसन्धानअनुसार घरभित्र भएको विवादका क्रममा गोपाल वलीले दाउरा र रड प्रहार गरी कमलामाथि आक्रमण गरेका थिए। गम्भीर घाइते भएकी कमलालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल पु¥याइएको भए पनि उपचारकै क्रममा मृत्यु भएको थियो।

घटनापछि गोपाल वलीले आवेगमा आएर आक्रमण गरेको प्रारम्भिक बयान दिएका थिए। तर मृतक पक्षले घटनामा परिवारका अन्य सदस्यहरूको समेत संलग्नता रहेको दाबी गर्दै निष्पक्ष अनुसन्धानको माग गरेका थिए।

प्रहरी अनुसन्धानका क्रममा दम्पतीबीच लामो समयदेखि पारिवारिक विवाद, आपसी अविश्वास तथा घरेलु हिंसासम्बन्धी समस्या रहेको खुलेको थियो। मृतकका आफन्तका अनुसार कमलाले यसअघि श्रीमानको व्यवहारविरुद्ध अदालतमा ‘माना चामल’ सम्बन्धी मुद्दासमेत दायर गरेकी थिइन्, जुन विचाराधीन अवस्थामा रहेको बताइएको छ।

उच्च अदालतको पछिल्लो आदेशले अब हत्या प्रकरणमा परिवारका अन्य सदस्यको भूमिकासमेत न्यायिक परीक्षणको दायरामा आउने भएको छ। यससँगै दाङमा चर्चित बनेको यो हत्या प्रकरणको सुनुवाइ अब चारै प्रतिवादीलाई थुनामै राखेर अगाडि बढ्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट