कन्फेसन पेजले खोल्यो सुकुनाको ‘डार्क फाइल: कक्षाकोठा, बस र इनबक्समा गुम्सिएको यौन आतंक यसरी आयो वाहिर
इटहरी– वर्षौँसम्म कक्षाकोठाभित्र, विद्यालय बसमा, सामाजिक सञ्जालका इनबक्समा र प्रशासनिक मौनताको आडमा गुम्सिएका आरोपहरू अन्ततः फेसबुकको एउटा ‘कन्फेसन पेज’बाट विस्फोट भए।
मोरङको सुन्दरहरैँचा–१० स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत तथा पूर्वविद्यार्थीहरूले चलाएको डिजिटल अभियानले यस्तो तरङ्ग सिर्जना ग¥यो, जसले विद्यालय प्रशासन, स्थानीय समाज र प्रहरी संयन्त्रलाई एकैपटक कठघरामा उभ्यायो। परिणामस्वरूप तीन जना पक्राउ परे, केही शिक्षक तथा कर्मचारी निलम्बित भए, र वर्षौँदेखि दबाइएका भनिएका यौन दुव्र्यवहारका घटनाहरू सार्वजनिक बहसको केन्द्रमा पुगे।
घटनाको केन्द्रमा छ ‘S/K/N Confession & Meme’ नामको फेसबुक पेज। सन् २०२१ देखि सञ्चालनमा रहेको यो पेजले सुरुमा विद्यार्थीका अनुभव, कन्फेसन र मिमहरू सार्वजनिक गथ्र्यो। तर १९ जुलाईदेखि पेजले ‘हिडन भोइस’ नामक विशेष अभियान सुरु गरेपछि परिस्थिति नाटकीय रूपमा बदलियो।
पेज सञ्चालकहरूले आफूहरूसँग विद्यालयका छात्रामाथि यौनजन्य दुर्व्यवहार, मानसिक उत्पीडन र अनुचित व्यवहारसम्बन्धी सूचना तथा प्रमाणहरू आइरहेको भन्दै थप पीडितहरूलाई आफ्नो अनुभव र प्रमाण पठाउन आह्वान गरे। साथै पीडितको पहिचान गोप्य राख्ने प्रतिबद्धता व्यक्त गरे।
त्यसपछि सार्वजनिक हुन थालेका सामग्रीहरूले विद्यालयभित्रको कथित दुव्र्यवहारको एउटा जटिल र भयावह चित्र कोर्न थाले। विद्यार्थीहरूले पठाएका स्क्रिनशट, च्याट, अडिओ सन्देश र व्यक्तिगत अनुभवहरूमा केही शिक्षक तथा कर्मचारीले कक्षा ११ र १२ का छात्राहरूलाई प्रयोगात्मक नम्बर बढाइदिने, परीक्षा पास गराइदिने वा प्रश्नपत्र उपलब्ध गराइदिने प्रलोभन देखाएर अश्लील संवाद गर्ने गरेको आरोप लगाइएको छ।
कतिपय सामग्रीमा छात्राहरूसँग आपत्तिजनक तस्बिर मागिएको, रात बिताउने प्रस्ताव राखिएको, अनलाइन तथा प्रत्यक्ष रूपमा यौनजन्य संकेतयुक्त संवाद गरिएको र असहज हुने गरी शरीरमा छुने व्यवहार गरिएको दाबी गरिएको छ।
सबैभन्दा बढी आरोप विद्यालयका लेखा अधिकृत तथा शिक्षक अविरल मास्केमाथि केन्द्रित देखियो। सामाजिक सञ्जालमा सार्वजनिक अडिओहरूमा केही छात्राहरूले आफूलाई उनले बाटो छेकेर ‘डार्लिङ’, ‘बेबी’ जस्ता सम्बोधन गर्ने, अनुचित टिप्पणी गर्ने तथा शरीरबारे अश्लील टिप्पणी गर्ने गरेको आरोप लगाएका छन्।
एक छात्राले आफूले भोगेको अनुभव सुनाउँदै विद्यालयमा आफ्नो बदनाम हुने डरले त्यतिबेला कसैलाई भन्न नसकेको बताएकी छिन्। अर्की छात्राले कक्षा ११ मा पढ्दा आफ्नी साथीलाई शिक्षकले पटकपटक बाटो छेक्ने र अनुचित रूपमा छोएको आरोप लगाएकी छिन्।
सार्वजनिक भएका सामग्रीहरू केवल विद्यार्थी र शिक्षकबीचको सम्बन्धमा सीमित छैनन्। विद्यालय बसका चालक प्रदीप भट्टराई र सहचालकमाथि पनि छात्राहरूलाई सामाजिक सञ्जालमार्फत ‘फ्लर्टी’ सन्देश पठाउने, ‘प्यारी’ र ‘बादर्नी’ जस्ता सम्बोधन प्रयोग गर्ने तथा अनुचित व्यवहार गर्ने आरोपहरू सार्वजनिक भएका छन्।
यसबाहेक, सामाजिक विषयका शिक्षक युवराज दुलालमाथि विद्यार्थीका आमासँग सामाजिक सञ्जालमा अनावश्यक सम्पर्क बढाएर मानसिक तनाव सिर्जना गरेको आरोप पनि सार्वजनिक भयो। एक पूर्वविद्यार्थीले आफ्नी आमालाई शिक्षकले निरन्तर व्यक्तिगत प्रकृतिका सन्देश पठाउने, ब्लक गरिएपछि आफूलाई कक्षामा बोलाएर आमाको व्यक्तिगत विवरण सोध्ने गरेको दाबी गरेका छिन्।
सार्वजनिक सामग्रीहरूले विद्यालय प्रशासनको भूमिकामाथि पनि गम्भीर प्रश्न उठाएका छन्। केही पूर्वविद्यार्थीहरूले आफूहरू वा आफ्ना साथीहरूले शिक्षकको व्यवहारबारे विद्यालयका जिम्मेवार व्यक्तिहरूसमक्ष गुनासो गर्दा घटनालाई गम्भीर रूपमा नलिइएको आरोप लगाएका छन्। एक पूर्वविद्यार्थीले गणित शिक्षक महेश रेग्मीमाथि कक्षाकोठाभित्रै अनुचित व्यवहार गरेको आरोप लगाउँदै त्यसबारे शिक्षकहरू हिक्मत सर, राजकुमार सर र राजेन्द्र सरलाई जानकारी गराउँदा ‘बुढो शिक्षक हो, के गर्ला र’ भन्ने प्रतिक्रिया पाएको दाबी गरेकी छन्।
प्रधानाध्यापक हिक्मत बस्नेतमाथि समेत केही विद्यार्थीहरूले घटनालाई ढाकछोप गरेको आरोप लगाएका छन्। सार्वजनिक भएका केही स्क्रिनशटहरूमा उनले राति अबेर विद्यार्थीलाई सन्देश पठाएको देखिन्छ भने, केही विद्यार्थीले आफूहरूले दिएको उजुरीलाई ‘छोरी जस्तै गरेर छोएको हो’ भन्दै बेवास्ता गरिएको दाबी गरेका छन्। यद्यपि यी आरोपबारे प्रधानाध्यापक बस्नेतको औपचारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन।
डिजिटल माध्यममा दबाब बढ्दै जाँदा विद्यालयभित्र विद्यार्थीहरू आन्दोलित बन्न थाले। प्रदर्शनको तयारी भइरहेका बेला जिल्ला प्रहरी कार्यालय मोरङले साउन ४ गते बिहान करिब १० बजे अनुसन्धानका क्रममा तीन जनालाई नियन्त्रणमा लियो। पक्राउ पर्नेमा विद्यालयका बस चालक प्रदीप भट्टराई, शिक्षक किशोरलाल गच्छदार र लेखा अधिकृत तथा शिक्षक अविरल मास्के छन्।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार ती व्यक्तिहरूमाथि थप अनुसन्धान जारी छ। अनुसन्धानको क्रममा अन्य व्यक्तिहरूको संलग्नता पुष्टि भए कानुनबमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ। प्रहरीले सामाजिक सञ्जालमा अपुष्ट र भ्रामक सूचना नफैलाउन तथा अनुसन्धानमा सहयोग गर्न पनि आग्रह गरेको छ।
घटना सार्वजनिक भएपछि विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घको संयुक्त बैठकले अविरल मास्के, भीमप्रसाद नेपाल र चालक प्रदीप भट्टराईलाई निलम्बन गर्ने निर्णय गरेको छ। विद्यालयले सत्यतथ्य छानबिनका लागि सम्बन्धित निकायलाई पत्राचार गरिएको जनाएको छ।
यस घटनाको अर्को उल्लेखनीय पक्ष भनेको सामाजिक सञ्जालको भूमिका हो। सामान्यतया ट्रोल, अफवाह, चरित्रहत्या र डिजिटल भीडतन्त्रसँग जोडेर हेरिने सामाजिक सञ्जाल यहाँ पीडितहरूको आवाज सार्वजनिक गर्ने माध्यम बनेको छ। विद्यालय प्रशासन, स्थानीय शक्ति संरचना वा सामाजिक लज्जाको डरका कारण वर्षौँसम्म मौन बसेका विद्यार्थीहरूले अन्ततः डिजिटल प्लेटफर्मलाई नै आफ्नो ‘सुरक्षित सार्वजनिक मञ्च’ बनाए। पहिचान गोप्य राखेर अनुभव साझा गर्न सकिने वातावरण बनेपछि एकपछि अर्को विद्यार्थी खुल्दै गए र त्यसले सामूहिक दबाबको रूप लियो।
तर यससँगै अर्को प्रश्न पनि उठेको छ—यदि विद्यार्थीहरूले सामाजिक सञ्जालको सहारा लिनुपरेको थियो भने विद्यालयभित्र गुनासो सुन्ने, छानबिन गर्ने र सुरक्षा सुनिश्चित गर्ने संयन्त्र किन प्रभावकारी बन्न सकेन? सार्वजनिक भएका आरोपहरू सत्य ठहरिएमा यो केवल केही शिक्षक वा कर्मचारीको व्यक्तिगत दुराचारको विषय मात्र रहने छैन। यो विद्यालय प्रशासन, निगरानी प्रणाली, विद्यार्थी सुरक्षा संयन्त्र र शैक्षिक संस्थाहरूभित्रको जवाफदेहितामाथिको गम्भीर प्रश्न बन्नेछ।
हाल अनुसन्धान जारी छ। सार्वजनिक आरोपहरू, डिजिटल प्रमाणहरू, पीडितका बयान र प्रहरी अनुसन्धानले अन्तिम निष्कर्ष दिनेछ। तर एउटा तथ्य भने अहिले नै स्पष्ट देखिएको छ— सुकुना माध्यमिक विद्यालयको यो घटनाले सामाजिक सञ्जाल केवल मनोरञ्जन वा विवादको माध्यम मात्र होइन, मौन बनाइएका आवाजहरूको न्याय खोज्ने शक्तिशाली औजार पनि बन्न सक्छ भन्ने सन्देश दिएको छ।


