आशिका तामाङले कुस्मा वुढाथोकीमाथि १ लाख ३० हजार यूरो ठगी गरेको आरोप लगाएकी हुन ?

राजविराज– एउटा चेक बाउन्स विवाद सार्वजनिक हुन्छ। त्यसलगत्तै सामाजिक सञ्जालमा प्रश्नको वर्षा सुरु हुन्छ। सामाजिक अभियान्ता हुँदै अचानक सांसद बनेको ब्यक्तिसँग करोडौँ रुपैयाँ कहाँबाट आयो, भन्ने खोजी हुन्छ। र त्यही बेला सम्बन्धित सांसदको दुई वर्षअघिको एउटा लामो फेसबुक स्टाटस पुनः सार्वजनिक हुन्छ। त्यसमा लेखिन्छ— ‘चोरले म चोर हुँ कहिल्यै भन्दैन, मेरो श्रीमानको जिन्दगीभरको कमाइ पचाउने दाउ नगरेकै राम्रो हुन्छ, सत्यता लुकाएर कहिले पनि लुक्दैन।’

यही एक वाक्यले अहिले चेक बाउन्स विवादलाई सामान्य बैंकिङ विवादको घेराबाट निकालेर नयाँ प्रश्नहरूको केन्द्रमा पुर्‍याएको छ। यो प्रकरणको असली पात्र हुन– सांसद आशिका तामाङ। उनले पुनः शेयर गरेको सन् २०२४ को स्टाटस आखिर को प्रति लक्षित छ? किन त्यो स्टाटस अहिलेको विवादसँग फेरि सार्वजनिक गरियो? र त्यो स्टाटसमा वर्णन गरिएको जर्मन नागरिक ‘थोमस’सँग सम्बन्धित कथित आर्थिक विवाद र अहिले चर्चामा रहेको कुष्मा बुढाथोकी र आशिका तामाङ चेक प्रकरणबीच कुनै सम्बन्ध छ कि छैन?

यिनै प्रश्न अहिले सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म चर्चाको विषय बनेका छन्। घटनाको केन्द्रमा रहेका अन्य पात्र हुन– अहिले अमेरिकामा बस्दै आएकी कुष्मा बुढाथोकी र झापाका जीवनप्रसाद बास्कोटा। कुष्मा बुढाथोकी परिवारले जीवनप्रसाद बास्कोटामाथि २ करोड ८ लाख रुपैयाँ ठगी गरेको आरोप लगाएको छ। बास्कोटाले आफूलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको उच्च तहको कर्मचारीका रूपमा प्रस्तुत गर्दै बिरामी (क्यान्सर पीडित) डम्बरबहादुर बुढाथोकीको परिवारसँग निकटता बढाएको, बीमा र आर्थिक व्यवस्थापनका नाममा ठूलो रकम लिएको तथा पछि चेकबुक चोरी गरी विभिन्न व्यक्तिका नाममा चेक बाउन्स गराएको आरोप परिवारको छ।

कुष्मा पक्षका अनुसार घटनाको सुरुवात २०७७ सालतिर भएको हो। क्यान्सरबाट पीडित डम्बरबहादुर बुढाथोकीको उपचार चलिरहेका बेला बास्कोटा परिवारको सम्पर्कमा पुगेका थिए। परिवारका अनुसार उनले बीमासम्बन्धी विभिन्न आश्वासन दिँदै नगद रकम, जग्गा बिक्रीबाट आएको पैसा र बैंकिङ कर्जासमेत विभिन्न चरणमा आफ्नो नियन्त्रणमा लिएका थिए। परिवारको दाबीअनुसार कुल रकम २ करोड ८ लाख रुपैयाँ पुग्छ।

तर विवादको नयाँ मोड चाहीँ अमेरिकामा रहेकी कुष्माको निष्क्रिय बैंक खातासँग सम्बन्धित दुईवटा चेक बाउन्स भएको सूचना सार्वजनिक भएपछि आयो। एउटा चेक जीवनप्रसाद बास्कोटाको नाममा १ करोड ८५ लाख रुपैयाँको थियो भने अर्को चेक प्रतिनिधिसभा सदस्य आशिका तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको रहेको दाबी गरिएको छ।

यही दोस्रो चेकले अहिलेको बहसलाई राजनीतिक र सार्वजनिक चासोको विषय बनाएको हो। कुष्मा बुढाथोकीले उक्त चेक आफूले जारी नगरेको, आफ्नो चेकबुक चोरी भएको र किर्ते हस्ताक्षर प्रयोग गरेर चेक बाउन्स गराइएको दाबी गर्दै आएकी छिन्। उनले आशिका तामाङको नाममा रहेको चेक देखेर आफूलाई अचम्म लागेको विषय भएको र त्यो चेक कसरी त्यहाँ पुग्यो भन्ने अनुसन्धानको विषय भएको बताएकी छिन्।

यता आशिका तामाङको भनाइ भने पूर्णतः फरक छ। सामाजिक सञ्जालमार्फत सार्वजनिक स्पष्टीकरण दिँदै उनले चेक बाउन्स प्रकरणमा आफू पीडित पक्ष भएको दाबी गरेकी छिन्। उनका अनुसार बाउन्स भएको चेक आफूले कसैलाई दिएको होइन, बरु आफूले प्राप्त गर्नुपर्ने रकमको भुक्तानीका लागि प्राप्त गरेको चेक अनादर भएको हो। उनले सम्बन्धित व्यक्तिले तिर्नुपर्ने रकम नतिरेपछि कानुनी प्रक्रियाअनुसार चेक अनादर सम्बन्धी कारबाही अघि बढाइएको स्पष्ट पारेकी छिन्।

यही स्पष्टीकरणसँगै उनले सन् २०२४ मा लेखेको लामो फेसबुक स्टाटस पुनः शेयर गरिन्। त्यो स्टाटसको कथावस्तु निकै रोचक छ। आशिकाले आफू सन् २०१० मा जर्मनी पुगेको, त्यहाँ एक नेपाली युवतीसँग मित्रता भएको र ती युवती जर्मन नागरिक थोमससँग विवाहको तयारीमा रहेको कुरा थाहा पाएको उल्लेख गरेकी छिन्। स्टाटसमा ती युवतीले भिसा र बसोबासको उद्देश्यका लागि विवाह गर्न लागेको बताएको, पछि नेपाल फर्किएको र थोमसबाट १ लाख ३० हजार युरो लिएर आएको आरोप लगाइएको छ।

आशिकाको कथनअनुसार थोमसले ति युवतीबाट आफू आर्थिक रूपमा पूर्ण रूपमा ठगिएको अनुभव सुनाएका थिए। थोमसको त्यो पीडा कम गर्न आफुले उनीसँग विवाह गरेको र अन्ततः उनी आफ्ना श्रीमान बनेको प्रसंग स्टाटसमा उल्लेख छ। यही स्टाटस अहिले किन पुनः सार्वजनिक गरियो भन्ने प्रश्नले नयाँ अर्थ ग्रहण गरेको छ।

कारण, आशिकाले पुरानो स्टाटस शेयर गर्दा प्रयोग गरेको भाषा सामान्य सम्झना वा व्यक्तिगत अनुभव बाँड्ने खालको छैन। उनले सीधै ‘मेरो श्रीमानको जिन्दगीभरको कमाइ पचाउने दाउ’ र ‘चोरले म चोर हुँ भन्दैन’ जस्ता वाक्य प्रयोग गरिन्। त्यसले धेरैलाई वर्तमान विवादतर्फ संकेत गरेको आभास दियो।

यही कारणले सामाजिक सञ्जालमा एउटा व्याख्या बलियो रूपमा देखिन थालेको छ—आशिकाले उल्लेख गरेको जर्मनीको पुरानो प्रसंग र अहिलेको चेक बाउन्स विवादमा नाम जोडिएकी कुष्मा बुढाथोकी एउटै व्यक्ति हुन् ? तर यही ठाउँमा एउटा महत्वपूर्ण तथ्य छ। आशिकाले कतै पनि कुष्मा बुढाथोकीको नाम प्रत्यक्ष रूपमा उल्लेख गरेकी छैनन्।

उनले पुनः शेयर गरेको स्टाटसमा समेत सम्बन्धित व्यक्तिको नाम खुलाइएको छैन। त्यसैले हाल उपलब्ध सार्वजनिक अभिव्यक्तिका आधारमा उक्त स्टाटसमा उल्लेख गरिएको व्यक्ति कुष्मा नै हुन् भनेर निष्कर्ष निकाल्न सकिने अवस्था छैन। यद्यपि समयको सन्दर्भ, ‘पीडित म र पीडक अमेरिका हुनुहुन्छ’ भन्ने आशिकाको भनाइ, थोमससँग जोडिएको पुरानो कथन, १ करोड ३५ लाख रुपैयाँको चेक बाउन्स प्रकरण र त्यसैबीच गरिएको स्टाटस पुनः शेयरिङले स्वाभाविक रूपमा अनेक प्रश्न भने जन्माएको छ।

अर्कोतर्फ, जीवनप्रसाद बास्कोटाले आफूमाथि लागेको ठगी, चेक चोरी र ब्ल्याकमेलिङको आरोप अस्वीकार गरेका छन्। उनका अनुसार यो विशुद्ध व्यक्तिगत लेनदेनको विषय हो। आशिका तामाङसँग आफ्नो कुनै सम्बन्ध, मिलेमतो वा आर्थिक साझेदारी नभएको दाबी पनि उनले गरेका छन्।

यसरी हेर्दा अहिलेको विवाद केवल चेक बाउन्स वा व्यक्तिगत लेनदेनको विषयमा सीमित छैन। यो विवादमा करोडौँ रुपैयाँको दाबी, कथित ठगी, किर्ते चेकको आरोप, मानवअधिकार आयोगसम्म पुगेको उजुरी, सांसदको सार्वजनिक स्पष्टीकरण, पुरानो स्टाटसको उत्खनन् र जर्मनीसम्म फैलिएको कथित आर्थिक सम्बन्धका तहहरू जोडिएका छन्।

त्यसैले अहिले सबैभन्दा महत्वपूर्ण प्रश्न एउटै छ— के पुरानो स्टाटसले नयाँ विवादको वास्तविक पात्रतर्फ संकेत गरिरहेको छ, वा यो केवल संयोग मात्र हो? यसको उत्तर सामाजिक सञ्जालको बहसले होइन, बैंकिङ अभिलेख, चेकसम्बन्धी प्रमाण, कानुनी प्रक्रिया र सम्बन्धित निकायको अनुसन्धानले मात्र दिन सक्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट