आत्मदाह प्रयासको पाँचौ घट्नाः बौद्धमा २७ वर्षीया महिलाले आफ्नै शरीरमा लगाईन आगो
काठमाडौँ– देशभर आत्मदाहका घटनाबारे चिन्ता बढिरहेका बेला काठमाडौँको बौद्धमा खाजाघर सञ्चालन गर्ने २७ वर्षीया सालु गुरुङले पनि आत्मदाहको प्रयास गरेकी छिन्। योसँग मुलुकमा आत्मदाह प्रयासका घटनाको संख्या ५ पुगेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ स्थायी घर भई हाल गोकर्णेश्वर–८ माकलबारी बस्दै आएकी सालु गुरुङले सोमबार अपराह्न बौद्ध गेट नजिक आत्मदाहको प्रयास गरेकी हुन्। बौद्ध क्षेत्रमा खाजाघर सञ्चालन गर्दै आएकी उनले श्रीमानद्वारा सञ्चालित खाजाघर पछाडिको पार्किङ क्षेत्रमा शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनापछि गम्भीर घाइते भएकी गुरुङलाई तत्काल गोकर्णेश्वर–६ स्थित सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो। अनुहार, छाती र दुवै हातसहित शरीरको करिब ५० प्रतिशत भाग जलेपछि उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक रूपमा श्रीमानसँगको विवादका कारण घटना भएको आशंका गरिए पनि वास्तविक कारणबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
यसअघि रौतहटको गरुडा नगरपालिका–९ गम्हरिया टोलका २८ वर्षीय गौतमकुमार सहनीले असार ३० गते राति करिब १ बजे शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गम्भीर घाइते भएका उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँस्थित कीर्तिपुर बर्न अस्पताल पठाइएको छ।
रौतहटका प्रहरी प्रमुख एसपी सीताराम रिजाल तथा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार सहनीको घाँटीदेखि तलसम्मको करिब ३१ देखि ३१.५ प्रतिशत भाग जलेको छ।
प्रहरी स्रोतका अनुसार परिवारले सहनी लामो समयदेखि मानसिक तनावमा रहेको तथा अत्यधिक मदिरा सेवन गर्ने गरेको जानकारी दिएको छ।
पछिल्लो समय देशका विभिन्न स्थानमा आत्मदाहका घटनाहरू लगातार सार्वजनिक भइरहेका छन्। यसअघि मुगुका २५ वर्षीय गणेश नेपालीले काठमाडौंको त्रिपुरेश्वरमा शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेका थिए। उपचारका क्रममा उनको मृत्यु भएको थियो। राहदानी बनाउन काठमाडौं आएका उनी महानगर प्रहरीसँगको विवादपछि आत्मदाहमा उत्रिएको विषयले व्यापक चर्चा पाएको थियो।
त्यसपछि काठमाडौं महानगरपालिका–१० बुद्धनगरका ४५ वर्षीय व्यवसायी आश्विन राउतले आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। शरीरको ५५ देखि ६० प्रतिशत भाग जलेका राउतको उपचारकै क्रममा मृत्यु भएको थियो। प्रारम्भिक अनुसन्धानमा पारिवारिक विवाद देखिए पनि परिवारजनले आर्थिक, स्वास्थ्य तथा अन्य तनावका कारणसमेत घटना भएको हुन सक्ने बताएका छन्।
यस्तै सर्लाहीको गोडैता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डलले पनि आत्मदाह गरेका थिए। शरीरको करिब ९० प्रतिशत भाग जलेका उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याई उपचार गरिए पनि कीर्तिपुर बर्न अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो।
प्रहरीका अनुसार विज्ञान विषयमा स्नातकोत्तर गरेका मण्डल बेरोजगारी, आर्थिक अभाव तथा मानसिक तनावसँग जुधिरहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। पछिल्लो एक सातामै आत्मदाह र प्रयासका ५ घटना सार्वजनिक हुनु र तीमध्ये तीन जनाको मृत्यु भइसकेको अवस्थाले आत्मदाहका घटनाले सामाजिक, आर्थिक तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित गम्भीर प्रश्न उठाएको छ।
यद्यपि प्रत्येक घटनाको कारण फरक–फरक हुन सक्ने भएकाले सबै घटनाबारे छुट्टाछुट्टै अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

