सिरहामा एम्बुलेन्सका लागि अध्यक्षको आदेश कुर्दाकुर्दै सर्पदंश भएका सप्तरीका बालकको मृत्यु
राजविराज– सिरहाको भगवानपुर गाउँपालिका–४, कल्याणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पुगेकी आमासँगै रहेका करिब चार वर्षीय बालकको सर्पदंशपछि मृत्यु भएको घटनाले शनिबार भगवानपुर क्षेत्र तनावग्रस्त बनेको छ।
समयमै एम्बुलेन्स उपलब्ध नगराइएको, उपचारमा ढिलाइ भएको तथा स्वास्थ्य सेवामा गम्भीर लापरबाही भएको आरोप लगाउँदै स्थानीयले स्वास्थ्य केन्द्रमा तोडफोड गर्नुका साथै पूर्व–पश्चिम हुलाकी सडक अवरुद्ध गरेका छन्। घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ भने उपचार प्रक्रियामा लापरबाही भएको वा नभएको विषयमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ।
प्रहरीका अनुसार उपचारका लागि सिरहाको भगवानपुर गाउँपालिका–४ स्थित प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी आमासँग आएका सप्तरीको बलान बिहुल गाउँपालिकाका अरुण मण्डलका करिब चार वर्षीय छोरा रोशन मण्डल स्वास्थ्य केन्द्र परिसरमै सर्पदंशको शिकार भएका थिए। प्राथमिक उपचारपछि थप उपचारका लागि लहान लैजाने तयारी गरिए पनि बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि स्थानीयले उपचारमा ढिलाइ र एम्बुलेन्स सेवा समयमै उपलब्ध नगराइएकै कारण बालकको ज्यान गएको आरोप लगाएका छन्। आन्दोलनकारीका अनुसार एम्बुलेन्स चालकले गाउँपालिका अध्यक्ष उग्र नारायण यादवको अनुमति बिना एम्बुलेन्स सञ्चालन गर्न नमिल्ने बताएपछि बिरामीलाई तत्काल रेफर गर्न ढिलाइ भएको थियो।
यद्यपि उक्त आरोपबारे गाउँपालिका अध्यक्ष वा सम्बन्धित निकायबाट औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। बालकको मृत्युको खबर फैलिनासाथ स्थानीय बासिन्दा आक्रोशित बनेका थिए। उनीहरूले स्वास्थ्य केन्द्रमा तोडफोड गरेपछि हुलाकी सडकको भगवानपुर खण्डमा टायर तथा काठ बालेर चक्काजाम गरेका छन्। सडक अवरुद्ध हुँदा पूर्व–पश्चिम हुलाकी मार्गको यातायात पूर्ण रूपमा प्रभावित भएको छ।
स्थानीयका अनुसार गाउँपालिका अध्यक्षसँग वार्ता हुने भनिएको थियो। तर अध्यक्ष वार्तास्थलमा नआएको भन्दै आन्दोलनकारीहरूले थप विरोध जनाएका छन्। आन्दोलनका अगुवा प्रविन्द यादव र इन्दल मण्डलले अध्यक्ष वार्तामा उपस्थित नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
इलाका प्रहरी कार्यालय लहानका अनुसार शनिबार दिउँसो करिब साढे १ बजेदेखि गाउँपालिकाका प्रतिनिधि, पीडित परिवार र स्थानीय अगुवाबीच वार्ता भइरहेको छ। घटनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ। एम्बुलेन्स सञ्चालनका लागि वास्तवमै गाउँपालिका अध्यक्षको अनुमति आवश्यक थियो वा थिएन, बिरामीलाई समयमै रेफर किन गरिएन, उपचार प्रक्रियामा कुनै लापरबाही भयो वा भएन भन्ने विषयमा तथ्य संकलन भइरहेको प्रहरीले जनाएको छ। पोस्टमार्टम प्रतिवेदन, स्वास्थ्य केन्द्रको अभिलेख तथा सम्बन्धित कर्मचारीको बयानका आधारमा घटनाको वास्तविक अवस्था खुल्ने प्रहरीको भनाइ छ।
घटनापछि भगवानपुर गाउँपालिकाका पूर्वअध्यक्ष बेचनप्रसाद यादवले अस्पताल परिसरमै सर्पदंशबाट बालकको मृत्यु हुनु केवल दुर्घटना नभई सम्बन्धित निकायको लापरबाही, कमजोर व्यवस्थापन, सरसफाइको अभाव र सुरक्षा प्रणालीको गम्भीर असफलताको परिणाम भएको आरोप लगाए।
उनले जनताको करबाट सञ्चालित स्वास्थ्य संस्थाले २४ घण्टा आपत्कालीन सेवा सञ्चालन गरेको दाबी गर्ने तर अस्पताल परिसर नै विषालु सर्पको जोखिमबाट सुरक्षित नरहनु गम्भीर प्रश्न भएको बताए। ‘यस्तो दुःखद घटनापछि मौनता होइन, जिम्मेवारी र जवाफदेहिता आवश्यक छ,’ उनले भने।
घटनाबारे गाउँपालिका, स्वास्थ्य केन्द्र प्रशासन तथा एम्बुलेन्स व्यवस्थापन पक्षबाट आधिकारिक धारणा आउन बाँकी रहेको छ भने प्रहरीले घटनाका सबै पक्षको अनुसन्धान जारी रहेको जनाएको छ।

