देवानगञ्जमा गोलीकाण्डपछि पुनः हिंसा, सरकार ‘हाइ अलर्ट’मा, प्रधानमन्त्रीको न्यायको प्रतिबद्धता
विराटनगर– सुनसरीको देवानगञ्जमा प्रहरी गोलीकाण्डपछि चर्किएको साम्प्रदायिक तनाव मंगलबार साँझ पुनः हिंसात्मक रूप लिएपछि सरकारले सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखेको छ। करिब अढाई घण्टासम्म चलेको दोहोरो झडप, आगजनी र तोडफोडपछि राति करिब साढे ९ बजे अवस्था नियन्त्रणमा आए पनि स्थानीय प्रशासनले अझै जोखिम टरेको निष्कर्ष निकालेको छैन।
यसैबीच प्रधानमन्त्री वालेन्द्र साहले नागरिकलाई संयम अपनाउन आग्रह गर्दै गोलीकाण्डबारे भइरहेको अनुसन्धान निष्पक्ष रूपमा टुंग्याइने, दोषीमाथि कानुनबमोजिम कारबाही हुने र पीडितले न्याय पाउने प्रतिबद्धता जनाएका छन्।
प्रहरीका अनुसार मंगलबार साँझ करिब ७ बजेदेखि देवानगञ्ज गाउँपालिका–३ स्थित देवानगञ्ज बजारमा दुई पक्षबीच पुनः झडप सुरु भएको थियो। केही समयमै अवस्था नियन्त्रणबाहिर पुगेपछि रड, भाला, खुँडा, तरबारलगायत घरेलु हतियार प्रयोग भएको थियो। अनियन्त्रित भीडका कारण सुरक्षाकर्मीलाई प्रारम्भिक चरणमै घटनास्थलमा प्रभावकारी रूपमा प्रवेश गर्न कठिन भएको प्रहरी स्रोतले जनाएको छ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार झडप करिब अढाई घण्टापछि नियन्त्रणमा आएको हो। उनले राति साढे ९ बजेदेखि सुरक्षा निकायको नियन्त्रण स्थापित भएको र सम्पूर्ण क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिए। उनका अनुसार घटनाका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको यकिन विवरण तत्काल संकलन गर्न सम्भव भएको छैन।
प्रारम्भिक विवरणअनुसार देवानगञ्ज बजारका २० भन्दा बढी घर तथा पसलमा आगजनी, तोडफोड वा अन्य प्रकारको क्षति पुगेको आशंका गरिएको छ। केही व्यक्तिहरू घाइते भएको अनुमान गरिएको भए पनि रातिसम्म आधिकारिक तथ्यांक सार्वजनिक गरिएको थिएन।
मंगलबार साँझको झडपअघि नै देवानगञ्ज र घुस्की क्षेत्रमा तनाव चुलिएको थियो। दिउँसो केही घरमा आगजनी भएको, सुरक्षाकर्मीमाथि समेत आक्रमण भएको तथा स्थिति थप बिग्रन सक्ने संकेत देखिएपछि नेपाली सेनाले हेलिकोप्टरमार्फत हवाई गस्ती गरेको थियो। त्यसअघि सुरक्षा अधिकारीहरूले देवानगञ्ज र कप्तानगञ्ज पुगेर स्थानीय अगुवा, समुदायका प्रतिनिधि तथा सरोकारवालासँग छलफल गर्दै शान्ति कायम गर्न आग्रह गरेका थिए। तर साँझ पुनः हिंसा भड्किएपछि बजार क्षेत्र फेरि अशान्त बनेको थियो।
यो तनाव आइतबार रातिको प्रहरी गोलीकाण्डपछि उत्पन्न असन्तुष्टिको निरन्तरता हो। त्यसदिन बोलबम यात्राका क्रममा सुरु भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि सुरक्षाकर्मीले गोली चलाएका थिए। गोली लागेर देवानगञ्ज–४ का ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने नौ जना स्थानीय घाइते भएका थिए। प्रहरीतर्फ नेपाल प्रहरीका आठ र सशस्त्र प्रहरीका पाँच जना घाइते भएका थिए। त्यसयता देवानगञ्ज र हरिनगर क्षेत्रमा कफ्र्यु जारी छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको बाक्लो परिचालन भइरहेको छ।
घटनापछि सरकारले उच्चस्तरीय छानबिन प्रक्रिया अघि बढाएको छ। गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय छानबिन समितिले घाइतेसँग भेटघाट, घटनास्थल निरीक्षण, प्रत्यक्षदर्शीको बयान तथा सुरक्षा निकायबाट प्राप्त विवरण संकलन गरिरहेको छ। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
यसैबीच प्रधानमन्त्री वालेन्द्र साहले सार्वजनिक सन्देश जारी गर्दै सुनसरीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, पीडित परिवारलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउने तथा दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्री साहले सुरक्षाकर्मीको गोलीबाट नागरिकको ज्यान जानु कुनै पनि दृष्टिले सामान्य घटना नभएको उल्लेख गर्दै त्यसबारे अनुसन्धान सुरु भइसकेको जानकारी दिएका छन्। सरकारले घटनालाई गम्भीर रूपमा समीक्षा गरिरहेको, पुनः यस्ता घटना दोहोरिन नदिन आवश्यक नीतिगत र सुरक्षा सम्बन्धी निर्णयहरू तत्काल कार्यान्वयन गरिने उनले बताएका छन्।
उनले नागरिकलाई भावनामा बगेर प्रतिशोध, आक्रोश वा हिंसात्मक गतिविधिमा सहभागी नहुन आग्रह गरेका छन्। धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबै समुदायलाई संयम अपनाउन, अफवाहमा विश्वास नगर्न र एकअर्काप्रति सम्मान तथा विश्वास कायम राख्न प्रधानमन्त्रीले अपिल गरेका छन्।
प्रधानमन्त्रीको भनाइमा, सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा सुनिश्चित गर्नु, पीडितलाई न्याय दिलाउनु र दोषीलाई कानुनअनुसार कारबाही गर्नु हो। उनले यही जिम्मेवारी पूरा गर्न सरकारले आफ्नो सम्पूर्ण शक्ति परिचालन गर्ने विश्वास दिलाएका छन्।
देवानगञ्जमा मंगलबार राति पुनः भएको हिंसाले प्रहरी गोलीकाण्डपछि उत्पन्न असन्तुष्टि अझै साम्य नभएको स्पष्ट संकेत दिएको छ। स्थानीय प्रशासनले सुरक्षा निगरानी अझ कडा बनाएको छ भने थप अप्रिय घटना हुन नदिन संवेदनशील क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको जनाएको छ। अब सबैको ध्यान छानबिन समितिको निष्कर्ष, सुरक्षा निकायको जिम्मेवारी निर्धारण र समुदायबीचको विश्वास पुनःस्थापनातर्फ केन्द्रित भएको छ।

