मोरङमा लडेर मृत्यु भएको भनिएका युवकको ट्रकले किचेर मृत्यु भएको पुष्टि

विराटनगर– मोरङको बुढीगंगा गाउँपालिकामा लडेर मृत्यु भएको भनिएका एक युवकको ट्रकले किचेर मृत्यु भएको पुष्टि भएको छ। प्रहरीले गरेको विस्तृत अनुसन्धानबाट ३५ वर्षीय सुरज ऋषिदेवको मृत्यु ट्रकको चक्काले किचेर भएको पुष्टि भएको हो।

प्रहरीले दुर्घटनामा संलग्न ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुनसरीको गढी गाउँपालिका–२ स्थायी घर भई बुढीगंगा–५ दीपु टोलस्थित ससुरालीमा बस्दै आएका सुरज ऋषिदेव साउन १० गते आइतबार साँझ करिब साढे ६ बजे मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित अगुर दाना मिलअगाडि घाइते अवस्थामा फेला परेका थिए।

घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारका लागि विराट शिक्षण अस्पताल पु¥याएको थियो। तर अस्पताल पु¥याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

त्यसपछि शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको थियो। पोस्टमार्टम प्रतिवेदनमा मृत्यु सामान्य रूपमा लडेर नभई बाह्य चोटका कारण भएको संकेत देखिएपछि प्रहरीले घटनालाई दुर्घटनाको कोणबाट पुनः अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा ना ७ ख ७८८ नम्बरको ट्रक रोकी राखिएको अवस्थामा मृतक ट्रकको चक्कामुनि गएर सुतेको र चालकलाई त्यसबारे जानकारी नभई ट्रक अगाडि बढाउँदा चक्काले किचेर उनको मृत्यु भएको तथ्य खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

घटनामा संलग्न ट्रकका चालक झापाको कचनकवल गाउँपालिका–१ निवासी ३० वर्षीय हरि थापालाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको छ। चालकविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार प्रारम्भिक अवस्थामा घटनाको प्रकृति स्पष्ट नभए पनि पोस्टमार्टम प्रतिवेदन र त्यसपछिको अनुसन्धानबाट दुर्घटनाको वास्तविकता खुलेको हो। उनले चालकको लापरबाहीका कारण घटना भएको देखिएको र घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जानकारी दिए।

प्रहरीले घटनाका सबै परिस्थितिबारे थप प्रमाण संकलन तथा कानुनी प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *