दुई वर्षदेखि कतारमा रहेको ठानिएकी कविता झापाको होस्टेलमा मृत भेटिइन्, के हो रहस्य ?

दमक— दुई वर्षअघि रोजगारीका लागि कतार गएको विश्वास गरिएकी सर्लाहीकी २९ वर्षीया कविता ढुंगाना झापाको एउटा बोर्डिङ स्कुलको होस्टेलमा मृत अवस्थामा फेला परिन। सुन्दै आश्चर्य लाग्ने यो घट्नाले परिवारलाई शोकमा डुबाएको छ।

परिवारले उनलाई विदेशमै रहेको ठानिरहेको थियो। तर, सोमबार कविताको शव नेपालमा भेटियो। त्यसपछि मात्रै उनि सात महिनामै कतारबाट नेपाल फर्किएको, परिवारलाई जानकारी नदिई विवाह गरेको, शिक्षकको रूपमा काम गरिरहेको र मृत्यु हुनुअघि पनि आफू कतारमै रहेको विश्वास दिलाइरहेको तथ्य खुलेको छ।

झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको होस्टेलमा सोमबार साँझ कविता मृत अवस्थामा फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घटनापछि उनका पति भनिएका पर्साको वीरगञ्ज–१६ निवासी ३० वर्षीय रतन गुप्ता फरार छन्। प्रहरीले उनको खोजी तीव्र बनाएको छ।

विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलले सोमबार प्रहरीलाई घटनाबारे जानकारी दिएका थिए। उनका अनुसार वैशाख महिनादेखि विद्यालयमा शिक्षकका रूपमा कार्यरत कविता र गुप्ता विद्यालय परिसरमै बस्दै आएका थिए। सोमबार विद्यालय खुले पनि दुवै जना सम्पर्कमा आएका थिएनन्। उनीहरू बस्ने कोठामा बाहिरबाट ताला लागेको थियो। साँझ करिब साढे ४ बजे गुप्ताले प्रधानाध्यापकलाई ह्वाट्सएप सन्देश पठाउँदै श्रीमतीलाई झुन्डिएको अवस्थामा फेला पारेको, शव अर्को कोठामा सारेको र आफू डरका कारण त्यहाँबाट निस्किएको उल्लेख गरेका थिए।

तर स्थानीय बासिन्दाले गुप्तालाई आइतबार साँझ नै दुईवटा झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको देखेको बताएका छन्। त्यसपछि प्रहरी र स्थानीय जनप्रतिनिधिको रोहबरमा कोठाको ताला फोड्दा कविता खाटमा उत्तानो परेको र शवबाट दुर्गन्ध आउन थालेको अवस्था भेटिएको थियो। शवको अवस्थाले मृत्यु केही दिनअघि नै भएको हुन सक्ने आशंका पनि जन्माएको छ।

घटनापछि सर्लाहीबाट झापा पुगेका कविताका दाजु रमेश ढुंगानाका अनुसार परिवारका लागि यो खबर पूर्ण रूपमा अप्रत्याशित थियो। दुई वर्षअघि परिवारकै सहमतिमा ‘वर्किङ भिसा’मा कतार गएकी कविता त्यसयता नियमित रूपमा ह्वाट्सएपमार्फत सम्पर्कमा रहन्थिन्। तर उनले कहिल्यै भिडियो कल गर्दिनथिन्। सधैं मोबाइलको क्यामेरा बिग्रिएको बहाना बनाउँथिन्।

साउन ६ गते भएको अन्तिम कुराकानीमा रमेशले भिडियो कल गर्न आग्रह गर्दा कविताले आवाजमा सन्देश पठाउँदै आफू कतारमै रहेको र सबै ठीक रहेको बताएकी थिइन्। त्यही कारण सोमबार झापा प्रहरीले शव भेटिएको जानकारी दिँदा परिवारले सुरुमा विश्वास नै गरेन। प्रहरीले नागरिकता र पासपोर्टको तस्बिर पठाएपछि मात्र उनीहरूलाई घटनाको यथार्थ थाहा भयो।

अनुसन्धानका क्रममा भेटिएका कागजातले अर्को महत्वपूर्ण तथ्य खुलाएको छ। परिवारले दुई वर्षसम्म कतारमै रहेको विश्वास गरेकी कविता वास्तवमा नेपालबाट कतार गएको करिब सात महिनापछि नै दिल्ली हुँदै नेपाल फर्किएकी रहिछिन्। त्यसपछि उनी कहाँ बसिन्, कसरी वीरगञ्जका रतन गुप्तासँग सम्बन्ध स्थापित भयो, कहिले विवाह गरिन् र काँकडभिट्टा कसरी पुगिन् भन्नेबारे परिवारलाई कुनै जानकारी थिएन।

रमेशका अनुसार विदेश बस्दा कविता पटक–पटक बिरामी भएको, खर्च नभएको र नेपाल फर्किन टिकट किन्नुपर्ने भन्दै पैसा माग्थिन्। परिवारले विश्वास गरेर पटक–पटक रकम पठायो। एकपटक टिकटका लागि भन्दै ८० हजार रुपैयाँसमेत पठाइएको थियो। त्यसपछि उनले टिकट काटेको तस्बिर पठाइन्, तर केही दिनमै टिकट रद्द गरेको र अब कतारमै काम गर्ने भन्दै नेपाल नआउने जानकारी दिइन्। परिवारका अनुसार दुई वर्षको अवधिमा उनलाई करिब साढे तीन लाख रुपैयाँ आर्थिक सहयोग गरिएको थियो।

विद्यालय प्रशासनका अनुसार कविता र गुप्ता चार महिनादेखि पति–पत्नीका रूपमा विद्यालयमै बस्दै आएका थिए। यही तथ्यले परिवारलाई थप स्तब्ध बनाएको छ। रमेशका अनुसार परिवारलाई विवाहबारे कुनै जानकारी थिएन। उनी भन्छन्, ‘हामीलाई न नेपाल फर्किएको थाहा थियो, न विवाह गरेको। विद्यालयले पनि कुनै प्रमाण वा अभिभावकसँग बुझबुझारथ नगरी उनीहरूलाई पति–पत्नी भनेर बस्न र जागिर गर्न दिएको देखिन्छ।’

परिवारले घटनास्थलबाट भेटिएको भनिएको ‘सुसाइड नोट’ माथिसमेत प्रश्न उठाएको छ। रमेशका अनुसार नोट रोमन लिपिमा लेखिएको छ र त्यसको भाषा तथा शैली कविताको स्वाभाविक लेखाइसँग मेल खाँदैन। उनीहरूले उक्त नोट वास्तविक नभई बनावटी हुन सक्ने आशंका व्यक्त गरेका छन्।

त्यस्तै, गुप्ताको नाममा पनि एउटा नोट भेटिएको परिवारले जनाएको छ, जसको व्यहोरा उनले प्रधानाध्यापकलाई पठाएको ह्वाट्सएप सन्देशसँग मिल्दोजुल्दो रहेको बताइएको छ। तर कोठाबाट गुप्ताका नागरिकता, प्रमाणपत्र वा अन्य व्यक्तिगत कागजात भने फेला नपरेको परिवारको दाबी छ।

अहिलेसम्मको अनुसन्धानले एउटा कुरा भने स्पष्ट बनाएको छ—परिवारलाई दुई वर्षसम्म कतारमै रहेको विश्वास दिलाइरहेकी कविता वास्तविकतामा धेरैअघि नेपाल फर्किसकेकी थिइन्। त्यस अवधिमा उनले आफ्नो जीवनको नयाँ अध्याय सुरु गरिन्, नयाँ सम्बन्ध बनाइन्, नयाँ परिचय निर्माण गरिन्, तर आफ्नै परिवारबाट ती सबै कुरा लुकाइरहिन्।

अब प्रहरी अनुसन्धानको केन्द्रमा केही गम्भीर प्रश्न छन—कविता नेपाल फर्किएपछि वास्तवमा कहाँ र कसरी बसिन? रतन गुप्तासँग उनको सम्बन्ध कसरी सुरु भयो? परिवारलाई किन निरन्तर भ्रममा राखियो? होस्टेलको कोठामा भेटिएको ‘सुसाइड नोट’ वास्तविक हो कि बनावटी? र सबैभन्दा महत्वपूर्ण, अरुणोदय बोर्डिङ स्कुलको होस्टेलमा भेटिएको यो मृत्यु आत्महत्या थियो कि योजनाबद्ध अपराधको अन्तिम दृश्य? यी प्रश्नहरूको उत्तर अब प्रहरी अनुसन्धान र पोस्टमार्टम प्रतिवेदनले मात्र दिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट