निर्माणाधीन सेफ्टी ट्याङ्कीमा गुम्सिएर तीन मजदुरको मृत्यु
कोहलपुर (बाँके)– बाँकेको कोहलपुर नगरपालिका–३ स्थित निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीभित्र काम गरिरहेका तीन मजदुरको बुधबार मृत्यु भएको छ। ट्याङ्कीभित्र फसेको सूचनापछि प्रहरी र उद्धार टोलीले एक्स्काभेटरको सहायताले संरचना फुटाएर उनीहरूलाई बाहिर निकाले पनि तीनै जनालाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार शान्तिटोलस्थित दयाप्रसाद थारुको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेफ्टी ट्याङ्कीभित्र मजदुर फसेको सूचना बुधबार बिहान प्राप्त भएको थियो। त्यसलगत्तै डीएसपी चक्रबहादुर डमरपालको नेतृत्वमा १५ सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले उद्धारका लागि एक्स्काभेटर प्रयोग गर्दै सेफ्टी ट्याङ्की फुटाएर भित्र रहेका तीनै मजदुरलाई बाहिर निकालेको थियो। तर उद्धार गरिएका सबैलाई मृत अवस्थामा फेला पारिएको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ।
मृत्यु हुनेमा कोहलपुर नगरपालिका–३ निवासी करिब ४०–४२ वर्षीय कालु थारु, २६–२७ वर्षीय प्रकाश थारु र ३३–३४ वर्षीय बिर्जा थारु रहेका छन्। प्रहरीका अनुसार घटनाको वास्तविक कारण अझै खुलिसकेको छैन। सेफ्टी ट्याङ्कीभित्र विषाक्त ग्यास, अक्सिजनको कमी वा अन्य कुनै कारणले घटना भएको हो भन्ने विषयमा प्रारम्भिक अनुसन्धान भइरहेको छ।
यसबारे विस्तृत निष्कर्ष पोस्टमार्टम प्रतिवेदन तथा प्राविधिक अनुसन्धानपछि मात्रै स्पष्ट हुने प्रहरीको भनाइ छ। मृतकहरूको शव पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाईएको छ।

