महोत्तरीमा विद्यालय बस दुर्घटना, पाँच विद्यार्थीसहित ६ जना घाइते
जनकपुर– महोत्तरीको गौशाला नगरपालिकामा मंगलबार बिहान विद्यालय बस दुर्घटना हुँदा चालक र पाँच विद्यार्थीसहित ६ जना घाइते भएका छन्। भित्री सडकखण्डमा गुडिरहेको बस अनियन्त्रित भई उखुबारीमा खसेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बिहान करिब साढे ७ बजे गौशाला नगरपालिका–९, डुमरवानास्थित भित्री सडकमा मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बा१क ६१२९ नम्बरको विद्यालय बस इमली बजारबाट गौशालातर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो।
दुर्घटनामा बस चालक गौशाला नगरपालिका–५ निवासी करिब ४० वर्षीय विजय भुजेल घाइते भएका छन्। साथै बसमा सवार पाँच विद्यार्थी पनि घाइते भएका छन्। घाइते हुने विद्यार्थीमा गौशाला–११ निवासी महेश्वर महतोका १० वर्षीय प्रतिक कुशवाहा, ८ वर्षीय प्रज्वल कुशवाहा र १३ वर्षीया प्रिति कुशवाहा, गौशाला–९ निवासी शेख जावेदका १३ वर्षीय छोरा उमर शेख, तथा गौशाला–११ निवासी रमेश कुमार महतोका ६ वर्षीय छोरा आदर्श कुशवाहा छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेका अनुसार दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी कान्तिबजारबाट खटिएको टोलीले घाइतेहरूको उद्धार गरेको थियो। उनीहरूलाई उपचारका लागि बीके अस्पताल, गौशाला तथा स्थानीय मेडिकल संस्थामा पठाइएको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। बस कसरी अनियन्त्रित भई सडकबाट उखुबारीमा खस्यो भन्ने विषयमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

