देवानगञ्ज गोलीकाण्डमा मृत्यु हुनेको संख्या तीन पुग्यो, काठमाडौंमा उपचाररत रवीन्द्र मेहताको निधन
विराटनगर– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा १० साउन राति दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
योसँगै सुनसरी घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचाररत देवानगञ्ज–३ निवासी २१ वर्षीय रवीन्द्रकुमार मेहताको मंगलबार बिहान मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी पुष्पराज मल्लका अनुसार रवीन्द्रको उपचारका क्रममा मृत्यु भएको जानकारी अस्पतालबाट प्राप्त भएको हो। ‘हामीले पनि भर्खरै थाहा पायौं। उहाँ टिचिङ अस्पतालमा उपचाररत हुनुहुन्थ्यो,’ उनले भने।
रवीन्द्र १० साउन राति कप्तानगञ्जमा भएको हिंसात्मक झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएका १० जनामध्ये एक थिए। उनको बायाँ तिघ्रामा गोली लागेपछि प्रारम्भिक उपचार विराटनगरस्थित विराट नर्सिङ होममा गरिएको थियो। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई थप उपचारका लागि शुक्रबार काठमाडौंको शिक्षण अस्पताल लगिएको थियो।
उपचारका क्रममा चिकित्सकहरूले उनको बायाँ खुट्टा काट्नुपरेको थियो। त्यसपछि पनि स्वास्थ्य अवस्थामा सुधार आउन नसक्दा मंगलबार बिहान उनको मृत्यु भएको हो। यसअघि सोही घटनामा देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको गोली लागेकै दिन मृत्यु भएको थियो। त्यसपछि देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो निधन भएको थियो।
सरकार र पीडित पक्षबीच सातबुँदे सहमति भएपछि दुवै जनाको शव शुक्रबार गोली लागेको स्थानमै अन्त्येष्टि गरिएको थियो। घटनामा घाइते भएका अन्यको उपचार भने अझै जारी छ। देवानगञ्ज–३ का १८ वर्षीय अमित यादव काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन्। उनको हात र कोखामा गोली लागेको थियो। उनलाई नोबेल शिक्षण अस्पतालबाट नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं लगिएको थियो।
त्यस्तै, विराटनगरस्थित न्युरो अस्पतालमा देवानगञ्ज–४ का १८ वर्षीय मिथिलेश मेहता, २२ वर्षीय हरेराम यादव र देवानगञ्ज–३ का १८ वर्षीय अमलेश मेहता उपचाररत छन्। मिथिलेशको पेटमा गोली लाग्दा आन्द्रा बाहिर निस्किएको थियो र शल्यक्रिया गरेर गोली निकालिएको प्रहरीले जनाएको छ। हरेरामको तिघ्राको माथिल्लो भागमा तथा अमलेशको बायाँ पिठ्युँमा गोली लागेको थियो।
विराट नर्सिङ होममा देवानगञ्ज–३ का २५ वर्षीय सुनील मेहता, देवानगञ्ज–४ का १८ वर्षीय अमितकुमार यादव तथा २६ वर्षीय सुनील मेहता उपचाररत छन्। अमितकुमारको कम्मरमा, २६ वर्षीय सुनीलको बायाँ कुहिनामा र २५ वर्षीय सुनीलको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ।
१० साउनमा दुई समुदायबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले गोली चलाएको थियो। उक्त घटनापछि तनाव बढ्दै जाँदा विरोध प्रदर्शनका क्रममा सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर गणेश यादवको पनि मृत्यु भएको थियो। देवानगञ्ज घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ।

