सप्तरीबाट खैरो हेरोइन ल्याएर काठमाडौँमा बेच्ने गिरोहका तीन जना नयाँ बसपार्कको गेष्ट हाउसबाट पक्राउ

काठमाडौँ— सप्तरीबाट खैरो हेरोइन काठमाडौं ल्याई संगठित रूपमा कारोबार गर्दै आएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। नयाँ बसपार्क क्षेत्रलाई आधार बनाएर लागुऔषध बिक्री–वितरण गरिरहेको समूहबाट ४३ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रण ब्युरोका एसपी दुर्गाराज रेग्मीका अनुसार पक्राउ पर्नेमा ओखलढुंगाका ३४ वर्षीय हितबहादुर बस्नेत, सप्तरीको राजगढ गाउँपालिका–७ का १९ वर्षीय रामकृष्ण शर्मा र धनुषाको जनकनन्दिनी गाउँपालिका–३ का २१ वर्षीय धनञ्जय पासवान रहेका छन्।

प्रहरीका अनुसार हितबहादुर बस्नेत काठमाडौंको नयाँ बसपार्कस्थित एक गेष्ट हाउसमा बसेर खैरो हेरोइन बिक्री गर्ने मुख्य भूमिकामा थिए। उनी स्कुल बस चालकको रूपमा समेत कार्यरत रहेको अनुसन्धानबाट खुलेको छ।

अनुसन्धानका क्रममा धनञ्जय पासवान सप्तरीबाट भुजाको बोराभित्र लुकाएर खैरो हेरोइन काठमाडौंसम्म ल्याउने कार्यमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ। उनी आइटी इन्जिनियरिङ अध्ययनरत विद्यार्थी भएको पनि प्रहरीको भनाइ छ।

यस्तै, रामकृष्ण शर्माले राइड–सेयरिङ सेवा ‘इनड्राइभ’ मार्फत लागुऔषध मगाएर खरिद गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार कारोबारी र खरिदकर्ताबीच प्रत्यक्ष भेट नहुने गरी राइड–सेयरिङ सेवाको प्रयोग गरेर लागुऔषध र रकम आदान–प्रदान गर्ने नयाँ शैली अपनाइएको थियो।

एसपी रेग्मीका अनुसार हालसम्म कम्तीमा पाँच पटक यस्तै तरिकाबाट कारोबार भएको देखिएको छ। लागुऔषध पठाउने, ल्याउने र खरिद गर्ने पक्षहरू आमनेसामने नभई राइड–सेयरिङ सेवामार्फत डेलिभरी र भुक्तानी हुने गरेको अनुसन्धानमा भेटिएको उनले बताए।

प्रहरीले बरामद भएको ४३ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका तीनै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ। साथै, यस नेटवर्कमा संलग्न अन्य व्यक्तिको खोजी तथा कारोबारको सञ्जाल पहिचान गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट