स्पेसएक्सको निष्क्रिय रकेट आज चन्द्रमामा ठोक्किने, नयाँ खाडल बन्ने अनुमान

काठमाडौँ— अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्सको एक निष्क्रिय फाल्कन–९ रकेटको माथिल्लो भाग (अपर स्टेज) आज (बुधबार) चन्द्रमाको सतहमा ठोक्किने अनुमान गरिएको छ। वैज्ञानिकहरूका अनुसार करिब २.४३ किलोमिटर प्रतिसेकेन्ड (झण्डै ८,७०० किलोमिटर प्रतिघण्टा वा ५,४०० माइल प्रतिघण्टा) को गतिमा हुने यो अनियोजित ठक्करले चन्द्रमाको आइन्स्टाइन क्रेटर नजिक नयाँ खाडल बनाउने अपेक्षा गरिएको छ।

नासाको सेन्टर फर नियर–अर्थ अब्जेक्ट स्टडिजका अनुसार उक्त रकेट सन् २०२५ जनवरी १५ मा दुई निजी चन्द्र ल्यान्डरलाई अन्तरिक्षतर्फ प्रक्षेपण गर्न प्रयोग गरिएको फाल्कन–९ रकेटको माथिल्लो चरण हो। मिशन पूरा गरेपछि यो अन्तरिक्षमै अनियन्त्रित रूपमा घुमिरहेको थियो र अन्ततः चन्द्रमासँग ठोक्किने मार्गमा पुगेको हो।

नासाका प्रवक्ता जिमी रसेलले यस घटनाले पृथ्वीलाई कुनै जोखिम नरहेको स्पष्ट पार्दै ठक्करपछि बन्ने प्रभाव क्षेत्रको वैज्ञानिक अध्ययन गरिने बताएका छन्। उनका अनुसार यस्तो घटना चन्द्रमाको सतह, धुलो र कृत्रिम अन्तरिक्ष फोहोरको प्रभावबारे थप जानकारी संकलन गर्ने अवसर पनि हुनेछ।

वैज्ञानिकहरूको अनुमानअनुसार करिब १२ मिटर लामो र झण्डै ४,००० देखि ४,५०० किलोग्राम तौल भएको यो रकेटको भाग ठोक्किँदा करिब २७ मिटर चौडा र करिब ५ मिटर गहिरो नयाँ खाडल बन्न सक्छ। ठक्करबाट उत्पन्न हुने धुलो र भग्नावशेषको मुस्लो केही मिनेटसम्म अन्तरिक्षमा फैलिन सक्ने र उपयुक्त टेलिस्कोपबाट अवलोकन गर्न सकिने अपेक्षा गरिएको छ।

यस घटनाको अवलोकनका लागि नासाको लुनार रिकोनिसन्स अर्बिटर (एलआरओ) र दक्षिण कोरियाको दानुरी चन्द्र अर्बिटर परिचालन गरिएको छ। दानुरीले ठक्कर हुनुअघि र त्यसपछिको क्षेत्रको तस्बिर संकलन गर्ने तयारी गरेको वैज्ञानिकहरूले बताएका छन्।

उक्त रकेटले प्रक्षेपण गरेको दुई चन्द्र ल्यान्डरमध्ये फायरफ्लाई एरोस्पेसको ब्लु घोस्ट सफलतापूर्वक चन्द्रमामा अवतरण गरेको थियो भने जापानको आईस्पेसको ल्यान्डर दुर्घटनाग्रस्त भएको थियो।

लस आलामोस नेसनल ल्याबोरेटरीका वैज्ञानिक बेन्जामिन फर्नान्डोका अनुसार यस घटनाले चन्द्रमामा भविष्यमा सञ्चालन हुने मानव तथा रोबोटिक अभियानका लागि अन्तरिक्ष फोहोरबाट उत्पन्न हुन सक्ने जोखिमबारे अध्ययन गर्न महत्वपूर्ण आधार प्रदान गर्नेछ।

वैज्ञानिकहरूका अनुसार यो चन्द्रमामा अनियन्त्रित रूपमा ठोक्किने दोस्रो चर्चित कृत्रिम अन्तरिक्ष वस्तु हो। यसअघि सन् २०२२ मा पनि एक रकेटको भाग चन्द्रमामा ठोक्किएको थियो। अन्तरिक्ष गतिविधि तीव्र बन्दै गएकाले भविष्यमा यस्ता निष्क्रिय रकेटका भाग व्यवस्थापन गर्नु अन्तरिक्ष सुरक्षाको महत्वपूर्ण चुनौती बन्ने विज्ञहरूको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट