रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिँदा भीषण आगलागी

रौतहट— पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनाग्रस्त भई आगलागी भएको छ। बिहीबार बिहान करिब साढे ५ बजे अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको ट्याङ्कर पल्टिएलगत्तै आगो लागेको हो।

मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्यांकर दुर्घटनामा परेको हो। उक्त ट्याङ्करमा करिब १२ हजार लिटर पेट्रोल थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरका अनुसार ट्याङ्कर अकस्मात पल्टिएपछि त्यसमा आगलागी भएको हो।

घटनामा कुनै मानवीय क्षति नभएको र चालक सुरक्षित रूपमा बाहिर निस्किन सफल भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि घटनास्थलमा सुरक्षा सतर्कता अपनाइएको छ भने आगलागी नियन्त्रण तथा थप जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकाय परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान अघि बढाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट