सप्तरीमा पोल्ट्री फर्मको नाङ्गो तारमा करेन्ट लागेर २ वर्षीय बालकको मृत्यु प्रकरणः फर्म सञ्चालक पक्राउ

राजविराज— पोल्ट्री फर्म परिसरमा लापरबाहीपूर्वक छाडिएको नाङ्गो विद्युतीय तारमा करेन्ट लागेर २ वर्षीय बालकको मृत्यु भएको घटनामा सप्तरी प्रहरीले फर्म सञ्चालकलाई पक्राउ गरेको छ। ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउँदै प्रहरीले कञ्चनरूप नगरपालिका–११ का ४४ वर्षीय प्रथमलाल धामीलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गत साउन २ गते बिहान करिब ९ बजे कञ्चनरूप नगरपालिका–११ स्थित प्रतिवादीको पोल्ट्री फर्ममा पुगेका २ वर्षीय प्रतिक धामीलाई त्यहाँ रहेको नाङ्गो तारमा करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको थियो। बालक कुखुरा हेर्न फर्मभित्र पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनापछि मृतकका पिता सन्तकुमार धामीले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएपछि ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको थियो। प्रहरीका अनुसार अनुसन्धानको क्रममा पोल्ट्री फर्म सञ्चालक प्रथमलाल धामीलाई साउन १९ गते पक्राउ गरिएको हो। सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा लापरबाहीका कारण बालकको मृत्यु भएको आरोपमा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट