रसुवामा सेनाको व्यारेकभित्र म्याद गुज्रिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, ५ जना घाइते
काठमाडौं — रसुवाको आमाछोदिङमो गाउँपालिका–४ मानसिङमा म्याद गुज्रिएको विस्फोटक पदार्थ व्यवस्थापनका लागि लैजाने क्रममा विस्फोट हुँदा नेपाली सेनाका ५ जना घाइते भएका छन्। नेपाली सेनाको श्रीनाथ गणबाट विस्फोटक पदार्थ डिस्पोज गर्न लैजाने क्रममा घटना भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
घाइतेहरूको उद्धारका लागि हेलिकप्टर घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी अशोक थापाले जानकारी दिए। उनका अनुसार घटनाको सूचना प्राप्त भएपछि प्रहरी टोली पनि घटनास्थलतर्फ परिचालन गरिएको छ। घटनास्थलको भौगोलिक अवस्थाका कारण उद्धार तथा प्रारम्भिक अनुसन्धानका लागि प्रहरी टोली त्यहाँ पुग्ने क्रममा रहेको उनले बताए।
म्याद गुज्रिएको विस्फोटक पदार्थलाई सुरक्षित रूपमा डिस्पोज गर्ने उद्देश्यले लैजाँदै गर्दा अचानक विस्फोट भएको प्रारम्भिक विवरण प्रहरीले दिएको छ। यद्यपि विस्फोटको कारण, विस्फोटक पदार्थको प्रकार, घाइतेहरूको अवस्था र घटनाबाट भएको अन्य क्षतिबारे विस्तृत विवरण भने अझै सार्वजनिक भएको छैन।
श्रीनाथ गणका गणपतिले तत्काल व्यस्त रहेको बताउँदै पछि विवरण उपलब्ध गराउने बताएका छन्। प्रहरीका अनुसार घटनाको थप विवरण घटनास्थलमा टोली पुगेपछि मात्रै स्पष्ट हुनेछ। अहिले घाइतेहरूको उद्धार र उपचारलाई प्राथमिकतामा राखिएको छ।

