प्रधानमन्त्री बनेपछि पहिलोपटक भारतीय राजदूत श्रीवास्तवसँग बालेन्द्रको वान टु वान वार्ता

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र साहले प्रधानमन्त्री बनेपछि पहिलोपटक एक जना विदेशी राजदूतसँग एक्लै शिष्टाचार भेटवार्ता गरेका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भएको भेटलाई साहको यसअघिको भेटघाट शैलीका कारण पनि चासोका साथ हेरिएको छ।

प्रधानमन्त्री साहले यसअघि प्रोटोकल नमिल्ने भन्दै विदेशी राजदूतलाई एक्लाएक्लै शिष्टाचार भेटको समय दिएका थिएनन्। त्यसक्रममा दुईपटक विदेशी राजदूतहरूले प्रधानमन्त्रीसँग संयुक्त रूपमा शिष्टाचार भेटवार्ता गरेका थिए।

सोमबार भने भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री साहसँग एक्लै भेटवार्ता गरेका हुन्। प्रधानमन्त्री भएपछि कुनै विदेशी राजदूतसँग भएको यो उनको पहिलो एकल शिष्टाचार भेटवार्ता भएको बताइएको छ।

भेटका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, विकास साझेदारी तथा दुई देशबीचको सहकार्यका विभिन्न विषयमा छलफल भएको छ। राजदूत श्रीवास्तवले प्रधानमन्त्री साहलाई नयाँ जिम्मेवारीका लागि शुभकामना दिँदै नेपाल र भारतबीचको सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री साहले पनि नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा दुई देशले सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन्। प्रधानमन्त्रीसँगको भेटमा भारतीय राजदूतले दुई देशबीचको सम्बन्ध र विकास साझेदारीलाई प्राथमिकतामा राखेको सन्देश दिएका छन् भने प्रधानमन्त्री साहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई निरन्तरता दिँदै साझा हितका क्षेत्रमा सहकार्यको आवश्यकता औँल्याएका छन्।

यसैबीच, सोमबार नै नेपालका लागि चिनियाँ राजदूतले पनि प्रधानमन्त्री साहसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भारतीय राजदूतसँगको भेटपछि चिनियाँ राजदूतसँग हुने भेटले प्रधानमन्त्री साहको नेतृत्वमा नेपालका दुई प्रमुख छिमेकीसँगको प्रारम्भिक कूटनीतिक संवादलाई थप चासोको विषय बनाएको छ।

तर, भारतीय राजदूतसँगको सोमबारको भेटको विशेष पक्ष भने प्रधानमन्त्री साहले यसअघि अवलम्बन गरेको भेटघाटको प्रोटोकलभन्दा फरक ढंगले एक जना विदेशी राजदूतसँग एकल शिष्टाचार भेटवार्ता गर्नु हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट