बँदेल काटिरहेको अवस्थामा नगरपालिकाका एम्बुलेन्स चालकसहित ४ जना पक्राउ, चालक थुनिएपछि एम्बुलेन्स घरमै थन्कियो

राजविराज– जंगली बँदेल काटेर भाग लगाइरहेको अवस्थामा सप्तरीको सप्तकोशी नगरपालिकाका एम्बुलेन्स चालक पदम श्रेष्ठसहित चार जना पक्राउ परेपछि नगरपालिकाको एम्बुलेन्स सेवा नै प्रभावित भएको छ। कोशी टप्पु वन्यजन्तु आरक्षको सुरक्षाकर्मी टोलीले गत २० साउनमा सप्तकोशी नगरपालिका–४, बलार्दहस्थित तुलसीचोक नजिकबाट उनीहरूलाई पक्राउ गरेको हो।

स्थानीयका अनुसार सुनसरीको वराहक्षेत्र नगरपालिका–८ बाट बँदेल किनेर ल्याईएको थियो। बँदेल ल्याएर काट्दै भाग लगाउने क्रममा आरक्षका सुरक्षाकर्मी त्यहाँ पुगेपछि श्रेष्ठसहितका तीन जनालाई तत्काल नियन्त्रणमा लिइएको र पछि थप एक जनालाई पनि पक्राउ गरिएको स्थानीयको भनाइ छ।

घटनापछि पक्राउ परेका एम्बुलेन्स चालक श्रेष्ठको घरमै नगरपालिकाको एम्बुलेन्स थन्किएको छ। चालक पक्राउ परेपछि वैकल्पिक चालकको व्यवस्था गरेर एम्बुलेन्स सञ्चालनमा ल्याउन नसक्दा बिरामी नगरवासीलाई समस्या परेको स्थानीय तथा नगरपालिकाका कार्यपालिका सदस्यहरूले बताएका छन्।

कार्यपालिका सदस्यहरूका अनुसार एम्बुलेन्स कार्यालयमा ल्याएर नियमित सेवा सञ्चालन गर्न नगरप्रमुख कृष्णप्रसाद ढकाललाई पटक–पटक आग्रह गरिएको थियो। तर, त्यसतर्फ नगरप्रमुखले आवश्यक चासो नदेखाएको उनीहरूको आरोप छ। नगरवासीको अत्यावश्यक स्वास्थ्य सेवासँग जोडिएको एम्बुलेन्स लामो समय घरमै थन्किँदा बिरामी तथा आकस्मिक उपचार आवश्यक पर्ने सेवाग्राही प्रभावित भएका छन्।

स्थानीयका अनुसार नगरप्रमुख ढकाल भने पक्राउ परेका चालकका विषयमा बुझ्न भन्दै आरक्षमा पटक–पटक पुगिरहेका छन्। तर चालक पक्राउ परेपछि खाली रहेको एम्बुलेन्समा अर्को चालकको व्यवस्था गरी कार्यालयबाटै सेवा सञ्चालन गर्ने विषयमा भने नगरपालिकाले प्रभावकारी कदम नचालेको उनीहरूको भनाइ छ।

यस विषयमा नगरप्रमुख ढकालको प्रतिक्रिया लिन पटक–पटक सम्पर्क गर्ने प्रयास गरिएको थियो। कार्यालयबाट उपलब्ध गराइएको ९८५२८२०९७६ नम्बरमा फोन गर्दा उनले फोन उठाएनन्।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले भने एम्बुलेन्स चालक पक्राउ परेको पुष्टि गरेका छन्। उनका अनुसार चालक पक्राउ परेपछि अर्को चालक उपलब्ध नभएकै कारण एम्बुलेन्स कार्यालयमा नल्याइएको हुन सक्ने सम्भावना छ। यद्यपि, एम्बुलेन्स चालक पक्राउ परेको अवस्थामा वैकल्पिक व्यवस्था किन गरिएन भन्ने विषयमा उनले यकिन कारण खुलाउन सकेनन्।

यसैबीच, जंगली बँदेल काटिरहेको अवस्थामा नगरपालिकाका चालकसहित चार जना पक्राउ परेको घटनाबारे कोशी टप्पु वन्यजन्तु आरक्षको आधिकारिक धारणा लिन पनि प्रयास गरिएको थियो। तर आरक्षको ९८५२०५५४०५ नम्बरमा सम्पर्क गर्दा मोबाइल स्विच अफ रहेको पाइयो।

यसकारण पक्राउ परेका चार जनामाथि आरक्षले कुन कानुनी प्रक्रियाअन्तर्गत अनुसन्धान अघि बढाएको हो, उनीहरूबाट के–कस्ता सामग्री बरामद भए र बँदेल कहाँबाट ल्याइएको थियो भन्ने विषयमा आरक्षको आधिकारिक विवरण भने तत्काल प्राप्त हुन सकेन।

तर घटनाको अर्को पाटो नगरपालिकाको सार्वजनिक सेवासँग जोडिएको छ। एउटा आपराधिक अनुसन्धानमा एम्बुलेन्स चालक पक्राउ पर्नु आफैंमा अनुसन्धानको विषय भए पनि त्यसकै कारण नगरपालिकाको अत्यावश्यक स्वास्थ्य सेवा अवरुद्ध हुनु र वैकल्पिक चालकको व्यवस्था नहुनु स्थानीय प्रशासनिक व्यवस्थापनमाथि प्रश्न बनेको छ।

विशेषगरी आकस्मिक बिरामी ओसारपसारका लागि प्रयोग हुने एम्बुलेन्स व्यक्तिगत घरमा थन्किएर बस्दा त्यसको प्रत्यक्ष असर सेवाग्राहीमाथि पर्छ। चालकविरुद्धको अनुसन्धान आफ्नो प्रक्रियामा अघि बढिरहँदा नगरपालिकाले भने सार्वजनिक प्रयोजनका लागि उपलब्ध एम्बुलेन्सलाई तत्काल सञ्चालनमा ल्याउने वैकल्पिक व्यवस्था गर्नुपर्ने देखिन्छ। तर हालसम्म त्यस्तो व्यवस्था गरिएको छैन। एम्वुलेन्स अहिले पनि चालकको घरमै थन्किएको कार्यपालिका सदस्यहरुले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट