रोल्पाको पहिरोपछि प्यूठानका खोलामा पाँच शव, १० बेपत्तामध्येका हुन सक्ने आशंका
काठमाडौँ— रोल्पाको थबाङमा पहिरोले १० जनालाई बेपत्ता बनाएको केही घण्टामै प्यूठानका विभिन्न खोला किनारमा पाँच जनाको शव भेटिएको छ। ती शव पहिरोमा बेपत्ता भएकाहरूकै हुन सक्ने आशंका गरिएको छ।
प्यूठानमा मानिस हराएको वा त्यस्तो ठूलो बाढी–पहिरोको घटना नभएकाले रोल्पाको लुंगी खोलामा आएको बाढीले पहिरोमा परेका मानिस तथा शवलाई माडी र लुङ्ग्री खोलातर्फ बगाएर प्यूठानसम्म ल्याएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डीएसपी नरहरि अधिकारीले प्यूठानका विभिन्न स्थानबाट पाँच शव फेला परेको पुष्टि गरे। उनका अनुसार फेला परेका शवको तत्काल सनाखत हुन सकेको छैन। शवका तस्वीर रोल्पा प्रहरीलाई पठाइएको छ र त्यहाँ पहिरोमा बेपत्ता भएका व्यक्तिहरूको विवरणसँग मिलाएर पहिचान गर्ने प्रयास भइरहेको छ।
‘यहाँ मानिस हराएको वा पहिरो गएको छैन । त्यसकारण माथि रोल्पाबाट पहिरोमा परेकाहरूका शव बगेर यहाँ आएको हुन सक्ने अनुमान गरेका छौँ,’ डीएसपी अधिकारीले भने। बिहीबार बिहान करिब साढे ७ बजे स्वर्गद्वारी नगरपालिका–९ जुडापाटीस्थित माडी खोला किनारमा अन्दाजी १३ वर्षीय बालकको शव भेटिएको थियो।
त्यसपछि स्वर्गद्वारी–३ किमिचौरस्थित माडी खोला किनारमा टाउकोभन्दा माथिको भाग नभएको अवस्थामा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। स्वर्गद्वारी–४ गोठीबाङस्थित माडी खोला किनारमा पनि एक महिलाको शव भेटिएको छ। त्यस्तै बिहान करिब साढे ९ बजे स्वर्गद्वारी–५ सरोजास्थित लुङ्ग्री खोला किनारमा टाउको तथा खप्पर नभएको र बायाँ खुट्टाको घुँडादेखि तलको भाग नभएको अवस्थामा अर्को महिलाको शव फेला परेको थियो।
बिहान १० बजेपछि माण्डवी गाउँपालिका–५ अर्थौसस्थित खोला किनारमा थप एक पुरुषको शव भेटिएको डीएसपी अधिकारीले जानकारी दिए। यससँगै प्यूठानका विभिन्न खोला किनारबाट फेला परेका शवको संख्या पाँच पुगेको हो।
रोल्पा प्रहरीका अनुसार थबाङ गाउँपालिका–५ कोटलबारामा गएराति अविरल वर्षापछि गएको पहिरोमा १० जना बेपत्ता भएका थिए। घटनास्थलबाट थप एक जनाको शव फेला परेपछि पहिरोमा मृत्यु हुनेको संख्या तीन पुगेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार घटनास्थलबाट ७१ वर्षीया मनरखी पुन मगरको शव फेला परेको हो। यसअघि पहिरोमा परी दुई जनाको मृत्यु भएको पुष्टि भएको थियो। घटनामा ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीय मनि पुन मगर र ६७ वर्षीया हस्तकला रोका मगर बेपत्ता रहेको प्रहरीले जनाएको छ।
रोल्पाका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले पनि थबाङको पहिरोमा बेपत्ता भएकाहरूका शव प्यूठानमा भेटिएको हुन सक्ने सम्भावना रहेको बताए।
उनका अनुसार रोल्पाको लुंगी खोला माडी खोलामा मिसिन्छ। त्यसैले पहिरोपछि आएको बाढीले मानिस तथा शवलाई खोलाको बहावसँगै प्यूठानसम्म ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ।
‘लुंगी खोला माडीमै मिसिन्छ । त्यसैले गएराति पहिरोले बगाएर बेपत्ता भएकाहरूका शव प्यूठानमा भेटिएको हुन सक्ने सम्भावना धेरै छ । यसबारे थप अनुसन्धान भइरहेको छ,’ प्रहरी निरीक्षक श्रेष्ठले भने।
प्यूठानका डीएसपी अधिकारीले पनि थबाङको घटनासँग जोडेर शवको पहिचान र घटनाको अनुसन्धान भइरहेको बताए। उनका अनुसार प्यूठानमा मानिस हराएको वा बाढी–पहिरोको समान प्रकृतिको घटना नदेखिएकाले रोल्पाबाट शव बगेर आएको हुन सक्ने कोण बलियो देखिएको हो।
यद्यपि प्यूठानमा फेला परेका पाँचै शव थबाङ पहिरोमा बेपत्ता १० जनामध्येका हुन् भन्ने पुष्टि भइसकेको छैन। शवको अवस्था, तस्वीर र रोल्पामा बेपत्ता व्यक्तिहरूको विवरणबीच मिलान गरेर मात्रै पहिचान खुल्ने प्रहरीले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखसहितको टोली रोल्पाको घटनास्थलमा पुगेर बेपत्ताको खोजीमा जुटेको छ। उता प्यूठानमा फेला परेका शवबारे पनि प्रहरीले छुट्टाछुट्टै स्थानमा अनुसन्धान अघि बढाएको जनाएको छ।
लोकप्रिय
सर्लाहीमा अनुपस्थित शिक्षिकाको किर्ते हाजिरी बनाएर तलब निकासा, पूर्वप्रधानाध्यापक र शिक्षिकाविरुद्ध मुद्दा

