सप्तरीमा छोरी मात्र जन्माएको निहुँमा बुहारीलाई विष खुवाएर हत्या गरेको आरोपमा ससुरा पक्राउ
राजविराज– सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनमा बुहारीले छोरी मात्र जन्माएको भन्दै पटक–पटक यातना र कुटपिट गरी जबर्जस्ती विष सेवन गराएर हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीय बद्री दासलाई पक्राउ गरेको छ।
प्रहरीले घटनाको करिब पाँच वर्षपछि उनलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बोदेबर्साइन नगरपालिका–८ काचन टोलका दासलाई साउन २६ गते सोही क्षेत्रबाट पक्राउ गरिएको हो।
उनीविरुद्ध मृतक शिवकुमारी दासका बुबा रामदेव दासले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कडरबोनामा मुद्दा दर्ता भएको छ। प्रहरीका अनुसार घटना ०७७ कात्तिक १७ गते राति करिब साढे १२ बजे काचनमा भएको थियो।
त्यतिबेला करिब २५ वर्षीया शिवकुमारी दासलाई उनका ससुरा बद्री दासले छोरी मात्र जन्माएको निहुँमा पटक–पटक यातना दिने र कुटपिट गर्ने गरेको आरोप छ। सोही क्रममा बद्रीले शिवकुमारीलाई जबर्जस्ती विष सेवन गराएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ। घटनापछि उनी फरार रहेको र लामो समयदेखि प्रहरीले खोजी गरिरहेको थियो।
खोजतलासका क्रममा बद्रीलाई बोदेबर्साइन नगरपालिका–८ काचन टोलबाट फेला पारेर पक्राउ गरिएको प्रहरीले जनाएको छ। मृतक शिवकुमारीका बुबा रामदेव दास कञ्चनरूप नगरपालिका–३, सप्तरीका बासिन्दा हुन्। उनले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको हो।
पक्राउ परेका बद्रीलाई सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ। अदालतले ८३ साउन २६ गतेदेखि लागू हुने गरी पाँच दिनको म्याद दिएपछि प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हेमराज घिमिरेले जानकारी दिएका छन्।

