छोराको हत्या भएको खबर सुनेपछि आमाको पनि मृत्यु, दाङको परिवारमा एकैदिन बज्रियो दोहोरो शोक
काठमाडौँ– काठमाडौंमा अध्ययनका लागि छात्रावासमा बसेका २० वर्षीय वसन्त कालाथोकीको हत्या भएको खबरले दाङमा उनकी आमाको समेत ज्यान गएको छ। काठमाडौं महानगरपालिका–१० शंखमुलस्थित ‘भ्याली ब्वाइज होस्टल’मा शुक्रबार कुटपिट र धारिलो हतियार प्रहारबाट छोराको हत्या भएको खबर सुनेपछि घोराही उपमहानगरपालिका–१७ जनप्रिय टोलकी ३८ वर्षीया आमा बिना कालाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रहरीका अनुसार वसन्तमाथि होस्टलभित्रै कुटपिट तथा धारिलो हतियार प्रहार भएको थियो। गम्भीर घाइते भएका उनलाई अचेत अवस्थामा उद्धार गरी अस्पताल पु¥याइएकोमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
छोराको मृत्युको खबर घरमा पुगेपछि आमा बिना अचेत भएकी थिइन्। त्यसपछि उनको पनि मृत्यु भएको प्रहरीको प्रारम्भिक भनाइ छ। जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी हेमबहादुर केसीले प्रारम्भिक जानकारीअनुसार जेठो छोराको हत्या भएको खबरको पीडा सहन नसकेका कारण आमाको मृत्यु भएको देखिएको बताए।
‘इन्फर्मेसन दिनेले अलि मिलाएर दिनुपर्ने थियो, काखमा एउटा सानो छोरो रहेछ,’ डीएसपी केसीले भने, ‘जेठा छोराको हत्याको घटना सहन नसकेर आमाको मृत्यु भएको देखिन्छ।’ वसन्त परिवारका जेठा छोरा थिए। उनी अध्ययनका लागि विदेश जाने तयारीमा थिए। त्यसकै लागि काठमाडौंमा बसेर आवश्यक तयारी गरिरहेका उनलाई होस्टलभित्रै भएको आक्रमणले ज्यान लिएको हो।
वसन्तको हत्या आरोपमा प्रहरीले सोही छात्रावासमा बस्दै आएका दुई युवालाई नियन्त्रणमा लिएको छ। घटनाबारे काठमाडौं प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार आक्रमणबाट गम्भीर घाइते भएका वसन्तलाई तत्काल अस्पताल पु¥याइएको थियो। तर चिकित्सकले उनलाई बचाउन सकेनन्।
उता, दाङमा भने छोराको मृत्युको खबरसँगै परिवार अर्को असह्य क्षतिमा परेको छ। कानुनी प्रक्रिया पूरा गरी प्रहरी टोलीले घटनाको मुचुल्का तयार पारेपछि बिना कालाथोकीको शव घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।
बिनाका श्रीमान् विदेशमा रहेको प्रहरीले जनाएको छ। उनी नेपाल फर्किएपछि मात्रै शवको अन्त्येष्टि गरिने भएकाले शव अस्पतालमै राखिएको छ। घोराही उपमहानगरपालिका–१७ का वडाध्यक्ष राम लौटन चौधरीले घरको जेठो सन्तानको हत्या भएको खबरबाट उत्पन्न गहिरो पीडा सहन नसक्दा परिवारमा अर्को दुःखद् घटना भएको बताए।
एकातिर विदेश जाने तयारीमा रहेका छोराको काठमाडौंमा भएको हत्या, अर्कोतिर त्यही घटनाको खबर सुनेपछि आमाको मृत्यु। कालाथोकी परिवारमाथि एकै घटनाले दोहोरो बज्रपात परेको छ। घटनाको आपराधिक पाटोबारे काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको छ भने आमाको मृत्युको कारणबारे दाङ प्रहरीले प्रारम्भिक रूपमा छोराको मृत्युको खबरबाट परेको मानसिक आघातलाई कारण मानेको छ।

