ओलीको दाबी– ‘बालेन नेतृत्वको सरकार पाँच वर्ष कुनै हालतमा टिक्दैन’

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालेन साह नेतृत्वको वर्तमान सरकार लोकतान्त्रिक र संवैधानिक प्रक्रियाबाट नभई ‘अराजकता’ र ‘विदेशी शक्तिको आडभरोसा’मा बनेको आरोप लगाउँदै यसको आयु पाँच वर्ष नपुग्दै समाप्त हुने दाबी गरेका छन्।

भक्तपुरको नगरकोटमा शनिबारदेखि सुरु भएको एमालेको जनसंगठन समन्वय संयन्त्र कार्यशालालाई सम्बोधन गर्दै ओलीले सरकारमाथि संविधान मिचेको, लोकतन्त्र अपहरण गरेको र जनतालाई त्रसित बनाएर सत्ता सञ्चालन गरेको आरोप लगाए। उनले वर्तमान राजनीतिक अवस्थालाई सच्याउन एमालेले निर्णायक भूमिका खेल्नुपर्ने भन्दै पार्टी पंक्तिलाई आवश्यक तयारीमा रहनसमेत निर्देशन दिए।

ओलीले निर्वाचनबाट बहुमत प्राप्त भएको दाबी गर्दैमा सरकारले पाँच वर्षसम्म मनपरी गर्न पाउने अधिकार नहुने बताए। उनले भने, ‘बहुमत आयो भन्दैमा पाँच वर्ष लुटमार गर्न दिएको हो र ?’ उनको आरोपमा सरकार गठनको प्रक्रियामाथि समेत प्रश्न थियो। जनतालाई डर, त्रास र दबाबमा राखेर बहुमत देखाइएको दाबी गर्दै ओलीले भने, ‘हाटहुट, लाटलुट, जनतालाई तर्साएर, थर्काएर, बोल्न नसक्ने बनाएर, जेसुकै गरेर, बाकस साटेर ल्याएर, बहुमत ल्याएको देखाइयो।’

ओलीले वर्तमान सरकार कुन विदेशी वा बाह्य शक्तिको समर्थनमा चलेको हो भन्ने आफूलाई चासो नभएको बताए। तर त्यस्तो शक्तिको आडमा सरकार सञ्चालन भइरहेको भए पनि एमाले त्यसबाट नडराउने उनको भनाइ थियो। ‘यो सरकार तपाईंहरूलाई भन्दिएँ– पाँच वर्ष कुनै हालतमा जाँदैन,’ ओलीले भने।

‘सही कुरा बोल्दा पनि सामाजिक सञ्जालमा आक्रमण’
ओलीले वर्तमान शासन व्यवस्थाले नागरिकमा भयको वातावरण सिर्जना गरेको आरोप लगाए। सामाजिक सञ्जालमा सरकार वा सत्तासँग असहमत धारणा राख्नेहरूलाई संगठित रूपमा गालीगलौज र आक्रमण हुने गरेको उनको दाबी थियो।

उनले भने, ‘हरेकको मनमा त्रास छ । एउटा स्टाटस लेख्नुस् त कति गाली आउँछ । सही कुरा बोल्नै हुँदैन, हुल्याहाहरूको आक्रमण सुरु भइहाल्छ।’ उनका अनुसार यस्तो वातावरण लोकतन्त्रको आधारभूत मान्यतासँग मेल खाँदैन। लोकतन्त्रमा नागरिकले आफ्नो धारणा स्वतन्त्र रूपमा राख्न पाउनुपर्ने भन्दै ओलीले एमाले कार्यकर्तालाई डराएर बस्नुभन्दा तथ्यका आधारमा जनजीविकाका मुद्दामा उभिन आग्रह गरे।

व्यवसायीको कारोबार रोक्दा अर्थतन्त्रमा असर पर्ने चेतावनी
ओलीले सरकारमाथि राज्य संयन्त्रको प्रयोग गरी व्यवसायी तथा विपक्षी समर्थकमाथि प्रतिशोध साधेको आरोपसमेत लगाए। विशेषगरी बैंक खाता रोक्का गर्ने तथा व्यवसायको कारोबार बन्द गराउनेजस्ता कदमले समग्र अर्थतन्त्रमा असर पार्ने उनको दाबी थियो।

कुनै व्यवसायीको कारोबार रोकिँदा त्यसको प्रभाव व्यवसायीमा मात्र सीमित नहुने भन्दै उनले उद्योग, मजदुर, बैंकबाट लिइएको ऋण र घरभाडासम्म असर पुग्ने बताए। सरकारले राज्य शक्तिको प्रयोग राजनीतिक प्रतिशोधका लागि गर्न नहुने ओलीको भनाइ थियो।

‘ओलीलाई थुनेर अरूलाई तर्साउन खोजियो’
आफूमाथि दबाब सिर्जना गरेर एमालेका नेता–कार्यकर्तालाई त्रसित बनाउन खोजिएको आरोप पनि ओलीले लगाए। आफूले विगतमा धेरै राजनीतिक चुनौती सामना गरिसकेको भन्दै अहिलेका आलोचना वा धम्कीबाट नडराउने उनले बताए।

‘मैले यस्ता बारुला मात्रै होइन, कति अरिङ्गाल खाएको छु,’ ओलीले भने, ‘यी बारुलासँग म डराउँछु भन्ने कुरा उनीहरूलाई पनि लाग्दैन।’ उनका अनुसार आफूलाई पक्राउ गरेर वा थुनामा राखेर अरूलाई मनोवैज्ञानिक रूपमा त्रसित पार्ने प्रयास हुन सक्ने भए पनि त्यस्ता कदमले आफूहरूलाई पछि नहटाउने बताए।

‘केपी ओलीलाई समातेर थुनियो भने अरूको के हुन्छ भनेर थर्कमान बनाउन खोजियो,’ उनले भने।

‘अपहरित लोकतन्त्र फिर्ता ल्याउनुपर्छ’
ओलीले वर्तमान अवस्थालाई लोकतन्त्र अपहरण भएको अवस्थाका रूपमा चित्रण गरे। संविधानको उल्लंघन भएको आरोप लगाउँदै उनले लोकतान्त्रिक व्यवस्था र संवैधानिक प्रक्रिया पुनः सही दिशामा ल्याउनुपर्ने बताए।

उनले भने, ‘लोकतन्त्र अपहरित भएको छ, संविधान मिचिएको छ । अपहरित लोकतन्त्रलाई फेरि फिर्ता ल्याउनुछ।’ देशलाई अराजकताको बाटोमा अघि बढेको शक्तिको जिम्मा लगाउन नसकिने उनको दाबी थियो। मुलुकको सुशासन, विकास र परराष्ट्र नीतिलाई पुनः सही दिशामा फर्काउन एमालेको नेतृत्व आवश्यक रहेको ओलीले बताए।

रास्वपालाई मत दिएकोमा जनतालाई पश्चात्ताप भइसकेको दाबी
ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मतदान गरेर बहुमत दिएकोमा छोटो समयमै जनताले पश्चात्ताप गर्न थालेको दाबी गरे। उनले सरकारप्रति जनअसन्तुष्टि बढ्दै गएको उल्लेख गर्दै अब जनता स्वयं सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने बताए। त्यसका लागि एमालेको पार्टी पंक्ति तयारी अवस्थामा रहनुपर्ने उनको निर्देशन थियो।

ओलीको सम्बोधनमा वर्तमान सरकारको वैधानिकता, कार्यशैली र राजनीतिक आधारमाथि निरन्तर प्रश्न उठाइएको थियो। तर उनले सरकार पाँच वर्ष नटिक्ने दाबीको आधारमा कुनै विशिष्ट संवैधानिक वा राजनीतिक समयसीमा भने प्रस्तुत गरेनन्।

नगरकोटमा सुरु भएको जनसंगठन समन्वय संयन्त्रको कार्यशाला एमालेका जनसंगठनहरूबीच समन्वय र पार्टीको राजनीतिक परिचालनबारे छलफल गर्ने कार्यक्रम हो। त्यसै कार्यक्रममा ओलीले वर्तमान सरकारविरुद्ध एमालेको राजनीतिक प्रतिरोध र जनपरिचालनको संकेत दिएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट