सप्तरीमा तीन वर्षीया बालिका मृत भेटिएको घटनामा एक जना नियन्त्रणमा
राजविराज — सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा तीन वर्षीया बालिका मृत फेला परेको घटनामा प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। पक्राउ परेका व्यक्तिको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन।
सप्तरी प्रहरीले घटनाको अनुसन्धानका क्रममा एक जनालाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छ। ती व्यक्तिको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
शम्भुनाथ नगरपालिका–३ का स्थानीय इरफानकी तीन वर्षीया छोरी सानिया खातुन आइतबार बिहान करिब ९ बजेपछि घरबाट अचानक बेपत्ता भएकी थिइन्। बालिका हराएको जानकारी पाएपछि परिवारले प्रहरीलाई खबर गर्दै खोजी थालेको थियो।
खोजीका क्रममा घरबाट करिब ६० मिटर पछाडि रहेको झाडीमा बालिका मृत अवस्थामा फेला परेकी थिइन्। बालिकाको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनाको प्रकृति, मृत्युको कारण तथा नियन्त्रणमा लिइएका व्यक्तिको संलग्नताबारे अनुसन्धानबाट थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।
प्रहरीले अनुसन्धान प्रभावित हुन सक्ने भन्दै हालसम्म नियन्त्रणमा लिइएका व्यक्तिको पहिचान र घटनासँग सम्बन्धित अन्य विवरण सार्वजनिक गरेको छैन।

