धनुषामा श्रीमतीको हत्या गरेर भागेका अपराधी पक्राउ

जनकपुर— आफ्नै श्रीमतीको हत्या गरेको कसुरमा उच्च अदालत जनकपुरबाट ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना सजाय पाएर फरार रहेका धनुषाका एक व्यक्ति पक्राउ परेका छन्। लक्ष्मीनियाँ गाउँपालिका–४ का ३५ वर्षीय संजयकुमार यादवलाई प्रहरीले आइतबार सखी बजारबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार यादवलाई फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज (भदौ ७ गते) दिउँसो करिब साढे १२ बजे लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित सखी बजारमा हिँडडुल गरिरहेको अवस्थामा उनलाई फेला पारी नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार यादवले २०८० साउन १५ गते आफ्नै घरको कोठामा श्रीमती रुवी शर्मा ठाकुरलाई ढुंगाले प्रहार गरी हत्या गरेका थिए। घटनापछि उनी फरार रहेका थिए। उक्त मुद्दामा उच्च अदालत जनकपुर, धनुषाले २०८३ जेठ २२ गते फैसला गर्दै यादवलाई ३ वर्ष कैद तथा ३० हजार रुपैयाँ जरिवाना तोकेको थियो।

फैसला भए पनि उनी हालसम्म फरार रहेका कारण प्रहरीले खोजी गरिरहेको थियो। प्रहरीले सखी बजारबाट नियन्त्रणमा लिएपछि यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याएको जनाएको छ। अब अदालतको फैसला कार्यान्वयनका लागि उनलाई सम्बन्धित अदालतमा पेस गर्ने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी ओमप्रकाश खनालले जानकारी दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट