सप्तरीमा प्रहरीको भूमिकामाथि प्रश्नः पक्राउदेखि ‘रिहा’सम्म तस्करीको खेल, बोदेबरसाइनका सई जिल्ला तानिए
राजविराज– भारतबाट भन्सार छली ल्याइएको मोबाइल पाट्र्स र मोटरसाइकलसहित पक्राउ परेका व्यक्तिलाई प्रहरी कार्यालयबाटै छाडिएको विवादमा सप्तरीको इलाका प्रहरी कार्यालय बोदेबरसाइनका प्रमुख (सई) शिवशंकर शर्मा जिल्ला प्रहरी कार्यालय तानिएका छन्।
पक्राउ परेका व्यक्ति र बरामद सामानबारे प्रहरीको आधिकारिक विवरण र स्थानीयले बताएको घटनाक्रमबीच ठूलो अन्तर देखिएपछि उक्त विषयमाथि छानबिन भइरहेको अवस्थामा शर्मालाई शुक्रबार बोदेबरसाइनबाट जिल्ला प्रहरी कार्यालय सप्तरी झिकाइएको हो।
घटना साउन १८ गतेको हो। बोदेबरसाइन नगरपालिका–५ स्थित बोदेबरसाइन गाउँबाट भारतबाट भन्सार छली ल्याइएको मोबाइल पाट्र्स र मोटरसाइकलसहित भरिया सुनिल मण्डललाई स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो। मण्डललाई बरामद सामान र मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय बोदेबरसाइन लगिएको बताइएको छ।
मण्डललाई छुटाउन मुख्य कारोबारी भनिएका देवकुमार यादव पनि प्रहरी कार्यालय पुगेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। तर दुवैलाई अनुसन्धानका लागि हिरासतमा राखेर कानुनी प्रक्रिया अघि बढाउनुको सट्टा प्रहरी कार्यालयबाटै छाडिएको आरोप सार्वजनिक भएपछि घटनाले प्रहरीको भूमिकामाथि प्रश्न उठाएको हो।
घटनाबारे समाचार सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले भने स्थानीयले बताएको घटनाक्रमभन्दा फरक विवरण सार्वजनिक गरेको थियो। जिल्ला प्रहरी कार्यालयले साउन २१ गते जारी गरेको प्रेस विज्ञप्तिमा साउन १९ गते राति करिब साढे १२ बजे बोदेबरसाइन नगरपालिका–५ स्थित शिवचोकबाट नम्बर प्लेट नभएको रातो रङको हिरो एक्स्ट्रिम १६० सीसी मोटरसाइकल र विभिन्न मोबाइलका सामान बरामद भएको उल्लेख गरेको थियो।
प्रहरीको विवरणअनुसार प्रहरी टोलीलाई देखेपछि तस्करले मोटरसाइकल र बोरा घटनास्थलमै छाडेर फरार भएका थिए। पछि बोराहरू खोलेर जाँच गर्दा विभिन्न मोबाइलका सामान फेला परेको प्रहरीको दाबी थियो।
तर स्थानीयको दाबी भने यसभन्दा फरक छ। उनीहरूका अनुसार साउन १८ गते अपराह्न करिब साढे ३ बजे नै सामान र मोटरसाइकलसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ परेका व्यक्तिलाई प्रहरी कार्यालयमा लगिएको र पछि अर्का व्यक्तिसमेत त्यहाँ पुगेपछि नियन्त्रणमा लिइएको उनीहरूको भनाइ छ।
यही फरक विवरणले घटनालाई थप विवादित बनाएको हो। वास्तविक पक्राउको समय, स्थान र घटनाक्रमभन्दा फरक विवरण प्रहरीबाट सार्वजनिक गरिएको आरोप लागेपछि इलाका प्रहरी कार्यालय बोदेबरसाइनको भूमिकामाथि प्रश्न उठ्यो। घटनाको विवरणसम्बन्धी मुचुल्कासमेत फेरबदल गरिएको आरोप प्रहरीमाथि लागेको छ।
विवाद चर्किएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले डीएसपी हेमराज घिमिरेको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। प्रहरी स्रोतका अनुसार प्रारम्भिक छानबिनका क्रममा सई शर्माले माथिल्लो निकायमा घटनासम्बन्धी गलत जाहेरी पेस गरेको देखिएको छ। यद्यपि छानबिन समितिको अन्तिम निष्कर्ष सार्वजनिक भइसकेको छैन।
घटनामा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी रुपक खड्काको नामसमेत जोडिएको थियो। पक्राउ परेका व्यक्तिलाई कार्यालयबाटै छाडिएको र त्यसपछि घटनाको विवरण फरक ढंगले सार्वजनिक गरिएको विषयमा प्रहरी नेतृत्वको भूमिकामाथि समेत प्रश्न उठाइएको थियो।
यसैबीच घटनासम्बन्धी समाचार सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको थियो। छानबिनकै क्रममा इलाका प्रहरी कार्यालयका प्रमुख शर्मालाई जिल्ला तानिएपछि अब घटनामा उनको भूमिकामाथि थप अनुसन्धान हुने भएको छ। प्रहरी संगठनले छानबिनको निष्कर्षका आधारमा थप विभागीय वा कानुनी प्रक्रिया अघि बढाउनेछ।
घटनाले भने सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रणमा खटिएको प्रहरीको कारबाही, पक्राउपछि अपनाइने कानुनी प्रक्रिया र प्रहरीबाट सार्वजनिक गरिने घटनाविवरणको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ। विशेषगरी एउटै घटनाबारे स्थानीयको प्रत्यक्ष दाबी र प्रहरीको आधिकारिक विवरण नै फरक देखिएपछि छानबिनको निष्पक्षता र निष्कर्षप्रति चासो बढेको छ।

