३ वर्षीया छोरीको हत्या गरेको सौतेनी आमाद्वार स्वीकार, सौतासँगको विवादपछि हत्या गरेँ
राजविराज— सप्तरीको शम्भुनाथ नगरपालिका–३ ट्राफिक चोकमा ३ वर्षीया बालिका खुसी खातुनको मृत्यु प्रकरणमा पक्राउ परेकी उनकी सौतेनी आमाले हत्या आरोप स्वीकार गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी रुपक खड्काका अनुसार मुस्कान खातुनले सौता रुबिना खातुनसँगको विवादकै कारण बालिकाको हत्या गरी घरपछाडिको झाडीमा शव फालेको बयान दिएकी छिन्।
खड्काका अनुसार मुस्कान र रुबिनाबीच केही समयदेखि बोलचालसमेत बन्द रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यही पारिवारिक विवादको पृष्ठभूमिमा बालिकाको हत्या भएको हुनसक्ने देखिएपछि मुस्कानलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
‘नियन्त्रणमा रहेकी मुस्कानले बालिकाको हत्या गरेको स्वीकार गरिसकेकी छिन्,’ एसपी खड्काले भने, ‘सौता रुबिनासँग केही समयदेखि बोलचाल बन्द रहेछ। बालिकाको हत्या गरेर घर पछाडिको झाडीमा फालेको मुस्कानले बयान दिएकी छिन्।’
प्रहरीका अनुसार खुसी आइतबार बिहान करिब पौने १० बजेसम्म पूर्व–पश्चिम राजमार्ग छेउमा रहेको आफ्नै घरअगाडि खेलिरहेकी थिइन्। त्यसपछि उनी एकाएक सम्पर्कविहीन भएकी थिइन्।
बालिका हराएपछि परिवारजनले तत्काल खोजी सुरु गरेको थियो। खोजीका क्रममा नभेटिएपछि इलाका प्रहरी कार्यालय रुपनीलाई खबर गरिएको थियो। प्रहरी, परिवारजन तथा स्थानीयले संयुक्त रूपमा खोजी गर्दा घरपछाडिको झाडीमा बालिका मृत अवस्थामा फेला परेकी थिइन्।
घटनापछि प्रहरीले प्रारम्भिक अनुसन्धान अघि बढाउँदै मुस्कानलाई नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा उनको बयान लिइएको र त्यस क्रममा हत्या स्वीकार गरेको एसपी खड्काले बताएका छन्।
बालिकाको शव पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ। पोस्टमार्टम तथा अन्य अनुसन्धानबाट मृत्युको थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।
प्रहरीले घटनाको अनुसन्धान अझै जारी रहेको जनाएको छ। एसपी खड्काका अनुसार पक्राउ परेकी मुस्कानलाई सोमबार अदालतमा उपस्थित गराई अनुसन्धानका लागि म्याद थप गर्ने तयारी गरिएको छ।
बालिकाका बुवा वैदेशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ। घटनाको प्रारम्भिक अनुसन्धानमा सौतेनी आमाले पारिवारिक विवादलाई कारणका रूपमा उल्लेख गरे पनि हत्या पछाडिका अन्य सम्भावित कारण तथा घटनाको सम्पूर्ण परिस्थितिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

