रसुवा बाढीपछि कोशी प्रदेशका १३० जना सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३८ जना
विराटनगर— रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपछि कोशी प्रदेशका विभिन्न जिल्लाका १३० जना नागरिक परिवारको सम्पर्कबाट बाहिर रहेको पाइएको छ। बिहीबार राति ८ बजेसम्म कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले संकलन गरेको विवरणअनुसार उनीहरूको अवस्था अझै अज्ञात छ।
सम्पर्कविहीनमध्ये सबैभन्दा ठूलो संख्या सोलुखुम्बुका ३८ जनाको रहेको छ। रोजगारी, व्यापार, पर्यटन, अन्य काम तथा धार्मिक भ्रमणका लागि रसुवा, नुवाकोट, धादिङलगायत बाढी प्रभावित क्षेत्रमा पुगेका उनीहरू बाढीपछि परिवारको सम्पर्कमा आउन नसकेका हुन्। आफन्तहरूले प्रहरी तथा प्रशासनमा हराइरहेको विवरण टिपाउने क्रम जारी रहेकाले सम्पर्कविहीनको संख्या अझ बढ्न सक्ने प्रहरीले जनाएको छ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाका अनुसार बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारका लागि स्थानीय प्रशासन, प्रहरी र अन्य सुरक्षा निकायबीच समन्वय भइरहेको छ। रसुवासहित बाढी प्रभावित क्षेत्रमा खोजी कार्यलाई प्राथमिकतामा राखिएको उनले बताए।
प्रहरीको पछिल्लो विवरणअनुसार सोलुखुम्बुका ३८ जना सम्पर्कविहीन छन्। तीमध्ये एक जना भने परिवारको सम्पर्कमा आइसकेका छन्। सुनसरीका १७ जना सम्पर्कविहीन रहेकामा दुई जना सम्पर्कमा फर्किएका छन्।
त्यस्तै, मोरङका १४, उदयपुरका १३, ओखलढुंगाका १२ र इलामका ९ जना सम्पर्कविहीन रहेको प्रहरीको विवरण छ। उदयपुरका सम्पर्कविहीनमध्ये तीन जना तथा ओखलढुंगाका एक जना परिवारको सम्पर्कमा आइसकेका छन्।
झापा र खोटाङका ८–८ जना, ताप्लेजुङका ६, संखुवासभाका ३ तथा धनकुटा र भोजपुरका १–१ जना पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा आफन्त सम्पर्कविहीन भएपछि उनीहरूका परिवारमा चिन्ता बढेको छ। प्रहरीले लामो समयदेखि परिवारको सम्पर्कमा नरहेका व्यक्तिको विवरण तत्काल सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा उपलब्ध गराउन आग्रह गरेको छ।
खोजी तथा उद्धार कार्य जारी रहेको र नयाँ विवरण प्राप्त हुँदै गएसँगै सम्पर्कविहीन नागरिकको तथ्यांक अद्यावधिक गरिने प्रहरीले जनाएको छ। यसले हाल सार्वजनिक भएको १३० जनाको संख्या अन्तिम नभएको संकेत गरेको छ।

