भूकम्प होइन, ५२ सय मिटर माथिको हिमनदी भत्किँदा आयो भोटेकोशीमा विनाशकारी बाढी

काठमाडौँ— रसुवामा बुधबार आएको विनाशकारी बाढी सामान्य मनसुनजन्य बाढी नभई करिब ५ हजार २०० मिटर उचाइमा रहेको हिमनदीको ठूलो भाग भत्किएर त्यससँगै बरफ, चट्टान, माटो र पानी करिब १ हजार २०० मिटर तल खसेपछि सिर्जित शक्तिशाली बहाव हुन सक्ने नयाँ वैज्ञानिक विश्लेषणले देखाएको छ।

नेपाल–चीन सीमा क्षेत्रमा ल्हेन्दे खोलाबाट सुरु भएको बहाव भोटेकोशी हुँदै त्रिशूली नदीमा मिसिँदा नदीको सतह केही मिनेटमै अस्वाभाविक रूपमा बढेको र त्यसले बस्ती, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य संरचनामा ठूलो क्षति पु¥याएको छ।

घटनापछि सुरुमा चीनतर्फ गएको भूकम्पले पहिरो निम्त्याएको, त्यसले नदी थुनेर अस्थायी बाँध बनाएको र बाँध फुटेपछि बाढी आएको हुन सक्ने अनुमान गरिएको थियो। तर अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) को थप विश्लेषणले प्रारम्भमा ४.४ म्याग्निच्युडको भूकम्पका रूपमा रिपोर्ट गरिएको भूकम्पीय संकेत नै हिमनदी भत्किएर ठूलो बहाव उत्पन्न हुँदा सिर्जित भएको हुन सक्ने देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

नजिकका भूकम्प मापन केन्द्रबाट प्राप्त तरंग, अन्य भूकम्पीय तथ्यांक र घटनाअघि तथा पछिका स्याटेलाइट तस्वीरको संयुक्त विश्लेषणपछि विज्ञहरू यस्तो निष्कर्षनजिक पुगेका हुन्। यसले घटनाको सुरुवात नदीको तल्लो तटीय क्षेत्रमा नभई हजारौँ मिटर माथिको हिमाली भूभागमा भएको हुन सक्ने संकेत गरेको छ।

रोयटर्सले स्याटेलाइट तस्वीर विश्लेषण गरेका विज्ञहरूलाई उद्धृत गर्दै करिब ५ हजार २०० मिटर उचाइमा रहेको हिमनदीको तल्लो भाग छुट्टिएर करिब १ हजार २०० मिटर तल रहेको उपत्यकामा खसेको जनाएको छ।

क्यानडाको क्यालगरी विश्वविद्यालयका पृथ्वी वैज्ञानिक ड्यान सुगरका अनुसार घटनाअघिको र घटनापछिको स्याटेलाइट तस्वीर तुलना गर्दा हिमनदी र वरपरको भूभागमा ठूलो परिवर्तन देखिएको छ। घटनाको अघिल्लो दिनसम्म हिउँले ढाकिएको देखिएका केही क्षेत्र भोलिपल्ट नांगो बरफ र लेदोले ढाकिएको अवस्थामा देखिएको उनको भनाइ छ।

स्याटेलाइट तस्वीरले घटनाअघि तीव्र रूपमा हिउँ पग्लिएको हुन सक्ने संकेत गरे पनि त्यसलाई यकिन गर्न सम्बन्धित क्षेत्रका मौसम केन्द्रबाट प्राप्त तापक्रम, वर्षा र अन्य मौसमसम्बन्धी तथ्यांक आवश्यक पर्ने सुगरले बताएका छन्।

सिक्किम विश्वविद्यालयका इन्जिनियरिङ भूगर्भविद् विक्रम गुप्ताले पनि हिमनदीको ठूलो हिस्सा भत्किँदा त्यसले चट्टान र माटोसमेत तलतिर तानेर ल्याएको हुन सक्ने बताएका छन्। ठूलो उचाइबाट बरफ, चट्टान र माटो उपत्यकामा खस्दा अत्यधिक ऊर्जा उत्पन्न हुने र त्यसले नदीमा एकैपटक ठूलो परिमाणमा गेग्रान मिसाएर अत्यन्त शक्तिशाली बहाव सिर्जना गर्न सक्ने उनको भनाइ छ।

यही कारण विज्ञहरूले घटनालाई केवल ‘बाढी’ भनेर बुझ्दा त्यसको वास्तविक प्रकृति नसमेटिने बताएका छन्। हिमनदीको ठूलो भाग खस्दा बरफसँगै चट्टान र माटो तल झरेको र त्यसपछि नदीमा मिसिएको पानी तथा ठूला ढुंगाले अत्यन्त घना र तीव्र बहाव बनाएको प्रारम्भिक विश्लेषण छ।

भोटेकोशी र त्रिशूली नदी प्रणालीमा पानीसँगै ठूलो परिमाणमा ढुंगा, माटो र बरफ मिसिएको बहाव तलतिर आएको थियो। यस्तो बहाव सामान्य पानीको बाढीभन्दा बढी विनाशकारी हुन्छ। यसको प्रहार पानीको मात्र नभई पानीसँगै बग्ने ठूला ढुंगा, चट्टान र गेग्रानको समेत हुने भएकाले नदी किनारका संरचना डुबानमा पर्नुअघि नै भत्किन वा बग्न सक्छन्।

बाढीपछि सार्वजनिक भएका दृश्यमा सडक, पुल र भवनहरू पानीले डुबाएको मात्र नभई ठूलो परिमाणमा माटो र ढुंगाले पुरिएको देखिन्छ। यसले बहावमा पानीसँगै ठोस पदार्थको मात्रा उल्लेख्य रहेको संकेत गर्छ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का अनुसार गल्छी क्षेत्रमा त्रिशूली नदीको पानीको सतह करिब ३० मिनेटमै ९ मिटरसम्म बढेको प्रारम्भिक विवरण छ। यति छोटो समयमा नदीको सतह अस्वाभाविक रूपमा बढ्दा नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा पुग्न पर्याप्त समय नपाउनु पनि क्षतिको एउटा प्रमुख कारण हुन सक्ने देखिन्छ।

तर हिमनदी भत्किनुको मूल कारण भने अहिलेसम्म स्पष्ट भइसकेको छैन। यसमा तीव्र हिउँ पग्लिनु, उच्च हिमाली क्षेत्रमा भइरहेको वातावरणीय परिवर्तन, भौगर्भिक गतिविधि वा अन्य प्राकृतिक कारणको भूमिका कति थियो भन्नेबारे थप अध्ययन आवश्यक छ।

विशेषगरी जलवायु परिवर्तन र हिमनदीको अस्थिरताबीचको सम्बन्धबारे वैज्ञानिकहरूले थप तथ्यांक आवश्यक रहेको बताएका छन्। अहिले उपलब्ध स्याटेलाइट तस्वीर र भूकम्पीय तथ्यांकले घटना कसरी विकसित भयो भन्नेबारे महत्वपूर्ण संकेत दिए पनि हिमनदी किन भत्कियो र जलवायु परिवर्तनको प्रत्यक्ष योगदान कति थियो भन्ने प्रश्नको अन्तिम उत्तर भने आइसकेको छैन।

घटनाको प्रकृतिबारे थप अध्ययनसँगै हिमाली क्षेत्रमा यस्ता जोखिमको पूर्वानुमान र पूर्वसूचना प्रणालीको प्रभावकारितामाथि पनि प्रश्न उठेको छ। हजारौँ मिटर माथि उत्पन्न हुने हिमनदीजन्य घटना केही समयमै नदीको तल्लो तटीय क्षेत्रमा विनाशकारी बहावका रूपमा आइपुग्न सक्ने भएकाले जोखिममा रहेका बस्ती तथा पूर्वाधारका लागि समयमै सूचना पु¥याउने प्रणाली महत्वपूर्ण हुने देखिएको छ।

रसुवाको ल्हेन्दे खोलाबाट सुरु भएको यो बहाव भोटेकोशी र त्रिशूली हुँदै तल्लो तटीय क्षेत्रमा फैलिँदा बजार, पुल, सडक, जलविद्युत् आयोजना र अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। तर घटनाको वैज्ञानिक कारण र क्षतिको पूर्ण तस्वीरबारे थप विवरण अध्ययनपछि मात्र स्पष्ट हुने अवस्था छ।

अहिलेसम्मको प्रारम्भिक वैज्ञानिक निष्कर्षले भने एउटा गम्भीर संकेत दिएको छ—हिमालयको माथिल्लो भूभागमा हुने एउटा आकस्मिक हिमनदीजन्य घटना केही समयमै सयौँ किलोमिटर तलको नदी प्रणालीमा विपत्तिमा परिणत हुन सक्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट