भोटेकोशीमा टरेको छैन खतराः नदी थुनिएर बनेको ताल फुट्न सक्ने विभागको चेतावनी

काठमाडौँ– भदौ १० गते विनाशकारी बाढी आएको भोटेकोसीको माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ठूलो ताल बढिरहेको र जुनसुकै बेला फुट्न सक्ने जोखिम देखिएपछि जल तथा मौसम विज्ञान विभागले तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु र उद्धारकर्मीलाई तत्काल विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

बाढी पूर्वानुमान महाशाखाले शुक्रबार जारी गरेको सूचनामा ताल फुटेमा भोटेकोसी नदीको तल्लो तटीय क्षेत्रमा पुनः बाढीको जोखिम हुन सक्ने भन्दै अर्को सूचना जारी नभएसम्म नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नबस्न अनुरोध गरेको हो।

महाशाखाका अनुसार हाल भोटेकोसी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तलै रहेको छ। तर भदौ १० गते बाढी सिर्जना भएको स्थानमै नदी थुनिएर बनेको तालको आकार बढिरहेको र त्यसको संरचना फुट्ने जोखिमसमेत देखिएकाले अहिलेको नदी बहावलाई मात्र आधार बनाएर जोखिम टरेको मान्न नसकिने विभागको चेतावनी छ।

चीन सरकारबाट प्राप्त सूचनासहित भूउपग्रहबाट प्राप्त तस्बिर र प्रारम्भिक विश्लेषणका आधारमा उक्त जोखिम पहिचान गरिएको महाशाखाले जनाएको छ। नदी थुनिएर बनेको तालमा पानी थपिँदै गएको र त्यसको निकास अवरुद्ध संरचना फुटेमा एक्कासि ठूलो परिमाणमा पानी तल्लो क्षेत्रमा आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै विभागले विशेष सतर्कता अपनाउन भनेको हो।

महाशाखाले भोटेकोसी नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकसँगै त्यस क्षेत्रमा आवतजावत गर्ने यात्रु तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्ता र सम्बन्धित सबैलाई नदी किनार तथा अन्य जोखिमयुक्त स्थानबाट सुरक्षित क्षेत्रमा रहन आग्रह गरेको छ।

विभागले अर्को सूचना जारी नगरेसम्म सावधानी कायम राख्न भनेको छ। विशेषगरी भोटेकोसी नदीको तल्लो तटीय क्षेत्रमा रहेका नागरिकले नदीको बहाव सामान्य देखिएको अवस्थामै जोखिम कम भएको ठान्न नहुने विभागको सूचनाबाट स्पष्ट हुन्छ।

भदौ १० गते भोटेकोसीमा आएको बाढीले ठूलो जनधनको क्षति गराइसकेको अवस्थामा सोही क्षेत्रमा नदी थुनिएर बनेको तालको जोखिम देखिनुले प्रभावित क्षेत्रमा विपद्को सम्भावना अझै कायम छ। अहिले तालको अवस्था, पानीको मात्रा र सम्भावित बहावबारे थप निगरानी तथा विश्लेषण भइरहेको छ।

चिनियाँ पक्षबाट प्राप्त सूचनालाई भूउपग्रह तस्बिर र प्रारम्भिक विश्लेषणसँग जोडेर जोखिम मूल्यांकन गरिएको भन्दै महाशाखाले सम्भावित ताल फुट्ने अवस्थालाई पूर्वानुमानको दायरामा राखेको छ। त्यसैले तत्कालका लागि तल्लो तटीय क्षेत्रमा मानवीय आवतजावत तथा बसोबासमा विशेष सावधानी अपनाउन भनिएको हो।

महाशाखाको चेतावनीमा भनिएको छ, ‘अर्को सूचना जारी नहुँदासम्म भोटेकोसी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार कार्यमा खटिनुहुने उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन अनुरोध गरिन्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट