रसुवा बाढीपछि कैलाश मानसरोवर यात्राकामा रहेका अतुल दाससहित ६४४ जना सम्पर्कविहीन

काठमाडौँ— रसुवामा भदौ १० गते आएको बाढीपछि कैलाश मानसरोवर यात्रामा रहेका ६४४ जना यात्रुको नामनामेसी सम्बन्धित निकायले संकलन गरे पनि उनीहरूको अवस्थाबारे यकिन जानकारी हुन सकेको छैन।

प्राप्त विवरणअनुसार सम्पर्कविहीन यात्रुमा १२७ नेपालीसहित विभिन्न देशका नागरिक छन्। तीमध्ये सबैभन्दा धेरै १७८ जना भारतीय नागरिक रहेको विवरण सार्वजनिक भएको छ। सम्पर्कविहीन यात्रुको सूचीमा जी इन्टरटेनमेन्ट इन्टरप्राइजेज लिमिटेडका पूर्वसीईओ अतुल दास र उनकी पत्नी पायल दास पनि छन्।

उनीहरू बालुवाटारस्थित ऋचा टुर्स एण्ड ट्राभल्समार्फत कैलाश मानसरोवर यात्रामा गएको बताइएको छ। इपिक टीभीका डिस्ट्रिब्युसन प्रमुख शिवु चाकोका अनुसार ऋचा टुर्स एण्ड ट्राभल्समार्फत कैलाश मानसरोवर गएका ६८ जनासँग सम्पर्क टुटेको छ। उनीहरूको अवस्थाबारे अहिलेसम्म कुनै यकिन सूचना प्राप्त भएको छैन।

ऋचा टुर्स एण्ड ट्राभल्सका समीर गाइजुका अनुसार उक्त समूहमा ६१ भारतीय र ७ जना एनआरआई थिए। यात्रु समूहसँगै ट्राभल्सका १८ जना कर्मचारीसमेत सम्पर्कविहीन रहेको उनले बताएका छन्।

सम्पर्कविहीन यात्रुहरू रसुवाको टिमुरेस्थित याङ्गिला होटल एण्ड लजमा बसेका थिए। सम्बन्धित पक्षका अनुसार उनीहरू बुधबार बिहान करिब ८ बजेसम्म टिमुरेबाट सम्पर्कमा थिए। त्यस क्रममा उनीहरूले आफूहरू अध्यागमन कार्यालयमा पासको प्रक्रिया पूरा गर्न लागेको जानकारी गराएका थिए। त्यसपछि भने यात्रुहरूसँग सम्पर्क हुन नसकेको बताइएको छ।

रसुवामा भोटेकोशी नदीमा आएको बाढीपछि सडक तथा सीमावर्ती क्षेत्रमा यातायात र आवागमन प्रभावित भएको छ। यही परिस्थितिका बीच कैलाश मानसरोवर यात्रामा रहेका नेपाली तथा विदेशी नागरिकको ठूलो समूह सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएपछि उनीहरूको अवस्थाबारे खोजी र जानकारी संकलनलाई प्राथमिकतामा राखिएको छ।

हालसम्म प्राप्त ६४४ जनाको नामनामेसी सम्पर्कविहीन यात्रुको विस्तृत विवरण संकलन गर्ने क्रममा प्राप्त भएको हो। उनीहरूमध्ये कोही सम्पर्कमा आए वा सुरक्षित स्थानमा पुगेको नयाँ विवरण प्राप्त भए तथ्यांक अद्यावधिक हुने सम्बन्धित पक्षले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट