रसुवागढी बाढीको डरलाग्दो वैज्ञानिक तथ्यः नदी उर्लिएको होइन, हिमाल खसेको थियो

काठमाडौँ— रसुवागढीमा भदौ १० गते आएको विनाशकारी बाढी सामान्य हिमपहिरो वा नदीमा पानीको बहाव बढेर आएको घटना नभई ठूलो परिमाणको हिउँ र बरफ करिब दुई हजार मिटर तल खस्दा उत्पन्न भएको विस्फोटसरहको ऊर्जाले निम्त्याएको प्रारम्भिक वैज्ञानिक अध्ययनले देखाएको छ।

त्रिभुवन विश्वविद्यालयका भूगर्भशास्त्री प्राध्यापक डा. रञ्जनकुमार दाहालका अनुसार लाङटाङ–लेरुङ उत्तरतर्फ भएको ग्लासियर कोल्याप्समा कम्तीमा साढे दुई करोड घनमिटर हिउँ–बरफ खसेको र त्यसको प्रभाव ५.२ रेक्टर स्केलको भूकम्पका रूपमा समेत मापन भएको थियो।

दाहालका अनुसार स्याटेलाइटबाट प्राप्त तथ्यांकको न्यूनतम आधारमा गरिएको गणनाले नै करिब साढे दुई करोड घनमिटर हिउँ तल खसेको देखाउँछ। करिब दुई हजार मिटर उचाइबाट त्यति ठूलो ‘मास’ जमिनमा बजारिँदा उत्पन्न ऊर्जा सामान्य हिमपहिरोको भन्दा निकै फरक रहेको उनको निष्कर्ष छ।

‘स्याटेलाइट डाटाहरू हेर्दा र त्यसका आधारमा निकै कमका दरले हिसाब निकाल्दा पनि साढे दुई करोड घनमिटर हिउँ तल खसेको देखिन्छ,’ दाहालले भने, ‘त्यो हिउँको ढिस्को करिब दुई हजार मिटर तल खस्दाको ऊर्जाले बम विस्फोटसरहको असर गरेको हुनुपर्छ। जुन ५ दशमलव २ रेक्टर स्केलको भूकम्पको रूपमा मापनसमेत भयो।’

दाहालसहित चीनको सांघाईस्थित त्वञ्जी विश्वविद्यालय, बेलायतका क्याम्ब्रिज विश्वविद्यालय र किङ्स कलेज अफ लण्डन तथा इटालीको पादुवा विश्वविद्यालयका प्राध्यापक तथा विज्ञहरूको टोलीले करिब एक वर्षदेखि हिमाली क्षेत्रको भौगोलिक तथा वातावरणीय गतिविधिबारे अध्ययन गर्दै आएको थियो। सोही अध्ययनका क्रममा रसुवागढीको घटनापछि टोलीले हिमपहिरो र त्यसबाट उत्पन्न बाढीको अध्ययनलाई प्राथमिकतामा राखेको हो।

चार करोड घनमिटरसम्म हिउँ खसेको अनुमान
स्याटेलाइट तस्वीरको प्रारम्भिक विश्लेषणअनुसार हिमपहिरो गएको क्षेत्रको लम्बाइ करिब १.३ किलोमिटर छ। त्यसले तलतर्फ करिब ५ सयदेखि ८ सय मिटरसम्मको क्षेत्र सोहोरेको देखिन्छ।

हिमपहिरोको मोटाइ भने अहिलेसम्म स्याटेलाइट तस्वीरबाट यकिन गर्न नसकिएको दाहाल बताउँछन्। प्रारम्भिक अनुमानमा ६० देखि ७० मिटर बाक्लो हिउँ–बरफको ढिस्को खसेको हुनसक्ने देखिएको छ।

त्यही आधारमा आयतन निकाल्दा करिब चार करोड घनमिटर हिउँ तथा बरफ खसेको हुनसक्ने अनुमान हुन्छ। तर न्यूनतम आँकलन गर्दा पनि साढे दुई करोड घनमिटरभन्दा कम नहुने दाहालको भनाइ छ। अन्य केही विज्ञले प्रारम्भिक रूपमा यो परिमाण १० करोड घनमिटरसम्म हुनसक्ने अनुमानसमेत गरेका छन्।

साढे दुई करोड घनमिटर हिउँ–बरफको परिमाण कति ठूलो हो भन्ने बुझाउन विज्ञहरूले त्यसलाई लन्डनको वेम्ब्ली स्टेडियममा करिब २२ पटक अट्ने वा इजिप्टका पिरामिडको आयतनभन्दा करिब १० गुणा ठूलो परिमाणका रूपमा तुलना गरेका छन्। थप तथ्यांक विश्लेषणपछि वास्तविक आयतन अझ बढी देखिन सक्ने अध्ययनरत वैज्ञानिकहरूको भनाइ छ।

‘हिमपहिरो मात्रै होइन, विस्फोटसरहको घटना’
दाहालका अनुसार घटनामा हिउँको ढिस्को तल खसेर मात्र बाढी आएको थिएन। विशाल हिउँ–बरफको समूह जमिनमा बजारिँदा वरपरका पानी, हिउँ, ढुंगा र गेगरसमेत तानेर तलतर्फ धकेलिएको थियो।

‘त्यहाँ हिउँको ढिस्को खसेको मात्रै होइन, शक्तिशाली बम पड्किएसरहका सबै असर भएका हुन्,’ दाहालले भने, ‘त्यसपछि उछिट्टिएको ग्यास, पानी र ढुंगाका टुक्राहरू तीव्र गतिमा रसुवागढीस्थित नेपाल–चीनको नाकामा रहेको दोभान क्षेत्रमा पुगेको थियो।’

चीनबाट सार्वजनिक भएको केरुङ भन्सार तथा अध्यागमन कार्यालय पछाडिको सीसीटीभी फुटेजमा समेत माथिबाट तीव्र गतिमा आएको बाढी र लेदो अगाडिको पहाडमा ठोक्किएको तथा तत्कालै संरचनामा क्षति पु¥याएको देखिन्छ।

१२ किलोमिटरमा १२० किलोमिटर प्रतिघण्टाको वेग
हिमपहिरो खसेको ल्हेन्दे खोलाको क्षेत्रदेखि रसुवागढीको दोभानसम्मको करिब १२ किलोमिटर दूरी पार गर्दा बाढीको गति १२० किलोमिटर प्रतिघण्टासम्म पुगेको हुनसक्ने केही विशेषज्ञहरूको प्रारम्भिक आकलन छ।

यसको प्रकृति सामान्य नदीमा पानीको मात्रा बढेर आउने बाढीभन्दा फरक थियो। प्रत्यक्षदर्शीहरूले बाढी आउने पूर्वसंकेतसमेत नपाउँदै क्षणभरमै ठूलो वेगमा पानी, लेदो, ढुंगा र बरफ आएको बताएका छन्। त्यसैले घटनालाई कतिपयले ‘आकाशबाट आएको सुनामी’ वा ‘हिमाली सुनामी’का रूपमा समेत वर्णन गरेका छन्।

दाहालका अनुसार हिउँ, बरफ, ढुंगा र गेगर मिसिएको यस्तो प्रवाहलाई रक–आइस एभेलाञ्जको स्वरूपमा हेर्न सकिन्छ। यसको गति र क्षतिको सम्भावना सामान्य पहिरोभन्दा निकै ठूलो हुने उनको भनाइ छ।

ल्हेन्दे खोलादेखि रसुवागढीसम्म मानव बस्ती तथा पूर्वाधार कम भएकाले घटनाको प्रारम्भिक चरणका दृश्य र तस्वीर सामाजिक सञ्जालमा खासै सार्वजनिक हुन सकेनन्। तर रसुवागढीदेखि तलतर्फका भिडियोमा नदी क्षेत्रमा अत्यन्त तीव्र वेगमा बाढी बगेको देखिन्छ।

दाहालका अनुसार रसुवागढी पुगेपछि प्रवाहको गति क्रमशः कम हुँदै गएको हुनसक्छ। जमिनमा बजारिएर विस्फोटसरहको प्रभाव उत्पन्न गराएको हिमपहिरो रसुवागढीसम्म तीव्र गतिमा पुगे पनि त्यसपछि बेत्रावती, त्रिशूली र देवीघाटतर्फको तुलनात्मक रूपमा समथर भूभागमा पुग्दा गति घटेको उनको आकलन छ।

हिमपहिरोपछि दुईवटा ‘ब्यारियर लेक’
घटनापछि सार्वजनिक स्याटेलाइट तस्वीरमा हिमपहिरो खसेको स्थानमा सानो हिमताल बनेको देखिएको छ। चिनियाँ विशेषज्ञहरूले त्यसलाई ‘ब्यारियर लेक–२’ नाम दिएका छन्।

यसअघि ल्हेन्दे खोलाको छेउमा लामो आकारको अर्को ताल अर्थात् ‘ब्यारियर लेक–१’ बनेको थियो। उक्त ताल भरिएपछि दुई दिनअघि भोटेकोशीमा अर्को बाढी आएको थियो। चिनियाँ पक्षले हाल उक्त ताल रित्तिसकेको जनाएको छ।

दाहालका अनुसार मूल हिमपहिरो खस्दा त्यसले वरपर रहेका पानी र हिउँका अन्य स्रोतसमेत तानेर तल ल्याएको हुनसक्छ। घटनाकै दिन केही घण्टापछि अर्को पहिरो गएको भिडियोसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

त्यसको दुई दिनपछि सोही क्षेत्रमा अर्को सानो पहिरो गएको अध्ययनमा देखिएको दाहालले बताए। अहिले अध्ययन टोलीका विज्ञहरूले घटनाअघि हिमपहाडमा रहेको हिउँ र बरफको ढिस्कोको आकार, त्यसको संरचना र खसेपछिको परिवर्तनलाई मोडलिङमार्फत अध्ययन गरिरहेका छन्।

दाहालका अनुसार थप दुईदेखि तीन सातामा घटनासम्बन्धी विस्तृत तथ्यांक सार्वजनिक गर्ने तयारी छ।

२५ वर्षको औसतभन्दा पछिल्ला दुई वर्ष तातो
अध्ययनले हिमपहिरोको तत्कालीन कारणसँगै लाङटाङ क्षेत्रमा भइरहेको दीर्घकालीन तापक्रम परिवर्तनतर्फ पनि संकेत गरेको छ।

दाहालका अनुसार लाङटाङ हिमाल आसपासको भू–सतह पछिल्लो समय असामान्य रूपमा तात्ने र फेरि चिसिने क्रमबाट गुज्रिरहेको देखिन्छ। उनले ईआरए–५ स्याटेलाइटबाट प्राप्त तथ्यांक विश्लेषण गर्दा जमिनको सतह निरन्तर तातिरहेको निष्कर्ष निकालेका छन्।

ईआरए–५ ले जमिनको सतहभन्दा करिब दुई मिटर माथिको तापक्रमसम्बन्धी तथ्यांक मोनिटर गर्छ। उक्त तथ्यांकको अध्ययन गर्दा पछिल्लो दुई वर्षको तापक्रम पछिल्ला २५ वर्षको औसतभन्दा बढी देखिएको दाहाल बताउँछन्।

उनका अनुसार लाङटाङ क्षेत्रमा तापक्रममा २० डिग्री सेल्सियससम्मको उतारचढाव देखिएको छ। कुनै समयमा माइनस १२ डिग्री सेल्सियस रहेको तापक्रम अर्को समयमा ८ डिग्री सेल्सियससम्म पुगेको तथ्यांक उनले प्रस्तुत गरेका छन्।

लाङटाङ क्षेत्रमा मौसम तथा वातावरणीय अवस्था निरन्तर निगरानी गर्ने पर्याप्त स्टेसन छैनन्। आसपासमा पूर्वाधारको अभाव र चिनियाँ पक्षबाट समेत प्रभावकारी पूर्वसूचना प्रणाली स्थापना नभएकाले स्याटेलाइट तथ्यांकबाट घटनाको जोखिम र वातावरणीय परिवर्तन बुझ्ने प्रयास भइरहेको दाहालले बताए।

‘डेटा हेर्दा त्यहाँको तापक्रममा निकै उतारचढाव भइरहेको देखिएको छ। हामीले त्यही कुरालाई त्यहाँको हिउँ र हिमनदीमा के असर पारेको छ भनेर हेर्दैछौं,’ उनले भने, ‘पटकपटकको तातोपन र चिसोपनले हिउँको सतह र हिमनदीको चलायमान अवस्थामा पारेका असरबारे हेर्न खोजेका हौं।’

अहिलेको अध्ययनले तत्कालीन घटनाको भौतिक संरचना मात्र नभई तापक्रमको दीर्घकालीन उतारचढाव, हिमनदीको अवस्था, हिमताल निर्माण तथा विस्फोट र भविष्यमा यस्ता घटनाको पूर्वानुमान गर्न सकिने आधारसमेत खोजिरहेको छ। प्रारम्भिक निष्कर्षहरूले भने रसुवागढीको बाढीलाई सामान्य नदीजन्य बाढीभन्दा फरक, विशाल हिम–बरफको ढिस्को खस्दा उत्पन्न भएको तीव्र भू–जलप्रवाहका रूपमा बुझ्नुपर्ने देखाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट