तीन बालिकालाई छ्याङ खुवाएर बलात्कार गरेको आरोप, तीन युवक पुर्पक्षका लागि थुनामा
काठमाडौँ— काभ्रेपलाञ्चोकमा तीन बालिकालाई जंगलमा लगेर छ्याङ खुवाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले तीन युवालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयले पाँचखाल–१ का २४ वर्षीय जीवन तामाङ, तेमाल–९ का १९ वर्षीय विजय दोङ र पाँचखाल–१ का २३ वर्षीय रविन तामाङविरुद्ध जबलात्कार उद्योगको अभियोग जिल्ला अदालतमा दर्ता गराएको हो। अदालतले तीनै जनालाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ।
प्रहरीका अनुसार घटना गत साउन १३ गते बनेपा बजारबाट चाइना टाउन हुँदै मगरगाउँ जाने बाटो आसपासको जंगल क्षेत्रमा भएको हो। १०, १२ र १३ वर्षका तीन बालिकालाई युवाहरूको समूहले त्यहाँ पु¥याएर दुई बोतल छ्याङ खुवाएपछि लठ्ठ अवस्थामा बलात्कारको प्रयास गरेको आरोप छ।
बालिकाहरूले प्रहरीसमक्ष दिएको बयानअनुसार उनीहरूलाई सुरुमा चाइना टाउनमा लगिएको थियो। त्यहाँ युवाहरू र बालिकाहरूले सँगै चाउचाउ साँधेर खाएका थिए। त्यसपछि सबै जना मगरगाउँमाथिको जंगलतर्फ गएका थिए। जंगल पुगेपछि समूहका दुई जना बजारतिर गएर दुई जम्बो बोतल छ्याङ ल्याएका थिए। त्यसपछि सबैले मिलेर छ्याङ सेवन गरेको बयानमा उल्लेख छ।
बालिकाहरूले आफूहरूलाई छ्याङ खुवाएपछि नशालु अवस्थामा पुगेको र त्यसपछि युवाहरूले क्रमशः बलात्कारको प्रयास गरेको प्रहरीसमक्ष बताएका छन्। बयानमा बालिकाहरू र युवाहरूले सँगै चुरोटसमेत सेवन गरेको उल्लेख छ।
प्रहरी अनुसन्धानका क्रममा घटनाको दिन समूहका एक युवाको जन्मदिनसमेत परेको खुलेको छ। जन्मदिन मनाउने र रमाइलो गर्ने योजनाअनुसार उनीहरू जंगल गएको बयान तथा अनुसन्धानबाट खुलेको जनाइएको छ।
घटनामा संलग्न भनिएका युवाहरूको समूहमा कुल छ जना रहेको बताइएको छ। तीमध्ये जीवन तामाङ, विजय दोङ र रविन तामाङलाई प्रहरीले बलात्कार उद्योगको कसुरमा पक्राउ गरेको हो।
घटनामा एक बालिकाले आफूलाई बलात्कारसमेत गरिएको प्रहरीसमक्ष बयान दिएको बताइएको छ। यद्यपि, अनुसन्धान तथा अदालतको प्रक्रियाबाट आरोप पुष्टि हुन बाँकी छ। जिल्ला सरकारी वकिलको कार्यालयले भदौ ४ गते तीनै जनाविरुद्ध अभियोगपत्र जिल्ला अदालतमा दर्ता गरेको थियो। अभियोगपछि अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।


