ओखलढुङ्गामा लुटपाटपछि ७७ वर्षिया वृद्धाको हत्या
राजविराज– ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा एक बृद्धाको लुटपाटपछि हत्या गरिएको छ। घरमा एक्लै वस्ने मोलुङ गाउँपालिका–३, प्राप्चाकी ७७ बर्षिया बालकुमारी सुनुवारको हत्या भएको हो।
सुनुवार सुत्ने खाटमाथि नै डोरीले झुण्ड्याईएको अबस्थामा शव फेला परेको स्थानीय भूमरी लामाले जानकारी दिए। लामाका अनुसार बुद्धाको गलामा र कानमा लगाईएको सुनका गरगहना लुटिएका छन्। मृतकको कानसहित शरीरका विभिन्न भागमा चोट देखिएको छ। वृद्धाको विहिबार राती नै हत्या गरिएको आशंका छ।
स्थानीयका अनुसार सुनुवार शुक्रबार विहान दाउरा चिर्ने कामदार बोलाएकी थिईन। तर घरको बाहिरबाट ताल्चा लगाएको देखेपछि कामदार तेसै फर्किएका थिए। शनिवार खोजी गर्नेक्रममा घरको ताल्चा फोडेर भित्र हेर्दा सुनुवार डोरीमा झुण्डिरहेको अबस्थामा फेला परेकी थिईन्।
स्रोतका अनुसार धारा जोड्नका लागि उनका नातीले विदेशबाट पैसा पठाएका थिए। सोही पैसा लुटपाटको उदेश्यले हत्या गरिएको हुन सक्ने आशंका छ। जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका डीएसपी दिपक केसीले शबको अबस्था र स्थानीयको जानकारी अनुसार घटना शंकास्पद देखिएको बताए। घट्नाको अनुशन्धान भईरहेको उनले जानकारी दिए।