जवर्जस्ती छोरीको विवाह गराई दिएको आरोपमा आमा पक्राउ, भाउजुले दिएकी थिईन उजुरी

नवलपरासी– पूर्वी नवलपरासीको कावासोतीमा छोरीको विवाह गराई दिएको आरोपमा एक आमा पक्राउ परेकी छिन्। ४० वर्षको पुरुषसँग १६ वर्षकी छोरीको जवर्जस्ती विवाह गराइदिएको आरोपमा आमासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो।

छोरीलाई दबाब दिएर विवाह गराउने आमा, दुई जना सानीमा र एक जना सानोबुबासहित विवाह गर्ने पुरुषलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। यो विवाहका विरुद्ध बालिकाकी भाउजुले जिल्ला प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएकी थिईन।

२९ मंसिरमा सानीमाको घर लगेर १६ वर्षकी छोरीलाई ‘विवाह नगर्ने भए झुण्डिएर मर्छु’ भन्दै आमाले बाध्य पारेको जनाईएको छ। त्यसपछि बालिका विवाहको लागि राजी भएकी थिइन्।

कावासोतीमै रहेको सानीमाको घरबाट छोरीको विवाह गराइ आमा घर फर्किएकी थिइन्। सानीमाको घर गएकी नन्द घर नफर्किएपछि सोधी खोजी गर्दा ४० वर्षको पुरुषसँग विवाह गरिदिएको थाहा पाएपछि भाउजूले प्रहरीमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय नवलपुर इन्स्पेक्टर साजनकुमार शर्माकाले बताए।

सोही जाहेरीका आधारमा प्रहरीले मङ्गलवार आमासहित बालिका विवाहमा संलग्न पाँचै जनालाई पक्राउ गरेको हो। बालिकालाई भाउजूको संरक्षणमा पठाइएको प्रहरीले जानकारी दिएको छ । १६ वर्षकी बालिका ७ कक्षा पढेर छोडेकी थिइन्।

१२ वर्षअघि नै उनको बाबुको मृत्यु भएको थियो। उनका दुई दाजु वैदेशिक रोजगारीमा छन भने घरमा भाउजू र आमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट