आफ्नै सरकारलाई रमेश प्रसाईंको ऐनाः ‘महँगीले हामीजस्ताको ढाड सेकियो त’
काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले आफ्नै दल नेतृत्वको सरकारको कार्यकालमा दैनिक उपभोग्य वस्तुको मूल्य बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रसाईंले देश विपत्तिमा रहेका बेला बजारमा महँगी बढेको उल्लेख गर्दै प्याज, चिनी, चामल र तेललगायतका वस्तुको मूल्यवृद्धिले आफूजस्ता सामान्य उपभोक्तासमेत प्रभावित भएको बताएका हुन्।
सरकारको कार्यकालमै महँगी बढेको विषयलाई संसदमा उठाउँदै प्रसाईंले बजारको अवस्थालाई ‘उद्दण्ड’ भएको टिप्पणी गरे। उनले विपत्तिको समयमा नागरिक राहतको अपेक्षामा रहेका बेला बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढेको बताए।
‘एकातिर देश विपत्तिले छटपटाइरहेको बेला अर्कोतिर बजार उद्दण्ड भयो र मेरै सरकारको पालामा महँगीले अग्रगामी छलाङ लगायो,’ उनले भने, ‘प्याज, चिनी, चामल, तेल हरेक चिजको भाउ बढ्यो।’
महँगीको असर सबै उपभोक्तामाथि समान नभएको उनको भनाइ थियो। आर्थिक रूपमा सहज अवस्थामा रहेकालाई मूल्यवृद्धिले कम असर गरे पनि सामान्य नागरिकको दैनिक खर्चमा त्यसको प्रत्यक्ष प्रभाव पर्ने प्रसाईंले बताए। ‘चिल्ला गाडी चढ्नेहरूलाई फरक परेन, तर हामीजस्ताको ढाड सेकियो त,’ उनले भने।
प्रतिनिधिसभामा आफ्नै सरकारको कार्यकालमा बजार मूल्यवृद्धि भएको स्वीकार गर्दै सांसद प्रसाईंले उपभोक्ताको दैनिक जीवनसँग जोडिएको महँगीको विषय संसदमा उठाएका हुन्। प्रसाई सामान्यतः आफ्नो सरकार र पार्टीको पक्षमा वाकपटुता प्रस्तुत गर्ने नेताका रुपमा चिनिन्छन्।
लोकप्रिय
ताजा अपडेट
सप्तरीमा सडकमै बच्चा जन्माएको प्रकरणमा चिकित्सकदेखि प्रशासनिक कर्मचारीसम्ममाथि कारबाही सिफारिस, रिपोर्ट मन्त्रालयमा

