घोपा क्याम्पमा भेटियो किशोरीको शव, अन्त हत्या गरेर शव फालेको आशंका

धरान– सुनसरीको धरानमा १८/१९ वर्षीया एक किशोरी शव फेला परेको छ। शवको अवस्था हेर्दा उनको हत्या भएको देखिएको छ।
धरान १८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलको बीचमा रहेको खोल्सामा किशोरीको शव फेला परेको हो। शव भेटिएको स्थान घोपा क्याम्पमा निर्माणाधीन भवन नजिकै छ।
धरान प्रहरीले दिएको जानकारी अनुसार खोल्सामा घोप्टो परेको अवस्थामा मृत भेटिएकी किशोरीको घाँटी रेटिएको छ। किशोरीको शव नजिकै खुकुरी पनि फेला परेको छ। अन्य कुनै संकेतहरु फेला परेका छैनन्।
किशोरीको अन्तै हत्या गरेर शव त्यहाँ फालिएको हुन सक्ने स्थानीयले आशंका गरेका छन्। मृतक किशोरीको पहिचान खुलिसकेको छैन। धरान प्रहरीले उनको हत्या नै भएको हुनसक्ने बताएको छ।
दिउँसो करिव साढे २ बजेतिर गाईबाख्रा चराउने गोठालाहरुले खोल्सामा शव देखेपछि प्रहरीलाई खबर गरिएका थिए। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।