भतिजीमाथि पटक–पटक बलात्कार, गर्भवती भएपछि जंगलमा लगेर हत्या

काठमाडौं– गत २८ चैतमा मृत अवस्थामा फेला परेकी वैतडीको पुरचौडी नगरपालिकाकी की १७ वर्षीय किशोरीलाई उनकै काकाले बलात्कारपछि हत्या गरेको खुलेको छ।

बलात्कारपछि हत्या गरेको आरोपमा ३० वर्षीय युवक पक्राउ परेका छन्। सोमबार पुरचौडीबाट पक्राउ परेका ती पुरुषविरुद्ध हाडनाता करणी र कर्तव्य ज्यान मुद्दा चलाएर अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ। उनले किशोरीमाथि पटक–पटक बलात्कार गरेको र भतिजी गर्भवती भएपछि हत्या गरेको खुलेको छ।

प्रहरीका अनुसार गत २६ चैतदेखि घरबाट हराएकी किशोरी तीन दिनपछि जंगलमा मृत फेला परेकी थिइन्। लगत्तै अनुसन्धान सुरु गरेको प्रहरीले युवतीको शव डडेल्धुरा अस्पतालमा लगेर परीक्षण गर्दा १८ हप्ताको गर्भ रहेको खुलेको थियो। किशोरीको मृत्यु भने टाउकोमा चोटका कारण भएको पाईएको थियो।

ती व्यक्तिले भतिजीलाई पटकपटक जबर्जस्ती करणी गरी गर्भवती बनाएको र गर्भवती भएपछि नियोजित रूपमा जंगलमा लगेर हत्या गरेको बैतडीका डीएसपी दीपक गिरीले बताए। किशोरीले एक वर्षअघि आफूखुसी स्थानीय एक युवकसँग बिहे गरेकी थिइन्। हाल उनका श्रीमान् रोजगारीका क्रममा ८ महिनादेखि भारतमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट