राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा अव सिन्दूर र पोते हटाउनु नपर्ने

काठमाण्डौँ– राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा अव सिन्दूर, पोते, टीका र राष्ट्रियता झल्कने पोसाक हटाउनु नपर्ने भएको छ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रमा आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पहिरन लगाएको फोटो राख्न कुनै बाधा नरहेको जनाएपछि सिन्दुरसमेत लगाउन नपाउने यसअघिको बाध्यता अव हटेको छ।
राष्ट्रिय परिचयपत्रमा विवरण दर्ताका लागि सेवाग्राहीको फोटो खिच्दा स्पष्ट मुखाकृति र दुबै कान देखिने गरी फोटो खिच्नुपर्ने, फोटो खिच्दा सिन्दूर, टीका, राष्ट्रियता झल्कने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा नपर्ने विभागले जनाएको छ।
राष्ट्रिय परिचयपत्र बनाउँदा सिन्दूर, पोते र टीका समेत हटाएर फोटो खिच्न लगाइएको भन्दै यसअघि आलोचना भएको थियो।
विभागले राष्ट्रिय परिचयपत्रको सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन भन्दै सम्बन्धित निकायलाई निर्देशनसमेत जारी गरेको छ। निर्देशनमा राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता गर्दा व्यक्तिले पेस गरेको नागरिकताको प्रमाणपत्र बाहेकको अन्य कागजातहरू राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा स्क्यान गरी प्रविष्ट गर्ने प्रयोजनको लागि सम्भव भएसम्म सकल वा छायाँप्रतिमा सम्बन्धित व्यक्तिले सकलबमोजिम नकल ठीक छ भनी प्रमाणित गरेको आधारमा दर्ता प्रक्रिया अगाडि बढाइने जनाईएको छ।
व्यक्तिको नागरिकतामा केही विवरणहरू स्पष्ट नभएको खण्डमा सीआइएमएस नागरिकताको अभिलेखबाट समेत रुजु गरी विवरण दर्ताको व्यवस्था मिलाउने विभागले जनाएको छ।