धम्की दिएर बलात्कार तथा फकाएर महिलालाई बेच्न खोज्ने उदयपुरको बोक्सेका पारस पक्राउ

काठमाण्डौं– बलात्कार तथा मानव बेचबिखन ओसारपसार मुद्दामा फरार रहेका उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेका ३४ वर्षीय पारस (दीपककुमार बस्नेत) लाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार अनामनगरबाट बस्नेतलाई पक्राउ गरेको हो। उच्च अदालत विराटनगरले बस्नेतलाई १२ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकेको छ। ५ मंसिर २०८० को यो फैसलापछि फरार भएका बस्नेतलाई प्रक्राउ गरी ललितपुर जिल्ला अदालतमा पठाइएको सीआईबीले जनाएको छ।
बस्नेतविरुद्ध २१ मंसिर २०७६ मा एक युवतीलाई विवाह गर्न नमाने दुरुत्साहनामा फसाइदिने भन्दै धम्की दिएर डर देखाउँदै पटक–पटक बलात्कार गरेको आरोप लागेको थियो। उनले पछि ‘विवाह गरेर भारतमै बस्ने’ भन्दै लैजाँदै गरेको अवस्थामा १९ पुस ०७६ मा भारतीय सीमा क्षेत्रबाट युवतीको उद्धार गरिएको थियो।
प्रहरीका अनुसार बेचबिखन गर्ने उदेश्यले भारततर्फ लाँदै गर्दा मोरङको सीमानाकाबाट ती महिलाको उद्दार गरिएको थियो।