सार्वजनिक मञ्चबाट डीएसपीको परिवारै उडाई दिने धम्की दिएका हाङगामलाई कांग्रेसको मन्त्री उपहार

विराटनगर– एक वर्षअघि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका तत्कालीन डीएसपी राजन लिम्बू र उनको परिवारलाई उडाइदिने धम्की दिएका प्रदेश सांसद खगेनसिंह हाङगामलाई कांग्रेसले कोशी प्रदेशको मन्त्री बनाएको छ।

उनी उद्योग कृषि तथा सहकारीमन्त्री बनेका छन्। सभापति शेरबहादुर देउवानिकटका हाङगाम ताप्लेजुङ क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित सांसद हुन्। उनले २२ भदौ ०८० मा ताप्लेजुङका तत्कालीन डीएसपी लिम्बू र उनको परिवारलाई उडाई दिने धम्की दिएका थिए।

सार्वजनिक मञ्चमा उभिएर डीएसपी र उनको परिवार समेतलाई खोजेर ज्यान मार्ने धम्की दिएपछि उनको निकै आलोचना भएको थियो। त्यो घट्नामा कांग्रेसले हाङगामको बचाउ गरेको थियो। उनले दिएको अभिव्यक्ति गलत भए पनि वातावरण बिगार्ने काम प्रहरीबाटै भएको भन्दै कांग्रेसले प्रहरीको विपक्षमा उभिएको थियो।

प्रहरीले सादा पोसाकमा गएर व्यक्तिको घर तोडफोड गरेको, ढोका बाहिर निकालेको, कुटपिट गरेको र गुन्डागर्दी शैली अपनाएको आरोप कांग्रेसले लगाएको थियो। ताप्लेजुङको फुङलिङमा आयोजित मिनी मेलामा सांसद हाङ्गाम र डीएसपी लिम्बूबीच २१ भदौमा विवाद भएपछि सुरु भएको समस्याका कारण हाङगामले कोणसभा गरेरै डीएसपी र उनका परिवारलाई ज्यान मार्ने धम्की दिएका थिए।

यो प्रकरणमा प्रहरीले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका तत्कालीन एसपी ऋषिराम कँडेलको नेतृत्वमा छानबिन समिति बनाएको थियो। घटनाको छानबिन भए पनि मिलापत्र गराइएको थियो।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार हाङगामलाई उद्योग, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट