४४ वर्षको उमेरमा हत्या गरेर भागेका रामबाबु ६५ वर्षको हुँदा पक्राउ, कहाँ लुके २१ वर्ष ?

जनकपुर — धनुषामा ४४ वर्षको भर्भराउँदो उमेरमा अपराध गरेर सर्वस्वसहित जन्मकैदको सजाय भएका ब्यक्ति ६५ वर्षको उमेर हुँदा पक्राउ परेका छन्।
०४३ सालमा स्थानीय जनक यादवको हत्या गरेर भागेका सबैला नगरपालिका–२ मुसहरी टोलका रामबाबु यादवलाई प्रहरीले पक्राउ गरेको हो। अपराध गरेर भागेको २१ वर्षपछि उनलाई मंगलबार भारतीय सीमाना जटही नाकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, धनुषाका डीएसपी वरुणबहादुर सिंहका अनुसार उनले लठ्ठीले हानेर जनकको हत्या गरेको पुष्टि भएको थियो। दुवैबीच विवाद बढेपछि रामबाबुले जनकमाथि लठ्ठी प्रहार गरेका थिए। त्यसपछि उनी फरार भए।
त्यसैक्रममा १६ साउन ०६० मा जिल्ला अदालत धनुषाले रामबाबुको कसुर प्रमाणित गर्दै सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो। त्यसयता पनि उनी फरार नै थियो। मंगलबार भने रामबाबुलाई भारतको सीमानजिक लग्मा–जटही नाकाबाट पक्राउ गरिएको डीएसपी सिंहले जानकारी दिए। २१ वर्षसम्म उनी कहाँ लुकेर बसे भन्ने खुलिसकेको छैन।
उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत धनुषामा पठाइएको प्रहरीले जनाएको छ।