हराएको फाइलले खोल्यो सिंहदरबारको रहस्य, पूर्वमुख्यसचिव अर्यालको हस्ताक्षरमै भेटियो अवैध धन्दाको बाटो !

काठमाडौँ– मलेसिया रोजगारीमा जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा उठाइएको रकम विदेश पठाउने निर्णय कसले र कुन आधारमा गर्‍यो भन्ने प्रश्नको जवाफ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट हराएको भनिएको फाइलले दिएको छ। लामो समयदेखि नभेटिएको सक्कल फाइल फेला परेपछि त्यसमा रहेका टिप्पणी, आदेश र हस्ताक्षरले श्रमिकको रकम मलेसिया पठाउने प्रक्रियामा तत्कालीन श्रमसचिव तथा पूर्वमुख्यसचिव एकनारायण अर्यालको भूमिका अनुसन्धानको केन्द्रमा ल्याएको छ।

फाइलमा रहेका कागजातअनुसार २०७९ भदौ १९ मा तत्कालीन श्रमसचिव अर्यालले सचिवस्तरबाटै रकम मलेसिया पठाउन विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउने निर्णय गरेका थिए। तर त्यसैका आधारमा नेपाल राष्ट्र बैंकलाई पठाइएको पत्रमा भने ‘मन्त्रीस्तरीय निर्णय’ उल्लेख गरिएको थियो। उपलब्ध फाइलमा उक्त निर्णय तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवरसम्म पुगेको अभिलेख देखिँदैन।

अझ गम्भीर पक्ष के छ भने सचिवले निर्णय गरिसकेको चार दिनपछि मात्रै कानुन महाशाखाकी उपसचिव निर्मला गुरुङले फाइलमा हस्ताक्षर गरेकी थिइन्। सामान्य प्रशासनिक प्रक्रियामा कानुनी राय लिएर निर्णयार्थ फाइल पेस हुनुपर्नेमा यस प्रकरणमा निर्णयपछि कानुनी राय लिइएको देखिएको अनुसन्धानमा संलग्न अधिकारीहरूको दाबी छ।

यही फाइलका आधारमा श्रमिकबाट उठाइएको रकम पटक–पटक मलेसिया पठाइएको अनुसन्धानबाट खुलेको छ। एउटै निर्णयलाई आधार बनाएर फरक–फरक समयमा रकम पठाइएको र त्यसका लागि श्रमिकको संख्या तथा रकमको विवरणसमेत पुनः निर्णय नगरी पुरानै निर्णय प्रयोग गरिएको पाइएको सीआईबीको भनाइ छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमुख्यसचिव अर्याललाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। उनीसँगै पूर्वमन्त्रीहरू रामेश्वर राय यादव र शेरबहादुर कुँवर तथा सरकारी अधिकारीहरू विनोद केसी, राजीव पोखरेल र निर्मला गुरुङसमेत यस प्रकरणको अनुसन्धानमा तानिएका छन्। अर्याललाई ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न अदालतबाट थप चार दिनको म्याद लिइएको छ।

सीआईबीको अनुसन्धानअनुसार मलेसिया जाने पाँच वर्षको अवधिमा ७ लाख ५० हजार ९८८ जना श्रमिकबाट करिब २ अर्ब ३७ करोड रुपैयाँ उठाइएको थियो। त्यसमध्ये १ अर्ब ६९ करोड रुपैयाँ मलेसिया पठाइएको विवरण भेटिएको छ। यो रकम रोजगारीका लागि मलेसिया गएर बायोमेडिकल प्रक्रिया पूरा गरेका श्रमिकको मात्रै हिसाब भएको र परीक्षणमा असफल भएर जान नपाएका वा पटक–पटक परीक्षण गरेका श्रमिकको रकमसमेत जोड्दा ठगीको आकार अझै बढ्न सक्ने अनुसन्धान अधिकारीहरूको भनाइ छ।

मलेसिया रोजगारीमा जाने श्रमिकलाई शून्य लागतमा पठाउने नेपाल–मलेसिया श्रम सम्झौता भए पनि त्यसविपरीत स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त रकम असुलिएको र त्यही रकम विदेश पठाउन सरकारी तहबाटै निर्णय गराइएको आरोप छ। यस प्रकरणमा मेडिकल व्यवसायी कैलाश खड्का, उनको कम्पनी म्याक्रोटेक र मलेसियाको बेस्टिनेट कम्पनीको भूमिका पनि अनुसन्धानको दायरामा छ।

हराएको फाइल र फरार सचिवको कडी
सीआईबीले गत असोज २९ मा मेडिकल व्यवसायी कैलाश खड्कासहित चार जनालाई पक्राउ गरेपछि अनुसन्धानको दायरा श्रम मन्त्रालयसम्म पुगेको थियो। श्रमिकबाट उठाइएको रकम मलेसिया पठाउन तत्कालीन मन्त्रीहरूको नाममा भएका निर्णयका कागजात माग्दा मन्त्रालयले सक्कल फाइल नभेटिएको जवाफ दिएको थियो।

फाइल नभेटिएपछि अनुसन्धानमा कठिनाइ भएको थियो। यही समयमा तत्कालीन श्रमसचिव अर्यालसमेत सम्पर्कबाहिर पुगे। सीआईबीका अनुसन्धान अधिकारीहरूका अनुसार मन्त्रालयसँग कागजात मागिएलगत्तै अर्याल फरार भएको देखिएको थियो। उनी पक्राउ पर्नुअघि नै काठमाडौँबाट भारतको कोलकाता पुगेका थिए।

अर्यालको खोजी र फाइलको खोजी एकै समयमा अघि बढिरहेको थियो। श्रम तथा रोजगारमन्त्री रामजी यादवले मंसिर २ गते उपसचिव उपेन्द्र पौडेलको नेतृत्वमा मन्त्रालयभित्रै फाइल खोजबिन गर्न कार्यदल गठन गरेका थिए। मन्त्रालयका विभिन्न शाखा र अभिलेखमा खोजी गरेपछि सक्कल फाइल फेला परेको थियो। त्यसपछि फाइल मन्त्री र सचिव हुँदै सीआईबीसम्म पुगेको हो।

फाइल भेटिएपछि अनुसन्धानको दिशा थप स्पष्ट भएको प्रहरी अधिकारीहरूको भनाइ छ। यसले रकम विदेश पठाउने निर्णयको प्रशासनिक प्रक्रिया, त्यसमा संलग्न अधिकारी र निर्णयको आधारबारे कागजी विवरण उपलब्ध गराएको छ।

अर्याल भने कोलकाताबाट पक्राउ परेपछि नेपाल ल्याइएका हुन्। प्रहरीका अनुसार उनलाई भारतबाट नेपाल ल्याएर अनुसन्धान अघि बढाइएको छ। पक्राउपछि सीआईबीले काठमाडौँको हेपाली हाइटस्थित उनको घरमा खानतलासी गरी केही कागजातसमेत नियन्त्रणमा लिएको छ।

सचिवको हस्ताक्षरबाट सुरु भएको रकम पठाउने प्रक्रिया
फाइलमा उल्लेख भएअनुसार रकम विदेश पठाउने प्रक्रिया २०७९ भदौ १६ गतेदेखि अघि बढेको थियो। त्यस दिन कानुन अधिकृत अमृता देवकोटाले ‘टिप्पणी र आदेश’ शीर्षकमा बायोमेडिकल सिस्टम चार्जबापत उठेको रकम मलेसियाको बेस्टिनेट कम्पनीलाई भुक्तानी गर्न विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकलाई सिफारिस गर्ने प्रस्ताव तयार गरेकी थिइन्।

टिप्पणीमा विदेशी मुद्रा अपचलन, कर तथा सम्पत्ति शुद्धीकरणको विषय उठ्न सक्ने सम्भावनासमेत उल्लेख थियो। तर ती विषयमा थप अनुसन्धान वा स्पष्ट कानुनी आधार खोज्नुको सट्टा सम्बन्धित संस्था म्याक्रोटेक स्वयं जिम्मेवार हुने सर्त राखेर राष्ट्र बैंकलाई सिफारिस गर्ने प्रस्ताव अघि बढाइएको थियो।

भदौ १९ गते सहसचिव राजीव पोखरेलले फाइल सचिव अर्यालसमक्ष पेस गरेका थिए। मलेसिया जाने श्रमिकको बायोमेडिकल सिस्टम चार्जबापतको रकमबाट प्रचलित नियमअनुसार कर कट्टा गरी बाँकी रकम भुक्तानी गर्न विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउन राष्ट्र बैंकलाई सिफारिस गर्ने निर्णय माग गरिएको थियो।

सोही दिन सचिव अर्यालले हस्ताक्षर गरी निर्णय गरेका थिए। तर त्यसपछि राष्ट्र बैंकलाई पठाइएको पत्रमा भने मन्त्रीस्तरीय निर्णयका आधारमा रकम पठाउन सिफारिस गरिएको उल्लेख गरिएको अनुसन्धान अधिकारीहरूको भनाइ छ।

यसमा अर्को प्रक्रियागत प्रश्न पनि उठेको छ। सचिवको निर्णय भएको चार दिनपछि अर्थात् भदौ २३ गते मात्रै कानुन उपसचिव निर्मला गुरुङले फाइलमा हस्ताक्षर गरेकी थिइन्। सामान्यतया कानुनी राय लिएर निर्णयका लागि फाइल पेस हुनुपर्नेमा निर्णय भइसकेपछि कानुनी राय लिइएको देखिनुले निर्णय प्रक्रियामाथि प्रश्न उठाएको छ।

सीआईबीका अनुसार अर्यालको यही निर्णयलाई आधार बनाएर पछि पनि पटक–पटक रकम मलेसिया पठाइएको थियो। प्रत्येक पटक श्रमिकको संख्या र रकम फरक हुने भएकाले नयाँ निर्णय आवश्यक पर्ने भए पनि पुरानै निर्णयलाई आधार बनाइएको अनुसन्धानबाट खुलेको बताइएको छ।

एक निर्णय, पटक–पटक रकम विदेश
अनुसन्धान अधिकारीहरूका अनुसार अर्यालले २०७९ भदौ १९ मा एकपटक निर्णय गरेपछि त्यसपछिका रकम पठाउने प्रक्रिया सहसचिव राजीव पोखरेलमार्फत अघि बढाइएको थियो। पोखरेलले दिएको बयान उद्धृत गर्दै अनुसन्धान अधिकारीहरूले अर्यालले पुरानै निर्णयका आधारमा रकम पठाउन निर्देशन दिएको र त्यसबापत आफूले १० प्रतिशत राख्न पाउने आश्वासन दिएको दाबी गरेका छन्।

अर्याल २०७८ मंसिर १५ देखि २०८० जेठ २९ सम्म श्रमसचिव थिए। यस अवधिमा श्रममन्त्रीका रूपमा कृष्णकुमार (किसन) श्रेष्ठ, शेरबहादुर कुँवर, डोलप्रसाद अर्याल र शरतसिंह भण्डारीले जिम्मेवारी सम्हालेका थिए। तीमध्ये किसन श्रेष्ठको कार्यकालबाहेक अन्य मन्त्रीहरूको कार्यकालमा रकम मलेसिया पठाइएको विवरण अनुसन्धानमा आएको छ।

अर्यालपछि श्रम मन्त्रालयबाट पोखरेल र गुरुङ पनि बाहिरिएका थिए। उनीहरू दुवैले सीआईबीसमक्ष अर्यालकै निर्देशनमा काम गरेको बयान दिएको अनुसन्धान अधिकारीहरूको दाबी छ।

पूर्वमन्त्रीहरूको भूमिकामा फरक–फरक प्रश्न
फाइल भेटिएपछि पूर्वमन्त्री शेरबहादुर कुँवरको भूमिकाबारे अनुसन्धानमा नयाँ प्रश्न उठेको छ। उनको कार्यकालमा मलेसिया रकम पठाउने निर्णय मन्त्रीले नभई तत्कालीन सचिव अर्यालले गरेको देखिएको भन्दै सीआईबीले कुँवरसँग बयान लिएर छाड्ने तयारी गरेको अनुसन्धान अधिकारीहरूले बताएका छन्। यद्यपि उनको भूमिकाबारे अन्तिम निष्कर्ष अनुसन्धानपछि मात्रै आउनेछ।

तर पूर्वमन्त्री रामेश्वर राय यादवको कार्यकालमा भएको निर्णयको प्रकृति फरक देखिएको छ। सीआईबीका अनुसार यादव श्रममन्त्री रहेका बेला रकम विदेश पठाउने निर्णय मन्त्रीस्तरबाटै भएको थियो। उनको कार्यकालमा चारपटक रकम मलेसिया पठाइएको विवरण भेटिएको छ।

२०७६ फागुन १५ मा ६ लाख ९३ हजार पाउन्ड, चैत १० मा २ लाख ४८ हजार पाउन्ड, २०७७ जेठ १९ मा २ लाख ४६ हजार पाउन्ड र साउन १२ मा २ लाख १४ हजार अमेरिकी डलर मलेसिया पठाइएको अनुसन्धानमा उल्लेख छ।

त्यतिबेला श्रमसचिव विनोद केसी थिए। कानुन शाखाको रायसहित सचिवले फाइल सदर गरेपछि मन्त्री यादवसमक्ष पुगेको र यादवको निर्णयपछि रकम पठाइएको सीआईबीको दाबी छ। त्यसैले यादवको कार्यकालमा भएका निर्णय र त्यसको कानुनी आधार पनि अनुसन्धानको महत्वपूर्ण पाटो बनेको छ।

कैलाश खड्का र मन्त्रालयभित्रको नेटवर्क
सीआईबीको अनुसन्धानले मेडिकल व्यवसायी कैलाश खड्का र तत्कालीन श्रमसचिव अर्यालबीच पुरानो सम्बन्ध रहेको दाबी गरेको छ। खड्काले मलेसिया रोजगारीमा जाने श्रमिकको बायोमेडिकल परीक्षण प्रणालीमा प्रभाव जमाउँदै मेडिकल संस्थाहरूलाई आफ्नो नेटवर्कमा ल्याएको र त्यसका लागि मन्त्रालयका निर्णय प्रक्रियामा पहुँच बनाएको अनुसन्धान अधिकारीहरूको भनाइ छ।

अर्याल श्रमसचिव बनेपछि सहसचिव राजीव पोखरेल र कानुन उपसचिव निर्मला गुरुङलाई मन्त्रालयमा ल्याइएको थियो। यी दुवै अधिकारी पछि मलेसिया रकम पठाउने फाइलमा संलग्न देखिएका छन्। उनीहरू खड्कासँग निकट सम्पर्कमा रहेको र व्यवसायीलाई अनुकूल हुने गरी काम गरेको सीआईबीको दाबी छ।

अनुसन्धान अधिकारीहरूका अनुसार पोखरेल र खड्का सँगै हाइकिङ जाने गरेका थिए। गुरुङले पनि सामाजिक सञ्जालमार्फत खड्कासँग निरन्तर सम्पर्क राख्ने गरेको र मलेसियाको मेडिकल प्रणालीसम्बन्धी समाचार तथा सूचनाहरू उनलाई पठाउने गरेको अनुसन्धानमा खुलेको बताइएको छ।

अर्यालले खड्काबाट नगद, गाडी, घर तथा विदेश भ्रमणको सुविधा लिएको आरोपसमेत सीआईबीको अनुसन्धानमा आएको छ। खड्काले अर्याललाई बूढानीलकण्ठमा घर किनिदिएको र त्यसपछि अर्यालले कोटेश्वरस्थित आफ्नो घर बेचेको विवरण अनुसन्धान अधिकारीहरूले दिएका छन्। त्यस्तै, अर्यालको मलेसिया भ्रमणको हवाई टिकट खड्काको कम्पनी म्याक्रोटेकको खाताबाट भुक्तानी भएको प्रमाण भेटिएको सीआईबीका अधिकारीहरूको दाबी छ।

शून्य लागतको सम्झौताविपरीत श्रमिकबाट रकम असुली
मलेसिया जाने नेपाली श्रमिकमाथि भएको आर्थिक शोषणको जरा नेपाल र मलेसियाबीच भएको श्रम सम्झौतासँग जोडिन्छ। २०७५ कात्तिक १२ गते भएको सम्झौताले नेपाली श्रमिकलाई शून्य लागतमा मलेसिया जाने व्यवस्था गरेको थियो। स्वास्थ्य परीक्षणसहित रोजगारी प्रक्रियामा लाग्ने खर्च रोजगारदाता कम्पनीले व्यहोर्ने र श्रमिक मलेसिया पुगेपछि पहिलो महिनाको तलबसँगै स्वास्थ्य परीक्षणको शुल्क फिर्ता गर्ने सहमति थियो।

तर व्यवहारमा श्रमिकबाटै मेडिकल शुल्कबाहेक थप बायोमेडिकल सिस्टम चार्ज असुल्न थालिएको थियो। मलेसियाको बायोमेडिकल प्रणाली सञ्चालन गर्ने जिम्मेवारी बेस्टिनेट कम्पनीले पाएको थियो। नेपालमा मेडिकल परीक्षण गर्ने संस्थाहरूको व्यवस्थापन र प्रणाली सञ्चालनमा कैलाश खड्काको प्रभाव बढ्दै गएको सीआईबीको अनुसन्धानले देखाएको छ।

खड्काले २०७५ फागुन ६ मा म्याक्रोटेक कम्पनी दर्ता गराएका थिए। त्यसपछि बेस्टिनेट र म्याक्रोटेकबीच सम्झौता भएको थियो। बेस्टिनेटले म्याक्रोटेकलाई प्रतिकामदार १०० रिङ्गिट उठाउन पत्र पठाएपछि नेपालमा मेडिकल परीक्षणका लागि जाने श्रमिकबाट थप बायोमेडिकल शुल्क असुल्न थालिएको अनुसन्धानमा उल्लेख छ। उठेको रकमको ९० प्रतिशत बेस्टिनेट र १० प्रतिशत म्याक्रोटेकलाई जाने व्यवस्था रहेको बताइएको छ।

२०७६ साउनदेखि रकम उठाउन थालिएको थियो। त्यसपछि खड्काले रकम मलेसिया पठाउन राष्ट्र बैंकमा निवेदन दिएका थिए। निवेदनमा नेपाल–मलेसिया श्रम सम्झौताको बुँदा र संयुक्त कार्यदलको अनुसूचीलाई आधार बनाइएको थियो। तर ती प्रावधानले श्रमिकबाट अतिरिक्त रकम उठाउने वा विदेश पठाउने अनुमति नदिने अनुसन्धान अधिकारीहरूको भनाइ छ।

यसरी श्रमिकबाट उठाइएको रकम विदेश पठाउने प्रक्रिया अघि बढाउन सरकारी निकायको निर्णय र राष्ट्र बैंकको सटही सुविधासमेत प्रयोग भएको अनुसन्धानको निष्कर्ष छ।

पहिले पनि हराएको थियो अनुगमन प्रतिवेदन
मन्त्रालयबाट फाइल हराएको यो पहिलो घटना नभएको अनुसन्धान अधिकारीहरू बताउँछन्। यसअघि पनि मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा खड्काको समूहले अनियमितता गरेको उजुरीपछि उपसचिव उपेन्द्र पौडेलको नेतृत्वमा ३६ वटा मेडिकल संस्थाको अनुगमन गरिएको थियो।

उक्त अनुगमनले ठगी, सङ्गठित अपराध, विदेशी मुद्रा अपचलन र सम्पत्ति शुद्धीकरणसम्बन्धी थप अनुसन्धान गर्न सिफारिस गरेको थियो। तर त्यसको प्रतिवेदन र सम्बन्धित फाइलसमेत मन्त्रालयबाट हराएको भन्दै सीआईबीले पटक–पटक माग गर्दा सक्कल प्रति प्राप्त गर्न नसकेको जनाएको थियो।

अहिले फेला परेको फाइलले रकम विदेश पठाउने निर्णय प्रक्रियाको कागजी आधार देखाए पनि फाइल हराउने काममा कसको भूमिका थियो भन्ने विषयमा अनुसन्धान जारी छ। सीआईबीले उपसचिव गुरुङसहित मन्त्रालयका अधिकारीहरूको भूमिका पनि त्यसैसँग जोडेर अनुसन्धान गरिरहेको छ।

मुख्यसचिव बनेपछि पनि श्रम मन्त्रालयमा प्रभावको आरोप
श्रमसचिवबाट सरुवा भएपछि पनि अर्यालले मन्त्रालयको कामकारबाहीमा चासो राख्ने गरेको स्रोतहरूको दाबी छ। मुख्यसचिव बनेपछि पनि मलेसिया रोजगारी र मेडिकल शुल्कसम्बन्धी निर्णयमा उनको प्रभाव रहेको आरोप अनुसन्धानको अर्को पाटो बनेको छ।

अर्यालकै जोडबलमा कृष्णहरि पुष्कर श्रमसचिव बनेको स्रोतहरूको दाबी छ। पुष्करकै कार्यकालमा २०८१ चैत ८ गते मलेसिया जाने श्रमिकको मेडिकल शुल्क ६ हजार ५०० रुपैयाँबाट बढाएर ९ हजार ५०० रुपैयाँ पु¥याउने निर्णय भएको थियो। उक्त शुल्क २०८२ मंसिर १० देखि लागू गरिएको थियो।

मेडिकल शुल्क बढाउँदा आवश्यकताभन्दा बढी परीक्षण थपिएको र त्यसका लागि चाहिने उपकरण एउटै कम्पनीबाट खरिद गर्न लगाइएको मेडिकल सञ्चालकहरूले बयान दिएको स्रोतको भनाइ छ। करिब सात लाख रुपैयाँ पर्ने उपकरणलाई २० लाख रुपैयाँसम्ममा खरिद गरिएको र त्यसबाट रकम अर्यालसम्म पुगेको गुनासोसमेत अनुसन्धानमा आएको बताइएको छ।

यस विषयमा मन्त्रालयले आन्तरिक छानबिन अघि बढाएको र आवश्यक परे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने तयारी गरेको स्रोतले जनाएको छ। अन्तरिम सरकारका श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले भने २०८२ पुस ४ गते मेडिकल शुल्क पुनः ६ हजार ५०० रुपैयाँमा झारेका थिए। शुल्क घटाउने निर्णयमा तत्कालीन सचिव पुष्कर सहजै तयार नभएको र मन्त्रीले दबाब दिएपछि मात्रै फाइल अघि बढेको भण्डारीले सार्वजनिक रूपमा बताएका थिए।

साढे दुई अर्बको कारोबारमा अब सम्पत्ति शुद्धीकरणको अनुसन्धान पनि
सीआईबीले अर्यालको घरमा खानतलासी गर्दा केही कागजात नियन्त्रणमा लिएको छ। अनुसन्धान अधिकारीहरूका अनुसार खड्काबाट घर, गाडी, नगद र विदेश भ्रमणको सुविधा लिएको आरोपको आर्थिक पाटो पनि अनुसन्धान गरिनेछ। अस्वाभाविक सम्पत्ति देखिएमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत अनुसन्धान अघि बढाउने तयारी रहेको अधिकारीहरूको भनाइ छ।

यो प्रकरणमा मुख्य प्रश्न केवल श्रमिकबाट कति रकम उठाइयो भन्नेमा सीमित छैन। श्रम सम्झौताले रोजगारदाताले व्यहोर्नुपर्ने भनेको खर्च श्रमिकबाट किन असुलियो? त्यसरी उठाइएको रकम विदेश पठाउन सरकारी निर्णय कसरी प्रयोग भयो? सचिवस्तरको निर्णयलाई मन्त्रीस्तरीय निर्णयका रूपमा किन प्रस्तुत गरियो? कानुनी राय निर्णयपछि मात्रै किन लिइयो? एउटै निर्णयबाट पटक–पटक रकम पठाउने आधार कसले बनायो? र मन्त्रालयबाट महत्वपूर्ण फाइल तथा अनुगमन प्रतिवेदन कसरी हराए?

यी प्रश्नको जवाफ खोज्ने क्रममा पूर्वमुख्यसचिव अर्यालसहित मन्त्रालयका अधिकारी र मेडिकल व्यवसायी अनुसन्धानको घेरामा छन्। फाइलले निर्णय प्रक्रियाको कागजी शृंखला देखाएको छ, तर त्यसमा संलग्न प्रत्येक व्यक्तिको आपराधिक जिम्मेवारी अदालतबाट प्रमाणित हुन बाँकी छ।

साढे सात लाखभन्दा बढी श्रमिकसँग जोडिएको यो प्रकरणले वैदेशिक रोजगारीको नाममा हुने ठगी मात्र होइन, श्रमिकको अधिकार संरक्षण गर्नुपर्ने सरकारी संयन्त्रभित्रै निर्णय प्रक्रिया कसरी दुरुपयोग हुन सक्छ भन्ने गम्भीर प्रश्न उठाएको छ। अब अनुसन्धानको चुनौती फाइलमा भेटिएका हस्ताक्षर र निर्णयको कानुनी परीक्षण गर्नु, रकमको अन्तिम गन्तव्य पत्ता लगाउनु र त्यसबाट लाभ लिने सबै पक्षको जिम्मेवारी स्थापित गर्नु हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट