भिजिट भिसामा मानव तस्करीः अध्यागमनका कर्मचारीको भटाभट सरुवा, गृहमन्त्रालय र मन्त्रीको सचिवालय राडरमा

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययागमन विभागका प्रमुख नै पक्राउ गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामार्फत भईरहेको मानव तस्करीको अनुसन्धान थालेपछि गृह मन्त्रालयले भटाभट कर्मचारीको सरुवा गरिरहेको छ।
अहिलेसम्म सरुवा हुने कर्मचारीको संख्या १५ पुगेको छ। अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराई ६ जेठमा गृहमन्त्रालय सरुवा भएका आएका थिए। नायब सुब्बा प्रेमप्रसाद पौडेललाई जिल्ला प्रशासन कार्यालय काठमाडौँ, नायब सुब्बा वीरभद्र जोशीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँ, नायब सुब्बा नरबहादुर थापालाई जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ।
कम्प्युटर अपरेटरहरू उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ, धनराज उपाध्याय र सहायक कम्प्युटर अपरेटर कमला श्रेष्ठलाई कारागार व्यवस्थापन विभाग वा अन्तर्गतका कार्यालयमा सरुवा गरिएको छ।
नायब सुब्बा सुबराज श्रेष्ठ जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, नायब सुब्बा दत्त लामा जिल्ला प्रशासन कार्यालय जाजरकोट, नायब सुब्बा गोविन्दप्रसाद अधिकारी जिल्ला प्रशासन कार्यालय गोरखा, नायब सुब्बा तेजराज गौतम जिल्ला प्रशासन कार्यालय बाग्लुङ, नायब सुब्बा सुवास केसी जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिम, नायब सुब्बा कुवेरप्रसाद दाहाल जिल्ला प्रशासन कार्यालय धनकुटा सरुवा भएका छन्।
उनीहरुले सेटिङमा भट्टराईलाई सघाएको आरोप छ। भट्टराईले ती नायब सुब्बा र कम्प्युटर अपरेटरहरूलाई छुट्टाछुट्टै सिफ्टमा खटाएका थिए। सेटिङको काम उनीहरु मार्फत नै हुनगे गरेको स्रोत बताउँछ। आयोगले दुई दिनअघि अध्यागमनमा छापा मारेर महत्वपूर्ण कागजात, कम्प्युटर, मोवाईल लगायतका डिभाईस नियन्त्रणमा लिएको थियो।
कार्यालयबाट अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराई, ‘द होलिडेज’ ट्राभलका सञ्चालक बालकृष्ण पौडेल, खगेन्द्र सुवेदीसहित चार जनालाई पक्राउ गरेको थियो। एक महिना अघिदेखि अण्डर कभर अप्रेसन चलाई रहेको आयोगले उनीहरुलाई दिनभर केरकार गरेर साँझ कागज गराई हाजिरी जमानीमा छोडिएको छ।
अन्तिम समयमा पैसासहित भट्टराईलाई पक्राउ गर्ने योजनाको सूचना चुहिएपछि गृहमन्त्री रमेश लेखकले मंगलबार उनको रातारात एकल सरुवा गरी मन्त्रालय तानेका थिए। तर, रमाना लिन नपाउँदै बुधबार अध्यागमन कार्यालयमै भट्टराई आयोगको नियन्त्रणमा परेका हुन।
तर, अख्तियारले छापा मारेको तीन दिनसम्म पनि गृह मन्त्रालयले ठोस कदम चालेको छैन। गृहमन्त्री रमेश लेखक र गृह सचिव गोकर्णमणि दुवाडी मधेस प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन जनकपुरमा छन्।
अध्यागमन विभागले भने अख्तियारले छापा मारेको र आरोप लागेको विषयमा आन्तरिक रूपमा छानबिन भईरहेको वताएको छ। औपचारिक छानबिन भने संवैधानिक आयोगले नै गरिरहेकाले आवश्यक नरहेको विभागको भनाइ छ।
अख्तियार निकट स्रोतका अनुसार भिजिट भिसा सेटिङको जालो मन्त्रालय सम्मै छ। प्रारम्भिक अनुसन्धानका क्रममा गृह मन्त्रालयका उच्च पदस्थ अधिकारी र गृहमन्त्रीको सचिवालयका कर्मचारीहरूसँग प्रमुख अध्यागमन अधिकृत भट्टराईको राम्रै उठबस देखिएको स्रोत बताउँछ। नियन्त्रणमा लिईएका कम्प्युटर, मोवाईल र कागजपत्रको विश्लेषणबाट अनुसन्धानको सुई अन्यत्र पनि पुग्न सक्ने वताईएको छ।