९ महिना नवित्दै किन राजीनामा दिने मुडमा पुगे बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुस ?

काठमाडौँ– १५ वर्ष एक छत्र सत्ता सम्हालेकी बंगलादेशी प्रधानमन्त्री शेख हसिना देश छोडेर भागेपछि अन्तरिम सरकारको प्रमुख बनेका मोहम्मद युनुसले पदबाट राजीनामा दिने तयारी गरेका छन्। सत्ता सम्हालेको ९ महिनामै उनले राजिनामा दिने विचार गरिरहेको खबर सार्वजनिक भएको छ।
बीबीसी बंगलाले उल्लेख गरे यो कुरा विद्यार्थी नेता तथा राष्ट्रिय नागरिक पार्टीका संयोजक नाहिद इस्लामले मोहम्मद युनुसलाई निवासमै पुगेर भेटवार्ता गरेपछि खुलासा भएको हो। इस्लामले देशको वर्तमान अवस्थाका कारण राजिनामाको चर्चा चलेको बताएका छन्।
‘हामीले सरको राजीनामाको खबर सुनिरहेका थियौँ। प्रमुख सल्लाहकारले देशको वर्तमान अवस्थामा काम गर्न नसक्ने चिन्ता व्यक्त गरेका छन’ इस्लामले भनेका छन, ‘उहाँले भन्नुभयो– राजनीतिक दलबाट कुनै आश्वासन पाइन्न भने म राजीनामा दिनबाट किन रोकिने? आन्दोलन जुन तरिकाले चलिरहेको छ वा मलाई जसरी बन्धक बनाइएको छ। म यसरी काम गर्न सक्दिनँ।’
यसअघि मोहम्मद युनुसले ढाकामा भएको सल्लाहकार परिषद्को बैठकमा देशको अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका थिए। बिहीबार नै बंगलादेश राष्ट्रवादी पार्टीले अन्तरिम सरकारका दुई सल्लाहकार महफुज आलम र आसिफ महमुद तथा राष्ट्रिय सुरक्षा सल्लाहकार खलिलुर रहमानको राजीनामा वा बर्खास्तको माग गरेको थियो।
बंगलादेशमा सरकारी जागिरमा आरक्षणविरुद्ध विद्यार्थीहरूले गरेको विशाल आन्दोलन चर्किएपछि प्रधानमन्त्री शेख हसिना देश छोडेर भागेकी थिईन। उनले १५ वर्षदेखिको सत्ता त्यागेर गत वर्ष अगस्ट ५ मा देशै छाडेर भाग्नु पर्यो।
अहिले उनी भारतको शरणमा छिन। उनी भागेको ३ दिनपछि बंगलादेशमा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो।