कैलालीका भन्सार प्रमुखलाई नगर प्रहरी प्रमुखले कार्यालयमै कुटे, कर्मचारी आन्दोलित, प्रहरीमा पुग्यो उजुरी

काठमाडौँ– कैलालीको धनगढीस्थित भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्तप्रसाद तिम्सिनामाथि धनगढी उपमहानगरपालिकाका नगर प्रहरी प्रमुले कुटपिट गरेका छन्। भन्सार प्रमुख कुटिएपछि कर्मचारीहरु आन्दोलनमा छन।
प्रमुख भन्सार अधिकृत तिम्सिनामाथि शनिबार राति भन्सार कार्यालयको परिसरमै कुटपिट भएको जनाईएको छ। कुटपिटमा संलग्न नगर प्रहरी प्रमुख (इन्स्पेक्टर) लक्ष्मणसिंह धामीसहितलाई कारबाहीको माग गर्दै कर्मचारीले भन्सार कार्यालयको सेवा ठप्प पारेका छन्।
आयात र निर्यात रोकिएको छ। जानकारी अनुसार धनगढी–अत्तरिया छ लेन सडकको ट्री गार्डेनमा लगाइएको जाली स्कारपियोले भत्काएको सूचनापछि राति १० बजे नगर प्रहरी प्रमुख धामीको टोली उक्त गाडीको खोजीका लागि भन्सारको बेरियरसम्म पुगेको थियो।
सो क्रममा भन्सार प्रमुख तिम्सिना र नगर प्रहरी प्रमुख धामीबीच विवाद भएको थियो। त्यसपछि भन्सार कार्यालयभित्रै प्रवेश गरेर प्रमुख भन्सार अधिकृत तिम्सिनामाथि धामीले कुटपिट गरेको जनाईएको छ।
धामीले तिम्सिनालाई कुटपिट गरेको भीडीओ सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। धामीले भने सामान्य धरपकड मात्रै भएको बताएका छन। तर, धामी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ।
भन्सार कार्यालयले आइतबार दिउँसो लिखित उजुरी दिँदै प्रमुख तिमिल्सिनामाथि कुटपिट गर्ने नगर प्रहरीहरूको पहिचान गरेर कानुन बमोजिम कारबाही गर्न माग गरेको छ। कैलालीका डीएसपी राजकुमार सिंहले सीसीटीभी फुटेजसहित कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै लिखित उजुरी परेको बताए।
तर, उजुरीमा कसैको पनि नाम उल्लेख छैन।