डिजिटल वालेटको दुरुपयोग गरी हुण्डी कारोबार गरेको आरोपमा सप्तरीका ५ सहित ३० जना पक्राउ

काठमाडौँ– सुन तस्करीको अनुशन्धानका क्रममा गत वर्ष नै डिजिटल वालेटको दुरुपयोग गरी हुन्डीको कारोबार भईरहेको पत्ता लगाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत महिना ३० जनालाई पक्राउ गरेर अनुशन्धान गरिरहेको छ।
हालसम्मको अनुशन्धानका क्रममा डिजिटल वालेट दुरुपयोग गरेर एउटै समूहले बैंकिङ प्रणालीमार्फत २ वर्षमै ३१ अर्ब रुपैयाँ बराबरको हुन्डीको कारोबार गरेको खुलेको छ। हुण्डीमा नवलपरासीदेखि झापासम्मका मनी ट्रान्सफर, ट्राभल तथा अन्य कम्पनीहरु संलग्न छन्।
तीनका सञ्चालहरुलाई सीआइबीले पक्राउ गरी नेपाल राष्ट्र बैंक ऐनका साथै सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनअनुसार अनुसन्धान गरिरहेको छ। उनीहरुले सुन तस्करी तथा क्रिप्टो कारोबारको अवैद्य पैसालाई बैंकिङ च्यानलमार्फत हुण्डीको भुक्तानीमा प्रयोग गरेको देखिएको सीआइबीका एसएसपी होविन्द्र बोगटी बताउँछन्।
जसका लागि डिजिटल वालेट कम्पनी सजिलो पे र पे–वेल नेपालको मिलेमतो देखिएको छ। वालेट मार्फत बैंकिङ च्यानल प्रयोग गरी हुण्डीको सञ्जाल बनाइएको बताउँदै उनले ती दुई कम्पनीको कारोबारको विस्तृत विवरण खोतलेर संलग्नहरुलाई पक्राउ गरिएको जानकारी दिए।
एसएसपी बोगटीका अनुसार ३० जनालाई पक्राउ गर्नु अघि प्रहरीले एउटा छुट्टै टोली बनाएर लगभग ५ महिना अनुसन्धान गरेको थियो। पे–वेल नेपालका अध्यक्ष भीमप्रसाद तिमिल्सिना, प्रमुख कार्यकारी प्रमुख प्रज्वल आचार्य तथा सजिलो पेका सञ्चालक सुनील जाकिबन्जा तथा कार्यकारी प्रमुख कश्यप मानन्धर भने गत वर्ष नै पक्राउ परेका हुन।
उनीहरुलाई जिल्ला अदालतले थुनामा पठाएको थियो। तर, उच्चबाट धरौटीमा छुटेका छन। उनीहरूमाथि अब सम्पत्ति शुद्धीकरणको कसुरमा पनि थप अनुसन्धान हुने सीडआईबीले जनाएको छ। त्यस वाहेक गत महिना एक चरणमा २१ र अर्को चरणमा हालै ९ जना पक्राउ परेका हुन।
ती मध्ये झापाका निकेश अग्रवाल, सुमन खनाल, अंकित अग्रवाल, अनुज मारू र कविस मारूले मात्रै द गिफ्टेरिया मार्फत ५ अर्बभन्दा बढिको हुण्डी कारोबार गरेको खुलेको छ भने डिएस ट्रेडर्स मार्फत सुनील राईले पनि हुण्डी कारोबार गरेको पुष्टि भएको छ।
मोरङका दीपेन्द्रप्रसाद साह र वीरेन्द्रप्रसाद साहले डिएस ट्रेडर्स एन्ड रेमिट्यान्स कम्पनीको आडमा २ अर्ब ८२ करोड १९ लाख र सप्तरीका तारालाल यादवले रिया ट्रेडर्समार्फत १ अर्ब ३९ करोड ५५ लाखको कारोवार गरेका छन्। सप्तरीकै रामबिलास साह, ममताकुमारी साह, सुशीलाकुमारी साहू र शम्भु मेहता पनि हुण्डी कारोबारको आरोपमा पक्राउ परेका छन्।
धनुषाको न्यु सन्देश इन्टरप्राइजेजका निरोजकुमार महतो, अलिता मनी ट्रान्सफरका अलितादेवी महतो र प्रकाश सिंह, श्री अञ्जल इन्टरप्राइजेजका अरुणकुमार साह र जय माँ मनी ट्रान्सफरका सञ्जीवकुमार महतो पनि हुण्डी कारोबारमा जोडिएपछि पक्राउ परेका छन्।
महोत्तरीका श्रवणकुमार साहले दीपज्योति ट्रेडर्स कम्पनीमार्फत १ अर्ब ५१ करोड २० लाख, सर्लाहीका हरेराम महतोले आनन्द ट्रेडर्समार्फत १ अर्ब २ करोड ६३ लाख र पर्साका प्रदीपकुमार साहले आर एन्ड ए सब–रेमिटमार्फत १ अर्ब १ करोडको कारोवार गरेका छन्। पर्साकै विकर्णजंग राणा र सलमा खातुन पनि सिआइबी हिरासतमा छन।
नवलपरासीका राजकुमार लोनिया, भीमकुमारी गुरुङ र गणपति पाण्डे तथा चितवनका गोविन्दप्रसाद आचार्य पनि सिआइबी हिरासतमा छन।
त्यस्तै, सुनको कारोबारमा जोडिएका न्युरोडका विकास श्रेष्ठ, खड्कबहादुर श्रेष्ठ र श्रीकान्त विभूतिलाई पनि सिआइबीले हालै पक्राउ गरेको छ। यो गिरोहमा आबद्ध केही व्यक्तिहरू खोजी सूचिमा छन्।
सीआईबीका अनुसार हुन्डीको पैसा सुरुमा डिजिटल वालेट कम्पनीले आफ्नो बैंक खातामा जम्मा गर्ने र डिजिटल वालेटको कारोबार मिलाउन भनेर त्यही पैसा हुण्डीको भुक्तानी लिनेको खातामा पठाउने गरिन्थ्यो। यसरी हुण्डीको भुक्तानी लिनेलाई पनि सिआइबीले अनुसन्धानको दायरामा ल्याएको छ।
एसएसपी बोगटीका अनुसार गत वर्ष सुन तस्करी घटनाको अनुसन्धानका क्रममा डिजिटल वालेटमार्फत भइरहेको हुण्डीको कारोबार पत्ता लागेको थियो। ती कम्पनीले एक खर्बबराबरको हुण्डीको कारोबार भएको र तीनका एजेन्टको बारेमा विस्तृत छानविन भईरहेको सिआइबी स्रोत बताउँछ।