पेस्तोल र खुकुरीसहित कार लिएर नेपाल छिरेका भारतीय नागरिक काकड्भिट्टामा पक्राउ

दमक — झापाको काँकडभिट्टाबाट प्रहरीले पेस्तोल, खुकुरीलगायतका हतियारसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले मेचीनगर नगरपालिका–६,काँकडभिट्टा बसपार्कबाट भारतको सिलिगुडी घर भएका ३५ वर्षीय जयप्रकाश कुमार पाठकलाई शुक्रबार साँझ पक्राउ गरेको हो।

झापा प्रहरीका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार साँझ करिव सवा ७ बजे डब्लुबी ७० जी ३२३२ नम्बरको कारमा सवार पाठकलाई पक्राउ गरिएको हो। कारलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा कारको सिटमुनी लुकाइएको अवस्थामा म्याग्जिनसहितको एयर पेस्तोल फेला परेको छ।

पेस्तोल खोल्दा त्यसमा ५ राउण्ड गोली रहेको पाइएको डीएसपी खड्काले जानकारी दिए। साथै, कारको सिटमुनीबाट दापसहित दुईवटा खुकुरी पनि बरामद गरिएको छ।

प्रहरीले पाठकसँगै रहेको मोबाइल फोन र अन्य कागजातहरू पनि नियन्त्रणमा लिएको छ। हाल उनी के प्रयोजनका लागि हतियारसहित नेपाल आएका हुन् भन्ने स्पष्ट नभएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट