मलेसियाबाट अध्यागमन उल्लंघन गर्ने १५ नेपालीलाई देश निकाला

राजधानी — मलेसियाले अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा एकैपटक १५ जना नेपाली नागरिकलाई देश निकाला गरेको छ। उनीहरूलाई गत साता मालिन्दो एयरलायन्सको विमानमार्फत काठमाडौं फर्काइएको हो।
निष्कासित हुनेमा सोनालाल सहनी, मेखबहादुर तामाङ, राधाकृष्ण चौधरी, भिखारी चौधरी, उमेशप्रसाद राजबंशी, भीमप्रसाद घिमिरे, ललित राना, दिनेश प्रजा, खुमन आले मगर, मधु विक, सजिद मियाँ, बचेलाल पटेल, अनिल कुमार साह, बुद्धबहादुर नेपाली र मरेन्द्र बानियाँ छन्।
स्रोतका अनुसार उनीहरू विभिन्न समयमा मलेसिया पुगेका भए पनि कानुनी प्रक्रिया नपुगेको, भिसा अवधी सकिएको वा कम्पनीको करार उल्लंघनजस्ता कारणले गैरकानुनी बसोबास गरिरहेका थिए।
यसअघि पनि मलेसियाले अध्यागमन उल्लंघनकै अभियोगमा ११ नेपालीलाई निष्कासन गरिसकेको थियो। वैदेशिक रोजगारीको सिलसिलामा लाखौं नेपाली मलेसियामा कार्यरत छन्। धेरैले कानुनी बाटो अपनाउने गरे पनि केही नेपालीहरू दलालको प्रभावमा परेर अवैध तरिकाले मलेसिया पुग्ने, वा काम परिवर्तनका क्रममा नियम उल्लंघन गर्ने गरेका छन्।
स्थानिय नेपाली समुदायका अनुसार अध्यागमन कार्यालयले यस्ता उल्लंघन गर्नेहरूलाई नियमित रूपमा निगरानीमा राख्ने गरेको छ। गैरकानुनी रूपमा बस्ने नेपालीहरू पछिल्लो समय मलेसियाली प्रशासनको ‘टार्गेट’ बनेको बताइएको छ।