वर्षमानको खुलासाः ओलीको निशानामा आरजु राणा, रवि, माधव र देउवा!

राजधानी– नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन (अनन्त) ले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सत्ता जोगाउन विपक्षी नेताहरूलाई मुद्दा लगाउने रणनीति अख्तियार गरेको आरोप लगाएका छन्।

शनिबार राजधानीमा आयोजित माओवादी केन्द्रका कार्यकर्ताहरूको पार्टी स्कुल कार्यक्रममा उनले यस्तो दाबी गर्दै शृंखलाबद्ध रूपमा ओलीको ‘राजनीतिक योजनाको’ खाका सार्वजनिक गरे। पुनले स्पष्ट रूपमा भने, ‘अब आरजुका आमा–छोराको पालो हो भनेर कांग्रेस नेतृत्वलाई तर्साइरहनुभएको छ। हेर्दै जानुहोस्, अलिकति पनि गठबन्धन चल्मलायो भने उहाँले कुनै न कुनै नाममा आरजु राणालाई मुद्दा लगाउने तयारी गर्नुभएको छ।’

तर उनको यो दाबीको स्रोत के हो भन्ने विषय भने अस्पष्ट छ। उनले प्रधानमन्त्री ओलीले विभिन्न दलका नेताहरूमाथि पहिले नै शंका उत्पन्न हुनेगरी कानुनी हतियार प्रयोग गर्न थालेको आरोप लगाए।

उनका अनुसार– रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा लगाएर थुनेर राष्ट्रिय स्वतन्त्र पार्टी फुटाउने नियतले ओली अघि बढेका थिए। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मुद्दा लगाएर पार्टीलाई एमालेमा गाभ्ने योजना थियो, जुन सबैले बुझिसकेको उनले बताए।

भिजिट भिसा प्रकरणमा रमेश लेखक र टेरामक्स खरिद प्रकरणमा मोहनबहादुर बस्नेतलाई तानेर कांग्रेस सभापति शेरबहादुर देउवामाथि दबाब सिर्जना गरिएको पुनले आरोप लगाए। उनले प्रधानमन्त्री ओलीले ‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’लाई पनि सीआईबी, सम्पत्ति शुद्धीकरण विभाग र अख्तियारमार्फत फसाउने प्रयास गरेको बताए।

पुनका अनुसार, जब ती निकायहरूबाट केही प्रमाण भेटिएन, तब ओलीले ‘शेरा दरबार’ हुँदै प्रचण्डका पुराना निजी सचिवमार्फत अनुसन्धान अगाडि बढाएका थिए। पुनका यस्ता दाबीहरूले सत्ता र प्रतिपक्षबीचको शक्ति संघर्ष अब कानुनी हतियारमार्फत हुने संकेत गर्छ।

ओली नेतृत्वको प्रतिपक्षी दबाब रणनीतिमा अब न्यायिक प्रक्रियाको प्रयोग बढ्ने हो कि भन्ने आशंका माओवादी केन्द्रले सार्वजनिक रूपमा व्यक्त गर्न थालेको छ। वर्षमान पुनले भनेजस्तै, यदि गठबन्धनमा केही हलचल भयो भने, आरजु राणा देउवामाथि कारबाही सुरु हुन सक्छ भन्ने आशंका अब खुला रूपमा चर्चामा आइसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *