सरकारलाई असफल देखाउने पुस्तक स्टन्टः लागूऔषध अभियुक्तसँग महावीरको झडपपछि सांसदको गरिमामाथि प्रश्न

पोखरा — केही दिनअघि सामाजिक सञ्जालमा भाइरल भएको एक भिडिओले प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महाविर पुन विवादको केन्द्रमा आएका छन्। पोखराको सडकमा आफ्नै जीवनकथामा आधारित पुस्तक बिक्री गरिरहेका बेला एक व्यक्तिसँग भएको विवादले झडपको रूप लिएको भिडिओ सार्वजनिक भएपछि घटना व्यापक चर्चा र आलोचनाको विषय बनेको हो।

भिडिओमा देखिएअनुसार पोखरामा पुस्तक बिक्री गरिरहेका पुनसँग एक व्यक्तिले प्रश्न उठाउँछन—‘सांसद भएर किताब बेच्ने हो ?’ भीड बढ्न थालेपछि पुनले ‘भिडभाड नगर’ भन्दै ती व्यक्तिलाई हट्न आग्रह गरेका सुनिन्छ। तर विवाद झनै चर्किँदै जाँदा पुनले ती व्यक्तिलाई धकेलेको दृश्य देखिन्छ। त्यसपछि ती व्यक्तिले पुनमाथि थुकेपछि पुनले पनि त्यही शैलीमा प्रतिक्रिया फर्काएको दृश्यले घटनालाई झनै विवादास्पद बनायो।

आसपासका केही व्यक्तिले हस्तक्षेप गरेर दुवैलाई छुट्याएपछि मात्र स्थिति सामान्य भएको थियो। प्रहरी अनुसन्धानबाट पुनसँग विवाद गर्ने व्यक्ति पोखरा महानगरपालिका–१७ बाँझापाटनका ४३ वर्षीय विकास गुरुङ रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरिबहादुर बस्नेतका अनुसार पुनको टोलीबाट आएको ठाडो उजुरीका आधारमा गुरुङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको थियो। तर औपचारिक जाहेरी नपरेपछि उनलाई रिहा गरिएको छ।

बस्नेतका अनुसार गुरुङ यसअघि पनि लागूऔषधसम्बन्धी मुद्दामा तीनपटक पक्राउ परिसकेका व्यक्ति हुन्। प्रहरीले उनको पृष्ठभूमि जाँच गर्दा लागूऔषध प्रयोग र कारोबारसम्बन्धी पुराना घटनामा संलग्नता देखिएको बताएको छ। यद्यपि पुनको पक्षबाट थप कानुनी प्रक्रिया अघि नबढाइएपछि उनीलाई अनुसन्धानपछि छोडिएको हो।

घटनापछि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया देखिएको छ। एक पक्षले पुनको समर्थन गर्दै सार्वजनिकस्थलमा उनलाई अपमान गर्ने व्यक्तिमाथि कारबाही हुनुपर्ने माग गरिरहेको छ। तर अर्को पक्षले भने पुनकै भूमिकामाथि प्रश्न उठाउँदै आलोचना गरिरहेको छ। आलोचकहरूको भनाइमा यसअघिका सरकारलाई असफल भएको देखाउन ‘किताब बेच्ने अभियान’ थालेका पुनले सांसद पदमा निर्वाचित भइसकेपछि पनि ठोस योजना र संस्थागत पहलभन्दा आफनो शैली छोडेनन्।

पुन पछिल्ला महिनाहरूमा आफ्नै जीवनकथामा आधारित पुस्तक बिक्री गर्दै देशका विभिन्न स्थानमा पुगिरहेका छन्। करिब ३०८ पृष्ठको उक्त पुस्तकको मूल्य ७५० रुपैयाँ तोकिएको छ। सर्वसाधारणबाट पुस्तक किनेर सहयोग गर्ने अभियान चलाइरहेका पुनले यसबाट संकलित रकम अनुसन्धान र प्रविधि विकासका काममा प्रयोग गर्ने बताएका छन्।

पुनका अनुसार पुस्तक बिक्रीबाट संकलित रकम राष्ट्रिय आविस्कार केन्द्र सञ्चालन तथा वीरगञ्जस्थित कृषि औजार कारखाना पुनः सञ्चालन गर्न उपयोग गरिनेछ। उक्त कारखाना लामो समयदेखि बन्द अवस्थामा रहेको थियो। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको कार्यकालमा कारखाना सञ्चालनको जिम्मा पुनलाई दिइएको थियो। त्यसपछि कारखानाका पुराना मेसिन उपकरण मर्मत गरेर कुटो, कोदालो लगायत कृषिकर्ममा प्रयोग हुने औजार उत्पादन सुरु गरिएको थियो।

तर आर्थिक अभावका कारण काम विस्तार गर्न कठिन भएपछि पुनले पुस्तक बिक्रीमार्फत रकम जुटाउने अभियान थालेका थिए। तर आलोचकहरू भन्छन्, राज्यको नीतिगत तहमा पुगिसकेका व्यक्तिले संस्थागत बजेट, नीति र कार्यक्रममार्फत समस्या समाधान गर्नुपर्नेमा पुनले अब पनि सडकमा पुस्तक बेच्दै हिँड्नुले राजनीतिक नेतृत्वको भूमिकामाथि नै प्रश्न उठाएको छ।

उनीहरूको प्रश्न छ–‘संसद सदस्य भइसकेपछि पनि किताव वेच्दै हिड्नुको उदेश्य के हो ?’ पोखराको घटनाले यही बहसलाई झनै चर्काएको छ। पुनले सांसद पदको गरिमा कायम गर्न नसक्दा लागूऔषध प्रयोगको पृष्ठभूमि भएका व्यक्तिसँग लफडा परेको उनीहरुको तर्क छ। यो झडपले पुनको अभियान र शैलीबारे समर्थक तथा आलोचक दुवै पक्षलाई नयाँ तर्क दिने काम गरेको छ। सांसद भएर पनि उही पुरानो अभियानमा सक्रिय देखिएका पुनको भूमिकाबारे राजनीतिक वृत्तमा पनि प्रश्न उठ्न थालेको छ—संसदभित्र नीति निर्माणमा सक्रिय हुने कि सडकमा पुस्तक बिक्री अभियानमै सीमित रहने?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट